विराटनगर । कोभिड १९ को कहरका बीच अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुले सरकारले दिने भनेको जोखिम भत्ता नपाएको भन्दै नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाउँदै संगठनले बन्दाबन्दीको समयमा समेत उच्च मनोवलका साथ जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीहरुले प्रोत्साहन स्वरुप पाउनु पर्ने सुविधा नपाई अन्यायको अनुभूति गरेको भन्दै आवश्यक दिर्नेशन दिन सरकारसँग माग गरिएको छ ।
संगठनका अध्यक्ष ओमराज सुवेदी र सचिव नन्दीकेशर काफ्लेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रदेश र स्थानीय तहमा खटिएका जनशक्तिलाई सम्बन्धित प्रदेश तथा स्थानीय तहले नै जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने जोखिमभत्ता व्यवस्थापन आदेश २०७७ मा उल्लेख रहेको संगठनले जनाएको छ । कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को दफा ५ ले पनि जोखिमभत्ता दिने उल्लेख गरेकोमा अहिलेसम्म भत्ता पाउने वातावरण नभएको प्रति संगठनले सरकारको ध्यानाकर्षण गराएको हो । संगठनले जोखिम भत्ता उपलव्ध नगराएका स्थानीय तहहरु, अस्पताल आदिलाई तत्काल भत्ता उपलव्ध गराउन माग गरेको छ ।
संगठनले अहिलेसम्म प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण काम गरेको र कुशल व्यवस्थापन गरेको भन्दै प्रदेश सरकारको उच्च प्रशंसासमेत गरेको छ ।