विराटनगर । नेकपा विराटनगर ८ वडा समितिले कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
वडाका संक्रमितको घर–घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो ।
होम आईसोलेसनमा रहेकाहरुसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ । संक्रमितहरुको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकाहरुलाई तत्काल अस्पताल लैजान सहज हुने भएकोले यो अभियान चलाइएको हो ।
आज तेस्रो चरणको अभियान अन्तर्गत होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । अहिलेसम्म बलुवाही, विश्वकर्मा चोक, जिम्दार टोल, राजवंशी टोलका घरहरु समेत गरेर २ सय घरहरुमा निर्मलीकरण गरिएको छ ।
होम आईसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेकपा वडा कमिटी सह–ईन्चार्ज सरस्वती ओझाले बताउनुभयो । वडाकमिटी अध्यक्ष पोखरेल, सचिव ज्ञानबहादुर कार्की, सदस्यहरु भुवन राजवंशी, सिताराम राजवंशी, अशोक राजवंशी, राकेश राजवंशी, सन्तोष राजवंशी लगायतले होम आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिनुका साथै घर निर्मलीकरण अभियान चलाईरहेका छन् ।