विराटनगर । प्रदेश १ मा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।
आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरमा ३ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एक महिला प्रहरी र १८ पुरुष प्रहरी छन् । उनीहरु प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।
प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई बुधबार कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा रहेका अन्य प्रहरीको स्वाब परीक्षण गर्दा थप ४ प्रहरीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै प्रदेश प्रहरीमा कार्यरत २४ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमण पुष्टि भएका प्रहरीलाई पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको छ ।
आइतबार संक्रमित देखिएका अन्य तीन जनामा विराटनगर– ३ का दुई जना छन् । एकजना संक्रमितको भने स्पष्ट ठेगाना खुल्न नसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आइतबार १२ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन् । योसँगै प्रदेशमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।