डा. राजेन्द्र उप्रेती
भदौको खपिनसक्नु गर्मिमा रसायनिक मलको लिनको लागि लाइन लागेका निरिह किसानहरुको फोटो हेर्नु र प्रदेशका विभिन्न जिल्लाबाट कतै मलको जोहो भैपोहाल्छ कि भनेर आशाका साथ गरिने फोनहरु सुन्नु मेरो दिनचर्या बनेको छ आजभोलि । किसानहरुको त्यो समस्यामा हाम्रा क्षमताले गर्नसकिने सबै कामहरु गर्दैगर्दा पनि उनीहरुलाई राहत पुर्याउन नसक्नुको पीडा म मात्र होइन हाम्रो प्रदेश मन्त्रालयका धेरै सदस्यहरुले दैनिक महसुस गरिरहेका छौं । केहि गर्न नसक्नुको पीडा व्यक्त गरेर पनि केहि हुनेवाला छैन । बरु थप निरिहता थप्ने कुरामात्र हुनेछ । यहि प्रसंगमा २०७६ साल चैत्र ६ गते हाम्रोमतमा प्रकाशित मेरो आफनै लेख (घनश्यामको कृषि क्रान्तिका पाँच सूत्रः सानो समीक्षा)मैले फेरी सरसर्ति पढीहेरें । त्यो बेला मैले यो कुरा लेख्दा केहि साथिहरुले ‘त अलिधेरै नकारात्मक भइस कि ?’ भनेर भनेका थिए र मैले तिमिहरुको यो प्रतिक्रिया सत्य हुनसकोस भनेर मन्त्रिज्युको रणनीतिप्रति आशाहरु बचायरै राखेको थिएँ । तर बिस्तारै ति आशाहरु कमजोर हुँदैछन ।
किन हाम्रा सपनाहरु निरन्तर तुहुन्छन् ?
संसारमा प्रचलित एउटा लोकोक्ति छ ‘नयाँ बोतलमा पुरानै रक्सि’ । अथवा नयाँ उदेश्यहरु, नयाँ कार्यक्रमहरु तर बाटो पुरानै, हिंड्ने तौरतरिका पुरानै अनि कसरी पुगिन्छ लक्षमा ? सयौं किलोमिटर टाढा बसेर आजभोलि मानिसहरु दैनिक काममा जान्छन् त्यसलाई सहज बनाएको छ उच्चगतिमा दौडिने सवारीका साधनहरुले । त्यो साधनहरु हुँदैन थिए भने आजको यो बास्तविकता ‘ण्ख्यालि पुलाव’ मात्र हुनेथियो । त्यसैले रुपान्तरणको सपना बोक्ने हो भने हामीले हाम्रो ट्रयाक बदल्ने, हिडाई फेर्ने पहिलो हिम्मत गर्नुपर्छ । धनश्यामको कृषि क्रान्तिका पाँच शुत्रहरुको पहिलो शुत्र (उत्पादन सामग्रीमा अनुदानः हामीले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउनेगरी बीउ र नश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरिनेछ । तिनलाई सर्वसुलभ बनाइनेछ ।) को मुख्य उत्पादन सामाग्रीको रुपमा रहेको मल आपूर्तिको अवस्था हामी सबैका सामुछ । कोभिड १९ लाई देखाएर यो अवस्थाको दोष त्यता सारिँदैछ । तर मलबाहेक सबै बस्तुहरु संसारभरीबाट आपूर्ति भैरहँदा यो मलमै चै कसरी ‘भाइरस’ लागेछ ? यो प्रश्नले अरुलाई कसरी असर गरेकोछ मलाई चैं रन्थन्यायको छ । कमसेकम ‘इमानदारीता त देखाउँ र कसरी र किन यो भयो भन्ने कुराको बास्तविकता जनतासमक्ष राखौं र यो कारणको निवारण सँधैका लागि गरौ’ । केहि मानिसलाई फाइदा पुर्याउनका लागि हाम्रा संयन्त्रहरु सधै सती नजाउन ।
प्राविधिक जानकारीहरु सर्वसुलभ बनाउने र उत्पादन सामाग्री र मानव श्रमको अधिकतम सदुपयोग गर्दै हाम्रा उत्पादनहरु स्वास्थकर, प्रतिस्पर्धि र नाफामुलक बनाउनु हाम्रा सामू रहेको अर्को मुख्य चुनौति हो । त्यसको लागि देशभित्रै उपलब्ध प्राविधिक जनशक्तिलाई सक्षम बनाउँदै उनीहरुको अधिकतम सदुपयोग गर्ने रणनीति सरकारको हुनुपर्ने हो । तर लोकसेवाबाट स्विकृत संगठनका पदहरुको पदपूर्ति हुनेकुरा होस वा अन्य दिगो विकल्पहरुको बारेमा सोच्ने कुरा होस् नेपाल सरकार पूर्णरुपमा चुकेको छ या यो कुराहरु सरकारको प्राथमिकतामा परिरहेका छैनन् । सरकारले पुरानो ट्रयाक र हिंडाई बदल्न चाहेको छनक कतै देखिएको छैन । ‘हामी नाम बदल्न कुरामा माहिर भयौ काम बदल्ने कुरामा सिन्को भाचेनौ ।’ अनि कसरी आउँछ रुपान्तरण ? सपना साकार बनाउने हो भने काम नलागेका ट्रयाकहरु, नियम कानुनहरु र हिंडाइहरु बदलौं ।
सपनाहरु साकार हुनसक्छन् हामीमा समर्पण भयो भने
‘समर्पण’ फगत एउटा शब्द होइन । यो भित्र निष्ठा, एकाग्रता, निरन्तरता र त्यागको अपूर्व मिश्रण रहेको हुन्छ । हामी हाम्रो सपना प्रति कति निष्ठावान छौं ? सपना प्राप्तिमा हाम्रो एकाग्रता कति छ ? हामीले ईच्छाएको सपनाभन्दा अरु कुरामा हामी कतिको चलायमानछौ ? हामी कतिको निरन्तरताका साथ हाम्रो सपना भेट्टाउन लागिपरेका छौ ? कि हाम्रा सपनाहरु हरबखत बदलिरहेका छन ? सामूहिक सपना भेट्टाउने यात्रामा हाम्रा निजी सपनाहरु बाधक बनेका छन् कि छैनन ? हामीले कतिको त्याग गरिरहेका छौ ? यिनै प्रश्नहरु भित्र हामीले हाम्रो समर्पणको स्तरलाई ‘कसी’ लगाउन सक्छौ । अनि हाम्रो समर्पणको स्तरका आधारमा हाम्रा सपनाको प्राप्तीलाई मूल्यांकन गर्नसक्छौ । एक पटक यो शुत्रको परीक्षण गरौं त ! यहाँ मैले कसैलाई दोष दिन खोजिरहेको छैन, यो म आफैंलगायत सबैको लागि साझा प्रश्न हो । किन हामीहरु निरन्तर फेल भैरहेका छौं र हाम्रा सपनाहरु किन तुहिरहेका छन् भन्ने जान्नका लागि यो मुल्यांकन जरुरी छ ।
अन्त्यमा
कोभिड–१९ ले संसारलाई तहसनहस पारेको बेला, व्यापार, सेवा व्यवसाय, उद्योग धारासायी भइरहेको बेला संसारभरी नै सबैभन्दा दिगो र भरपर्दो व्यवसाय कृषिनै देखिएको छ । हाम्रो जस्तो भौगोलिक विविधता भएको देशमा यो क्षेत्र झनै धेरै संभावना बोकेको क्षेत्र हो । यो बौरिन र दगुर्न सक्छ तर त्यसका लागि हामी सबैमा माथि उल्लेख गरिएको झैं समर्पण र ट्रयाक बदलेर हिंड्ने हिम्मत चै आउनुपर्यो । यो अवसर दिएको छ अहिलेको परिस्थितिले र संसारका धेरैजसो परिवर्तनहरु संकटहरुले नै ल्याएका छन् । संसारभरी तीब्र रुपमा विकास भइरहेका प्रविधिहरु र संचारका सुविधाहरुले हाम्रा सामू विभिन्न प्रकारका धेरै बाटाहरु उपलब्ध गराएका छन् । तर ‘घाटी हेरी हाड निल्नु’ भनेझै हाम्रो अवस्था सुहाउँदो बाटो छान्ने कुरा र त्यस अनुसारको हिंडाई मिलाउने कुरा हामीमा भरपर्छ । यो अवसरलाई उपयोग गरौं, हाम्रो समर्पणको स्तर बढाउ, विगतमा असफल भएका परम्परागत ट्रयाकहरु बदलौं र हाम्रा हिडाइका भाकाहरु बदल्दै रुपान्तरणको यात्रालाई अगाडि बढाउँ ।
समसामयीक लेख रहेको छ सर ।
लेखले बास्तवीकता र किसानको बिवसता देखाएको छ, बास्तवमा म बिगत 35 बर्ष देखि कृषि ब्यवसाय मा लागेर अहिले सम्म अनुभव गरेको कुरा पनि त्यहि हो, यि सबै बिकृतिहरु बाट पिडित हुदा हुदै पनि निरन्तर चिया खेतिमा लागेको थिए तर यो वास्तबिकता र सरकारी कार्य शैलि ले त्यो पेसा छाड्न बाध्य बनायो । अव आशाको कुनै किरण बाकि छैन ।
100% right ho.