आइसोलेशन निर्माण तथा सञ्चालनका लागि १६० लाख बजेट प्रदान

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रुपैयाँ रकम प्रदेश सरकारले उपलब्ध गराएको हो ।

स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही दिन अगाडि मात्र थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेशस्तरीय सिसिएमसी बैठकले निर्णय गरेको थियो ।

कोरोना संक्रमितहरु राख्ने अस्पतालका आइसोलेसन बेड अभाब भएर संक्रमितहरु घर, परिवार र समाजमा बस्न बाध्य हुँदा रमिते बनेको भन्दै आलोचना खेपिरहेको प्रदेश सरकारले आइसोलेसन सञ्चालनको लागि रकम उपलब्ध गराएको हो । प्रदेश सरकारले यसअघि विराटनगरको मारवाडी सेवा सदनमा ५० सहित ३५० बेडको आइसोलेशन थप गर्ने निर्णय गरेको थियो ।

त्यसयता मात्र विराटनगरमा एक सय बढि संक्रमित थपिएकोले विराटनगरमा आइसोलेशन अभाब भइसकेको छ । विराटनगरमा संक्रमितको संख्या लगातार बढिरहेपनि थप आइसोलेसन निर्माणको निर्णय हुन सकेको छैन ।

प्रदेश सरकारले विराटनगरस्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ । रंगेली नगरपालिका वडा नं ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

प्रदेश नं. १ का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ । कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ ।

त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि ५–५ लाख प्रदेश सरकारले निकासा गरेको छ ।

बिहिबार, २९ साउन, २०७७, दिउँसोको ०४:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर