छ वर्षपछि नेपालमा रेल चल्दै, जनकपुरमा भव्य स्वागतको तयारी

विराटनगर । कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालन गर्न नेपालले किनेको रेलको सेट आज नेपाल आइपुग्ने भएको छ ।

करिब ६ वर्षदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः सञ्चालनका लागि सरकारले दुई सेट रेल खरिद गरेको हो ।

शुक्रबार एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुर आइपुग्ने नेपाल रेलवे विभागले जनाएको छ । बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।

यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। रेलको बोगीभित्रका केही तस्वीरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गर्नुभएको छ । रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ।

बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। रेल ८४ करोड ६५ लाखमा लागतमा खरिद गरिएको हो। नेपाली रेलको सेट भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको भने आपूर्तिकर्ता कम्पनी कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेड हो।

बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ । रेल नेपाल ल्याइएसँगै जयनगर–जनकपुर ३४ किलोमिटर खण्डमा रेलको परीक्षण सञ्चालन गरिनेछ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ ।

रेल लिकको क्षमता सैद्धान्तिक रुपमा प्रतिघण्टा सय किलोमिटर छ भने रेल गुड्ने गति प्रतिघण्टा ६० देखि ७० किलोमिटर छ। भारत सरकारको सहयोगमा जयनगरदेखि महोत्तरी जिल्लाको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ। त्यसमध्ये दोस्रो चरणमा कुर्थादेखि बिजलपुरा र तेस्रो चरणमा बर्दिवाससम्म पुर्‍याइने छ।

रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर पुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् ।भारतीय प्राविधिक कर्मचारीले नै रेल सञ्चालन गर्नेछन् । शुक्रबार रेल नेपाल आएर फेरि भारत नै फर्किनेछ । सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहनेछ ।

रेल सञ्चालनका लागि प्रशासनिक कर्मचारी भने नेपाली राखिनेछन् । कर्मचारी भर्नाका लागि विभिन्न २९ पदमा १ सय २९ जनाको विज्ञापन गरिएको छ ।

१९९४ सालमा नेपालको बिजलपुरासम्मको जङ्गलबाट काठ ढुवानीका लागि भारतले रामजानकी विवाह महोत्सवको दिनदेखि रेल सेवा सञ्चालन गरेको बताइन्छ। त्यसको २४ वर्षपछि २०१८ सालदेखि सो रेललाई यात्रुबहाक बनाईएको थियो । जुन ५३ वर्षसम्म चलेर २०७१ साल माघ महिनादेखि बन्द भएको थियो ।

शुक्रबार, ०२ असोज, २०७७, बिहानको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर