विराटनगर । झापा र मोरङको सीमा भएर बग्ने रतुवा खोलाले कटान गर्दा गत वर्ष बनाइएको पुल नदीको बीचमा पुगेको छ ।
तीन दिन अघि खोलामा आएको बाढीले पुलदेखि पश्चिम तर्फ झण्डै एक सय मिटर जमिन कटान गरेपछि पुल खोलाको बीचमा पुगेको हो ।
झापाको गौरिगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने उक्त पुलको निर्माण गत वर्ष सम्पन्न भएको हो । उक्त पुलको दुवै तर्फ माटो पुरेर बाटो अग्लो बनाउने काम पनि गत हिउँदमा सकिएको थियो । पुलको पूर्व तर्फ गौरीगञ्ज गाउँपालिकाले माटो पुरेको थियो भने पश्चिम तर्फ रतुवामाई नगरपालिकाले बालुवाले पुरेर बाटो अग्लो बनाएको थियो ।
अबिरल वर्षापछि आएको बाढीले पुलभन्दा करिव एक सय मिटर उत्तर तर्फबाट कटान गर्दै पुलभन्दा पश्चिमसम्मको जमिन बगाएर लगेको हो ।
खोलाको बीचभागमा पुल पुगेपछि त्यहाँबाट आवतजावत पूर्णरुपमा बन्द भएको छ । अब मोरङको रंगेली, डाइनियाँ हुँदै गौरिगञ्ज जाने मानिसहरु कि भारतीय भूमी फुलबरिया हुँदै जानुपर्छ भने कि त १५० किलोमिटर घुमेर उर्लाबारी, दमक हुँदै गौरिगञ्ज पुग्नुपर्ने वाध्यता आइपरेको स्थानीयले बताएका छन् ।
पुल पश्चिम तर्फ माटो पुरेर बटो अग्लो बनाउने क्रममा बालुवा मात्र हालेका कारण नदीले सहजै कटान गरेको स्थानीयहरुले बताएका छन् । नगरपालिकाका प्रमुखले आफान्तलाई उक्त कार्य गर्ने ठेक्का दिएका कारण पनि कमसल काम भएको आरोप उनीहरुले लगाएका छन् ।