विराटनगर । विराटनगरमा कोरोना संक्रमितको संख्दा थपिदै गएको छ । मंगलबार विराटनगरमा थप १६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
विराटनगरका नयाँ संक्रमित मध्ये ११ पुरुष र पाँच महिला छन् । थपिएका संक्रमित मध्ये कोशी कोशी अस्पतालको फिभर क्लिनिकमा परीक्षण गराएका सात जना बिरामीमा संक्रमण देखिएको छ भने विराट नर्सिङ्ग होमका एक चिकित्सकसहित तीन जना र समुदायका अन्य ६ जना रहेका छन् । विराटनगरमै अस्थायी बसोबास गर्दै आएका झापाका दुई जनामा पनि संक्रमण देखिएको छ ।
प्रदेश १ मा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा विराटनगरमा बस्दै आएका मात्र १८ जना छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार मोरङमा १७, झापामा तीन र ओखलढुंगामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङको कटहरी गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा संक्रमितको संख्या ९६६ जना पुगेको छ । प्रदेश १ मा हालसम्म ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।