कोरोनाको उपचार गर्ने डाक्टरमाथि नै कुटपिट

संक्रमित परिवारका कारण १० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विराटनगर । कोशी अस्पतालमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पतालका डाक्टरमाथि नै कुटपिट गरेका छन् ।

जन्डिसका कारण कलेजोमा समस्या बढेपछि दुखाईसहित अस्पतालमा आएका विराटनगरका बिरामीको आइसोलेसनमा उपचार भइरहेको बेला मृत्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन दिपक सिग्देलले जानकारी दिनुभएको छ । ‘उहाँलाई मैले पनि हेरेको हुँ , लिभरको बिरामी हुनुहुन्थ्यो पेटमा पानी जमेको थियो र दुखाई थियो,’ डा. सिग्देलले भन्नुभयो ‘उहाँमा कोरोनाको कुनै संकेत थिएन तर गम्भीरता हेर्दा हामीलाई शंका भयो र स्वाब संकलन गरेर बिहान परीक्षण गराउँदा पोजेटिभ आयो ।’

स्वाबको नतिजा आउनु अघिनै बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले हुलहुज्जत गरी उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए । उनीहरुले मृतकको शव लैजान जबरजस्ती गरेको र स्वाबको रिपोर्ट नआएसम्म लास दिन मिल्दैन भनेर अस्पतालले पर्खन आग्रह गर्दा उनीहरुले डाक्टरलाई नै कुटेका हुन् । ‘पीपीई लगाएर बिरामीको उपचारमा खटिएको डाक्टरलाई कुटेपछि कसरी काम गर्ने वातावरण हुन्छ,’ डा. सिग्देलले भन्नुभयो ।

चिकित्सकमाथि यसरी आक्रमण भएपछि सम्पूर्ण जोखिम लिएर उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई काम गर्न गाह्रो भएको डा. सिग्देलले बताउनुभयो । बुधबारको घटनाले कोशी अस्पतालका चिकित्सकसहित ९÷१० जना स्वास्थ्यकर्मी आजैबाट क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको डा. सिग्देलले जानकारी दिनुभएको छ । संक्रमितका आफन्त र उनको हेरचाहमा संलग्नहरुले भिड जम्मा गरेर हातपात गर्दा संक्रमणको जोखिम बढेको हो । त्यस क्रममा मृतकका आफन्तहरुले नाराबाजीसमेत गरेका थिए । पछि कोरोना पोजेटिभ आएको सूचना पाएपछि होहल्ला गर्ने सबै भागेका थिए । अस्पतालले भने त्यहाँ उपस्थित सबैजना जोखिममा परेको र उनीहरुको पहिचान गर्नु चुनौतीपूर्ण भएको बताएको छ ।

पछिल्लो समय कोशी अस्पतालमा जचाउन आएका बिरामीहरु धेरै संक्रमित पुष्टि हुन थालेको र संक्रमितहरुमा एकैखालको नभई फरक फरक लक्षणहरु देखापर्न थालेकोले परीक्षणको दायरा फराकिलो बनाउनु पर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा. सिग्देलले पनि प्रत्येक गम्भीर प्रकारका बिरामीको कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने जस्तो अवस्था आएको बताउनुभएको छ । ‘एकै प्रकारका लक्षणहरु छैनन्, पखला लागेकामा पनि कोरोना देखिएको छ आज लिभरको बिरामीमा पनि अरु लक्षण थिएन तर कोरोना देखियो त्यसैले अब हरेक सिरियस बिरामीको कोरोना परीक्षण गर्नुपर्ने देखिएको छ ।’

बुधबार, २१ साउन, २०७७, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर