सप्तकोशीको बाढी खतराको तहभन्दा माथि

तटीय क्षेत्रका बासिन्दालाई बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित

विराटनगर । सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेपछि आसपासका बासिन्दालाई सतर्कता अपनाउन अपिल गरिएको छ ।

मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पानीको बहाव थेग्न नसकेर नहर भत्किने खतरा देखिएपछि दुईवटै नहर बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

केन्द्रले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ । गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरेपनि स्थानीयहरु निस्कन मानेका छैनन् ।

मङ्गलबार, ०६ साउन, २०७७, बिहानको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर