विराटनगर । कोरोना संक्रमणबाट पीडितहरुलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्न नहुने भन्दै नेकपा महानगरकमिटि विराटनगरले संक्रमितको घरघरमा पुगेर विभिन्न सामाग्री वितरण गरिरहेको छ ।
कोरोना संक्रमित तथा बृद्धहरुसँग भेटघाट गर्ने, सुझाव माग्ने, ईम्युनिटी पावर बढाउने आयुर्वेदिक औषधि र च्यवनप्रास वितरण गदैृ नेकपाले केही दिनदेखि विराटनगरमा अभियान संचालन गरेको हो ।
शनिबार नेकपाले विराटनगरको वडा नम्बर ३ का संक्रमितको घरघर पुगेका थिए । भेटघाटका क्रममा संक्रमितहरुले जनप्रतिनिधिले आफूहरुप्रति कुनै पनि चासो र सरोकार नराखेको गुनासो गरेका छन् । शनिबारको अभियानमा नेकपा विराटनगरका अध्यक्ष सागर थापा, सचिव हेम कार्की (विशाल), महानगरकमिटी कार्यालय सदस्य नविन पौडेल, विराटनगर वडा नम्बर ३ का अध्यक्ष सुजर न्यौपाने र सचिव शिव दाहाललगायतको सहभागीता थियो ।
यसअघि नेकपाले विराटनगरका विभिन्न वडामा होम आइसोलेसनमा बसेका संक्रमितको घर सेनिटाइज गर्ने तथा कोरोना जितेर फर्किएका संक्रमितलाई सम्मान गर्ने अभियान संचालन गरेको थियो । उक्त अभियान जारी रहेको नेकपा विराटनगरले जनाएको छ ।