जनकपुर । नेपाली ब्रोडगेज रेलको नयाँ इन्जिन शुक्रबार भारतबाट आएपछि जनकपुरमा ठूलो उत्साह छाएको छ । रेल आइरहेको जानकारी पाएलगत्तै शुक्रबार बिहानैदेखि हजारौं सर्वसाधारणको भीड लागेको थियो ।
नेपालमा फेरि रेल सञ्चालनमा आउने भएपछि आफुहरु धेरै उत्साहित भएको स्थानीयले बताए । पहिले कोइलाबाट चल्ने रेल देखेका उनीहशरुले आधुनिक रेल आएपछि सेल्फी खिच्न तछाडमछाड गरेका थिए ।
२०७१ सालमा बन्द भएको जनकपुर–जयनगर चल्ने रेल अब पुनः सञ्चालनको तयारी भएको हो । त्यसको लागि सरकारले २ सेट रेलको बोगी तथा ४ सेट इन्जिन जनकपुरधाम ल्याएको छ। बिहिबार भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो अन्दाजी २ बजे जनकपुर प्लेटफर्ममा आइपुगेको थियो ।
रेलको दुवै सेट जनकपुरधाम आई सकेपनि अहिले भने ट्रायलकै चरणमा रहेकाले उद्घाटनको कुनै कार्यक्रम भएन । रेल सेटको सुरक्षाका लागि पुनः भारतको जयनगर स्टेशनमा नै फर्किनेछ ।
दुवै रेलको सेटलाई अत्याधुनिक रुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै रेलको डिजाइन गरिएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । नयाँ रेलमा १ हजार ३ सय सिट क्षमता छ । रेल नियमित सञ्चालनका लागि अझै डेढ महिना कुर्नुपर्ने विभागले जनाएको छ ।