विराटनगर । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाईरसका कारण थप ३ जनाको ज्यान गएको छ ।
पर्साका ६५ बर्षीय भारतीय नागरिक, धनुषाका ३६ बर्षीय पुरुष र बाराका ६० बर्षीय पुरुष गरि कुल ३ जनाको कोरोना भाईरसको कारणबाट ज्यान गएको हो । सोमबार बाराको फेटा ३ का ६० बर्षीय पुरुषको त्रि.वि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभयो । नियमित पे्रस ब्रिफिङका क्रममा बोल्नुहुँदै प्रवक्ता गौतमले मृत्तक निमोनिया, मस्तिष्कघात र मृगौलासम्बन्धी रोगबाट ग्रसित रहेको जानकारी दिनुभयो ।
यस्तै पर्सास्थित विरगञ्ज १० का ६५ बर्षीय भारतीय नागरिकको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । मृत्तक पुरुष मुटु र मधुमेह रोगका बिरामी रहेको प्रवक्ता गौतमको भनाई छ ।
यस्तै धनुषा शहिदनगर–८ का ३६ बर्षीय पुरुषको पनि साउन ११ गते नै कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १० गते ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको इर्मेजेन्सीमा भर्ना गरिएको थियो ।
आईसीयुमा राखेर उपचार गरिएपछि पनि स्वास्थ्य अवस्थामा सुधार देखिएपछि उनलाई धरानस्थित बि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयको दाबी छ ।
यससँगै नेपालमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेहरुको संख्या ४८ पुगेको छ ।