विराटनगर । विराटनगरमा कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलिएको छ । समुदाय तहमा भाइरस विस्तार भएको करिब एक साता भएको छ । अहिले संक्रमणको गति बढीरहेको र तिब्रतासाथ फैलिने क्रममा रहेको भन्दै तत्काल लकडाउन गर्न विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाले सुझाव दिएको छ ।
पछिल्लो एक साताको अवधिमा संक्रमितहरुको सम्पर्कमा पुग्ने व्यक्तिहरुको संख्या दोब्बर भन्दा बढी हुन थालेको छ । अहिले दैनिक एक सयको संख्यामा कन्ट्र्याक टे«ेसिङमा रहने व्यक्तिहरुको परीक्षण गरिरहेको महानगरले अब दैनिक दुई सय जनाको परिक्षण गर्न अनिवार्य भइसकेको भन्दै परीक्षण बढाउन आग्रह गरिरहेको छ । विराटनगर महानगर पालिकाका स्वास्थ्य महाशाखा अन्तरगत ‘केस इन्भेस्टिगेसन एण्ड कन्ट्र्याक टे«ेसिङ सुपरभाइजर’ हैदर अलीले भन्नुभयो ‘हामीले एक सातादेखि दैनिक सय जनाको हाराहारीमा स्वाब संकलन गरिरहेका छौं तर अब त्यो संख्या बढेको छ र तत्कालै दैनिक दुई सय जनाको परीक्षण गर्न जरुरी भइसकेको छ ।’
दैनिक एक सय जनाको स्वाब संकलन गर्ने गरेपनि परीक्षणको नतिजा आउन ढिलाई हुँदा भाइरस संक्रमण फैलिने क्रम बढेको महानगरको दावी छ । अहिले करिव ३ दिनमा मात्र रिपोर्ट आउने गरेको छ । ‘प्रयोगशालाबाट परीक्षणको रिपोर्ट ढिलो आउने गरेको छ अहिले पनि महानगरले पठाएको १५० भन्दा बढी रिपोर्ट आएको छैन,’ सुपरभाइजर अलीले भन्नुभयो ‘स्वाब संकलन बढाउने, एकै दिनमा रिपोर्ट आउने गरी तत्काल काम नथाल्ने हो भने अवस्था भयावह हुने देखिएको छ ।’
उहाँले समुदाय स्तरमा कोरोना फैलिसकेको र तत्काल विराटनगरलाई पूर्णरुपमा लकडाउनमा लैजानु पर्ने पनि बताउनुभएको छ । ‘कोरोना समुदाय तहमा गइसकेको र दैनिक संक्रमितहरु बढिरहेको अवस्थाले गर्दा तत्काल महानगरलाई लकडाउन गर्नुपर्छ, मेरो अनुभवमा लकडाउन गर्न ढिला भइसकेको छ, अवस्था सोचेजस्तो छैन भयावह भइसक्यो ।’
प्रयोगशाला र परीक्षण किट (भिटिएम) अभाव
विराटनगर महागनरपालिकाले कन्ट्र्याक टे«सिङको काम निरन्तर गरिरहेको भएपनि महानगरसँग भाइर ट्रान्सपोर्ट मिडियम किट नहुँदा समस्या भएको छ । महानगरपालिकाले दैनिक रुपमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएर भिटिएम ल्याइरहेको छ । मन्त्रालयले दिनको ५० थान मात्र भिटिएम दिइरहेको छ जसले गर्दा पछिल्ला दिनमा बढीरहेको संक्रमित र उनीहरुसँग सम्पर्कमा पुगेका व्यक्तिहरुकै परीक्षणमा समस्या हुन थालेको छ ।
विराटगनर महागनरपालिकाका प्रमुख भीम पराजुली दैनिक ५ सयको संख्यामा परीक्षण गर्नुपर्छ भनेर आफूले पहल गरिरहेको बताउनुभएको छ । उहाँले भाइरस समुदाय तहमा फैलिसकेको अवस्थामा परीषणको दायरा बढाउनुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले दैनिक ५ सय जनाको स्वाब संकलन र परीक्षण गर्ने भनेपनि प्रयोगशालाको क्षमताका कारणले गर्दा तत्काल सम्भव छैन ।
प्रदेश १ मा अहिले तीन वटा प्रयोगशालामा कोरोना परीक्षण हुने गरेको छ । विराटनगरमा रहेको प्रदेश प्रयोगशाला, विराटनगरकै कोशी अस्पतालको प्रयोगशाला र धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा मात्र कोरोना परीक्षण हुन्छ । ती प्रत्येक प्रयोगशालामा दैनिक १२० देखि १३० वटासम्म स्वाब परीक्षण गर्न सकिन्छ । यस अघि ‘पुल प्रणाली’ अर्थात चार पाँच जनाको स्वाब एकै ठाउँमा राखेर परीक्षण गर्दा दैनिक ७ सय जनासम्मको परीक्षण सम्म्भव हुने गरेको थियो । तर अहिले पोजेटिभ केस बढी आउन थालेपछि पुल सिस्टमबाट परीक्षण नगरी व्यक्तिगत परीक्षण थालिएको छ । त्यसैले एउटा ल्याबबाट बढीमा १३० जनाको मात्र परीक्षण सम्भव हुने भएकोले मासमा स्वाब संकलन गरेपनि परीक्षण सम्भव नरहेको प्रदेश प्रयोगशालाका प्रमुख जयवेन्द्र यादव बताउनुहुन्छ ।
सोमबारदेखि झापाको मेचीनगर नगरपालिकाले समुदायस्तरबाटै स्वाब संकलनको काम थालेको छ । विराटनगरमा पनि समुदायगत परीक्षण गर्नुपर्ने दवाव बढीरहेको बेला कसरी परीक्षणको दायरालाई बढाउने भन्ने समस्या भएको छ ।
प्रदेश सरकारलाई शुक्रबार स्वीस सरकारले तीन वटा ठूला क्षमताको पिसिआर मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको थियो । ती मेसिनहरु जडानको काम भइरहेकोले केही दिनमै धेरै संख्यामा परीक्षण गर्न सकिने प्रदेश सरकारले जनाएको छ ।
अठार सयको परीक्षण
विराटनगर महानगरपालिकाले अहिलेसम्म जम्मा तीन हजार ३८ जनाको कोरोना परीक्षण गरेको छ । तीमध्ये एक हजार २०५ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) र एक हजार ८३३ जनाको पिसिआर टेस्ट गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि दैनिक एक सय जनाको दरले पिसिआर टेस्टका लागि स्वाब संकलन गर्ने काम भइरहेको छ ।
ठूला अस्पतालहरुमै संक्रमण
विराटनगरको ठूला तीन अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र फार्मेसीमा कोरोना संक्रमण देखिएको छ । विराटगनरको ठूला मध्येको विराटनगर अस्पताल (विराट नर्सिङ होम) का सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की र त्यहाँ कार्यरत अन्य तीन जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । अस्पतालमा कोरोना संक्रमण फैलिएपछि अहिले अस्पताल शिलबन्दी गरिएको छ ।
यसैगरी कोशी अस्पताल विराटनगरमा पनि एक जना चिकित्सक र एक जना नर्समा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएपछि अस्पतालको पोस्टनेटल वार्ड रातिदेखि बन्द गरिएको छ ।