बजेट दुरुपयोगको उदाहरण

प्रत्येक वर्ष बक्राहामा बग्छ ५० लाखको बाँस

विराटनगर । बक्राहा नदी नियन्त्रणको नाममा हरेक वर्ष ५० लाख रुपैयाँ भन्दा बढी रकम उपयोगविहीन ढंगबाट खर्च हुने गरेको छ । बक्राहा नदी नियन्त्रण कार्यालयले नदी नियन्त्रणको अस्थायी उपायको नाममा उक्त रकम खर्च गर्दै आएको छ ।

हरेक वर्ष उस्तै प्रकृतिको काममा उही ठाउँमा लगानी दोहो¥याउनु पर्दासमेत स्थायी समाधानका लागि सम्वन्धित कार्यालय गम्भीर भएको देखिदैन । जसले गर्दा प्रत्येक वर्ष बक्राहा खोलामा ३० लाख रुपैयाँ भन्दा बढी मूल्यको बाँस गाड्ने गरिएको छ तर नदीले गर्ने कटान र क्षति भने रोकिएको छैन ।

यो वर्ष पनि बक्राह नदी नियन्त्रण कार्यालयले विभिन्न पाँच स्थानमा ‘कर्कुपाइन’ निर्माणको काम गरिरहेको छ । नदी मोडिएर बाँध कटान गर्ने अवस्था उत्पन्न भएमा बाँसका किला र बार लगाएर पानीको बहाव नियन्त्रण गर्ने र फर्काउने अस्थायी प्रविधि (पाइलिङ) को अभ्यास पुरानै भएपनि यसलाई दुरुपयोग गर्न थालिएको स्थायनीय युवा सुमन कालिकोटेले बताउनुभयो । उक्त कार्यालयले उपभोक्ता समिति मार्फत पाइलिङ्गको काम गरेको जानकारी दिएको छ । तर स्थानीयहरुले भने कार्यालयले प्रकृया मिचेर ठेकेदार मार्फत काम गराउने गरेको दावी गरेका छन् । भुक्तानीको समयमा भने ठेकेदारले ल्याउने बनिबनाउ उपभोक्ता समितिको नाममा चेक बनाउने र रकम दुरुपयोग गर्ने गरेको गुनासो स्थानीयले गरेका छन् ।

बक्राहा नदी अन्तरगत सुनवर्सी नगरपालिका अन्तरगत बरडंगाको चैताटोल र कैनी तथा रतुवामाई नगरपालिकाको मुसहरभिट्टा, इटहरा र मौलिबारी भन्ने ठाउँमा अहिले बाँस पाइलिङ्गको काम भइरहेको छ । त्यस ठाउँमा जोखिम हुनसक्ने भन्दै स्थानीयले गतवर्षदेखि नै जाली बोल्डरको माध्यमबाट बाँध निर्माण गर्न माग गरेका थिए । तर उक्त कार्यालयले त्यस ठाउँमा जालि बोल्डर गर्नुपर्ने आवश्यकता नभएको र त्यहाँबाट कुनैपनि हालतमा कटान नगर्ने दावी गरेको थियो । तर अहिले खोलामा बाढी आउनासाथ हतार हतार कर्कुपाइन निर्माण थालिएको छ । बाँसको काम गर्दा ठूलो रकम हिनामिना गर्न पाइने भएकोले ठेकेदार र कार्यालयका प्राविधिकहरुको सहजै मिलेमतो हुने गरेको बताइएको छ ।

अघिल्लो वर्षसम्म बक्राहा नदी नियन्त्रण कार्यालयले पाइलिङ निर्माणका लागि प्रतिघना बाँस खरिदमा २५० रुपैयाँ बजेट खर्च गर्ने गरेको थियो । जिल्ला दररेट निर्धारण हुँदा अघिल्लो आर्थिक वर्षमा बाँसको मूल्य २५० बाट घटाएर १०० रुपैयाँ बनाइएको छ । बक्राहा छेउछाउमा अहिले पनि ५० रुपैयाँ घनामा प्रयाप्त बाँस किन्न पाइन्छ । बाँस खरिदमा मात्र ठूलो रकम बच्ने भएकोले प्राविधिक, ठेकेदार र कतिपय सन्दर्भमा उपभोक्ताहरुले पनि अनावश्यक ठाउँमा बासँ पाइलिङ्गका लागि दवाव दिने गरेका छन् ।

प्रति एकसय मिटर क्षेत्रफलमा बाँस पाइलिङ गर्दा ४ लाखदेखि साढें ४ लाख रुपैयाँ खर्च हुने बक्राहा नदी नियन्त्रण कार्यालयका प्रमुख ई. भिलानन्द यादवले जानकारी दिनुभएको छ । बाँस पाइलिङ तत्कालको समाधान मात्र भएकोले आफ्नो चाहना विपरित काम गर्नुपरेको प्रमुख यादवले बताउनुभएको छ । ‘बाँस पाइलिङ बाँध फुट्ने अवस्थामा मात्र गर्नुपर्ने हो र मेरो चाहना पनि पाइलिङ गर्नेमा छैन,’ यादवले भन्नुभयो ‘तर यहाँ पहिलेदेखिनै पाइलिङमा बानी परेका रहेछन् जसलाई मैले पूर्णरुपमा नियन्त्रण गर्न सकेको छैन तर कम चाँही गरेको छु ।’ बक्राहामा ३–४ सय मिटरसम्म बाँस पाइलिङको काम भइरहेको छ ।

यादवले पाइलिङ आफ्नो चाहना नभएको बताएपनि स्थानीय भने उहाँको कुरा मान्न तयार छैनन् । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीसहित स्थानीयको टोलीले हिउँदकै समयमा ती स्थानहरुमा जाली बोल्डरको काम गर्न कार्यालयलाई आग्रह गर्नुभएको थियो । तर कार्यालयले अनुगमन गरेर तत्काल जोखिम नभएको निष्कर्श सुनाएको थियो । अहिले त्यसै ठाउँमा बाँस पाइलिङको काम गरिएको छ । ‘जुन ठाउँमा जोखिम छैन भनेर उहाँले हाम्रो सुझावलाई वेवास्ता गर्नुभो अहिले त्यहि ठाउँमा बाँस पाइलिङ गरिरहनुभएको छ,’ नेकपा मोरङका सचिव उप्रेतीले भन्नुभयो ‘उहाँले स्थलगत अध्ययन गर्दा किन कटान गर्दैन भनेर जाली बोल्डरको काम गर्न मान्नुभएन भन्ने कुरा हामीले बुझ्नु पर्छ ।’

बक्राहा नदी नियन्त्रण कार्यालयका प्रमुख यादवले भने आफुले अनुगमन गर्दा नदी त्यस तर्फ फर्किने सम्भवना नदेखेको भएपनि दुर्घटनावस नदी मोडिएका कारण तत्काल पाइलिङ गर्नुको विकल्प नभएको जिकिर गर्नुभयो । ‘स्थानीयबाट जाली बोल्डरको माग भएपछि मैले अनुगमन गरें,’ यादवले भन्नुभयो ‘अनुगमनका क्रममा नदी मोडिने सम्भावना देखिएन तर बाढी आउँदा यस्तो भयो ।’

अहिले बक्राहा खोलामा रतुवामाई नगरपालिकाले विभिन्न चार ठाउँमा यस्तै बाँस पाइलिङको काम गरिरहेको पनि यादवले जानकारी दिनुभयो । नगरपालिकालाई अगाडि सारेपनि उक्त कार्यालयले नै भुक्तानी दिने बाचा गरेको स्थानीयको आरोप भने कार्यालय प्रमुख यादवले अस्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो ‘म भएको भन्दा फरक कुरा गर्दिन, हामीले यस पटक जम्मा पाँच ठाउँमा मात्र बाँस पाइलिङको काम गरेका छौं ।’ कार्यालयको नियमित बजेटबाट आफुले एउटा पनि काम कोटेशनबाट नगराएको यादवले बताउनुभयो । उहाँले यस पटक सुनवर्सी, उर्लाबारी र मिक्लाजुङमा धेरै काम गरेको पनि जानकारी दिनुभयो । उहाँले मिलेमतो र रकम दुरुपयोग नभएको दावी गर्दै स्थानीयहरुले नबुझेर यस्तो आरोप लगाएको बताउनुभएको छ । उहाँले विगतदेखि नै बाँस पाइलिङमा बानी परेकाहरुबाट आफुलाई धेरै दवाव आउने गरेको पनि बताउनुभयो ।

सोमबार, ०५ साउन, २०७७, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर