विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोश्रो कार्यकालका लागि दोहोरिने भएका छन् ।
भदौ २९ कार्यकाल सकिन लागेकाले उनलाई दोहोर्याउनुपर्ने पक्षमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन उभिएकोले घिसिङले प्रधानमन्त्रीले नचाहेको अवस्थामा मात्र जिम्मेवारी नपाउने देखिएको छ ।
तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले उर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा प्राधिकरणमा नियुक्त हुनुभएका घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्न र घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामुलक संस्थानको रुपमा विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । घिसिङलाई अर्को कार्यकाल पनि विद्युत प्राधिकरणमा नियुक्त गर्नुपर्ने आवाज चर्को रुपमा जनस्तरबाट उठिरहेको बेला उर्जामन्त्री घिसिङकै पक्षमा उभिनुभएको हो ।
भदौ २९ अघि नै उर्जा मन्त्रालयका तर्फबाट उहाँलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने उर्जामन्त्री पुनले जानकारी दिनुभयो । घिसिङलाई दोहोर्याउने विषयमा उर्जामन्त्री पुनले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गर्नुभएको छ। घिसिङलाई दोहोर्याउन प्रचण्ड सकारात्मक भएपनि प्रधानमन्त्रीले अझै समय बाँकी रहेको भन्दै कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।
घिसिङले आफ्नो आफ्नो चार वर्षे कार्यकाल राम्रोसँग पूरा गरेको र उहाँलाई नै प्राधिकरणमा दोहोर्याउनुपर्ने सुझाब धेरैको आएकोले आफू पनि सकारात्मक रहेको मन्त्री पुनको भनाइ छ । उहाँलाई दोहोर्याउने बारेमा मन्त्रिपरिषदमा प्रस्ताव नगएको र अहिलेसम्म प्रधानमन्त्री वा कसै पनि नकारात्मक नरहेको आफूले पाएको मन्त्री पुनको भनाइ छ ।
काममा दत्तचित्त भएर खटिरहने घिसिङको बानीलाई हालका उर्जामन्त्री मन्त्रीले पनि सबैभन्दा सकारात्मक रुपमा लिनुभएको छ । घिसिङ आएपछि विद्युत चुहावट २५.७८ प्रतिशतबाट घटेर १५.१७ प्रतिशतमा सीमित हुँदा प्राधिकरणले राम्रो मुनाफा कमाउन थालेको छ । गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले ११ अर्ब नाफा कमाएको छ ।
घिसिङको कार्यशैलीलाई लिएर कतिपय विषयमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेको सार्वजनिक भईसकेको छ । प्रधानमन्त्रीको निकट रहेको दावी गर्ने कतिपयले घिसिङभन्दा अगाडिका विवादित कार्यकारी निर्देशक मुकेश काफ्लेको हवाला दिएर घिसिङको विरुद्ध अभिव्यक्ति दिइरहेकोले प्राधिकरणमा उनी दोहोरिने हुन कि हैनन् भन्ने आशंका छ ।
घिसिङ २०७३ भदौ २९ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त हुनुअघि मुुुलुुकमा १८ घण्टा लामो लोडसेडिङ रहेकोमा नियुक्त भएको २ महिनापछि नै काठमाडौंलाई लोडसेडिङमुक्त बनाएर सबैको प्रशंसा बटुले । डेडिकेडेट फिडरका नाममा उद्योगधन्दालाई विद्युत दिने तर आम उपभोक्तालाई अन्धकारमा राखेर कमिसनको खेल प्राधिकरणमा भइरहेकोमा घिसिङ र मन्त्री शर्माले त्यसलाई रोक लगाएपछि मुलुक उज्यालो बनेको थियो ।