पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा जारी बन्दाबन्दी (लकडाउन) आइतबारदेखि हटाइएको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनले जनजीवनलाई असहज बनाएको निष्कर्ष निकाल्दै तत्कालको अवस्थामा लकडाउन हटाउने निर्णय गरेको हो ।
यद्यपि स्वास्थ्य सतर्कता भने अनिवार्य अपनाउन आग्रह समेत गरेको छ । समुदायस्तरमा केहीमात्रामा कोरोना देखिएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाउँदै आफुपनि बच्ने र अरुलाई पनि बचाउने योजना अनुरुप नगरवासीलाई आफ्नो दिनचर्या कायम गर्न आग्रह गरिएको छ ।
भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्न अनिवार्य गरिएको हो । यदि कसैले नियम पालना नगरे कारवाही समेत गर्ने बैठकले निर्णय गरेको छ । योसँगै आइतबारदेखि नगरपालिकाभरीका सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय खुला गर्ने निर्णय भएको नगर प्रमुख एवम् समन्वय समितिका संयोजक दिलीपकुमार राईले बताउनु भयो ।