विराटनगर । पटके करको विषयलाई लिएर मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको घरबाट प्रहरीले लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केराबारी गाउँपालिका १० का ३२ वर्षीय भाले भनेर चिनिने भवन ठकुरीको घर खनतलासी गर्ने क्रममा प्रहरीले ब्राउन सुगर फेला पारेको हो ।
ठकुरी सुत्ने कोठाभित्रको ओछ्यानमुनी प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । पक्राउ परेका ठकुरीको घर खनतलासी गर्ने क्रममा सुत्ने घरको काठको ओछयानमुनी लुकाएर राखिएको अवस्थामा प्रहरीले ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो ठकुरीले केराबारी गाउँपालिको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्षभित्र प्रवेश गरि अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरेका थिए । टाउको र हातमा गहिरो चोट लागेका कार्कीको विराटनगरस्थित नोबेलम मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ठकुरीलाई प्रहरीले मोरङ अदालतबाट आइतबार ‘ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दामा’ पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष कार्कीमाथि भएको आक्रमणको विषयमा आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयमा प्रदेशसभा सदस्यहरु घटनामा संलग्नलाई कारबाहीको माग राखेका छन् ।