तस्कर र प्रहरीबीच गोली हानाहान

विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका ३ मा बिहीबार राति प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहानमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा सुनसरीको देवानगन्ज २ का पिन्टु यादव र ३ का राजेश यादव रहेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिनुभएको छ । खुट्टामा गोली लागेर घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको प्रहरीले बताएको छ । हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि तस्कर समूहले गोली चलाएको प्रहरीको दाबी छ ।

तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, ६ राउन्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको जनाएको छ । तस्कर समूहमा रहेका तीन जना भारततर्फ फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते भएका र फरार भएका तस्करी, लागु औषधको कारोबार, हात हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीको नियमित गस्ती अन्तर्गत सर्च अप्रेसनको क्रममा गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच गोली हानाहान भएको हो ।

शुक्रबार, ०२ साउन, २०७७, बिहानको ०९:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर