विराटनगर । कोरोना भाईरसको जोखिमबाट बच्न सरकारले सतर्कता अपनाउन आग्रह गरिरहेको छ । मोडालिटी परिवर्तन गरेर भएपनि मुलुक अझै बन्दाबन्दीकै अवस्थामा छ । तर, आम नागरिकमा कोरोना सङ्क्रमणको त्रास समाप्त हुँदै गएको छ ।
लकडाउन खुकुलो भएसँगै आम नागरिकले सामान्य सुरक्षा सर्तकता पनि अपनाउन छाडेका छन । समयसमयमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने, भीडभाड भएको ठाउँमा नजाने, हात नमिलाउने तथा सामाजिक दुरी कायम गर्ने जस्ता सामान्य सुरक्षा र सर्तकता पनि अहिले अपनाइएको छैन ।
विराटनगरमा लकडाउन खुकुलो भएसँगै चहलपहल बढ्दै गएको छ । तर, सामाजिक दुरी कायम भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार सामाजिक दुरी कायम गर्न आग्रह गर्दै आएपनि मन्त्रालय अन्तर्गतको विराटनगरस्थित कोशी अस्पतालमै त्यसको पालना हुन सकेको छैन ।
अस्पतालले आफ्नो सेवा प्रवाहलाई व्यवस्थित नगर्दा दैनिक ओपीडी, प्रयोगशाला र एक्स–रे कक्षमा सयौंको भिड लाग्ने गरेको छ । सामान्य अवस्थामा दैनिक १२ सयदेखि १५ सय सेवाग्राहीहरु आउने अस्पतालमा अहिले दैनिक ६ सय विरामी आइरहेको रेकर्ड छ । उनीहरुलाई व्यवस्थित गर्न नसक्दा भीडभाड र लाईन लागेर पुर्जी काट्नुपर्ने बाध्यता छ ।
चाहेर पनि अस्पताल परिसरमा सामाजिक दुरी कायम गर्ने अवस्था नरहेको कटहरी–६ का नरेश राजवंशीले बताउनुभयो । सामाजिक दुरी कायम नहुँदा अस्पताल नै कोरोना सङक्रमणको केन्द्रबिन्दु बन्नजाने खतरा देखिएको छ । सरकारले व्यवस्थित रुपमा नागरिकलाई सेवा दिन नसकेकोले जोखिम बढेको विराटनगर–१२ का सेवाग्राही शंकर परियारले उल्लेख गर्नुभयो ।
अस्पतालले अस्पताल परिसरभित्र हात धुने, मास्क लगाउने र सामाजिक दुरी कायम गरेर स्वास्थ्य सेवा लिने सूचना टाँसेको छ । तर, नागरिक स्वयंम सचेत नहुँदा अस्पताल परिसरमा सामाजिक दुरी कायम गर्न कठिनाई उत्पन्न भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताउनुभयो ।
अहिलेसम्म नेपालमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । विश्वभरि कुल ५ लाख ७९ हजार ३ सय १९ जनाले ज्यान गुमाईसकेका छन् । नेपालमा भने समुदाय स्तरमा सङ्क्रमण नदेखिएपनि सबैले थप सचेत हुनुपर्ने खाँचो रहेको विज्ञहरुले सुझाएका छन ।