विराटनगर । बर्षायाम सुरु भएसँगै आएको बाढीपहिरोमा परि प्रदेश नं. १ मा हालसम्म १७ जनाले ज्यान गुमाएका छन् ।
अविरल बर्षाका कारण नदीनाला तथा विभिन्न जलाशयहरुको जलस्तर र पानीको बहाव उच्च भई आएको बाढी र पहिरोमा परी १७ जनाले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी झापाका ७ जना, मोरङका ५ जना, सुनसरीका २ जना, धनकुटाका १ जना, संखुवासभाका १ जना र उदयपुरका १ जना रहेका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढीको प्रकोपका कारण प्रदेश १ मा हालसम्म कुल १७ जना बेपत्ता भएका छन् भने ८ जना घाईते भएका छन् ।
बेपत्ता हुनेमा ताप्लेजुङका १, मोरङका १, सुनसरीका २, तेह्रथुमका २ र संखुवासभाका ११ जना रहेका छन् । घाईते हुनेमा झापाका ३, संखुवासभाका ४ र उदयपुरका १ जना रहेका छन् । झापा, मोरङ र संखुवासभा बाढी पहिरोले धेरै क्षति गरेको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक पोखरेलले बताउनुभयो ।
बाढीको प्रकोपका कारण मानवीय क्षतिसँगै भौतिक क्षति पनि उत्तिकै भएको प्रहरीको भनाई छ । प्रदेश नं. १ का १४ वटै जिल्लामा हालसम्म २ सय २९ वटा घर तथा गोठमा क्षति पुगेको छ ।
जसअन्तर्गत झापामा १७, ईलाममा १०, पाँचथरमा २, ताप्लेजुङमा ६, मोरङमा ९५, सुनसरीमा ७, धनकुटामा १०, तेह्रथुममा ८, संखुवासभामा १९, भोजपुरमा ६ र सोलुखुम्बुमा ४९ वटा घर तथा गोठहरु क्षतिग्रस्त अवस्थामा पुगेका छन् । यसका साथै प्रदेश नं. १ मा बाढीका कारण पानीको बहाव उच्च भई कतिपय नदीहरुले बाँध कटान गरेपछि आम सर्वसाधारणको घरमै पानी पसेको छ ।
हालसम्म झापामा ३०, ईलाममा ८, ताप्लेजुङमा ६, मोरङमा ९५, सुनसरीमा ८, तेह्रथुममा ३, संखुवासभामा ७७, भोजपुरमा ६ र सोलुखुम्बुमा ६ गरि कुल २ सय ३९ घरपरिवार बाढी र पहिरोको कारण विस्थापित भएको १ नं. प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।