आत्महत्या गर्न बाध्य बनाउने प्रेमि थुनामा

विराटनगर । उदयपुरको बेलका नगरपालिका २ घर भइ विराटनगर–३ मा डेरा गरि बस्ने २४ वर्षिय श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा पक्राउ परेका पूर्व प्रेमि पुर्पक्षको लागि थुनामा गएका छन् ।

मोरङ अदालतका न्यायधीश राजेन्द्र अधिकारीको इजालशले पक्राउ परेका सुन्दरहरैचा नगरपालिका – १० का २५ वर्षिय सविन पराजुली पुर्पक्षको लागि बुधबार थुनामा गएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न अदालतले आदेश दिएको मोरङ अदालतको श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो । अदालतको आदेशपछि पराजुली पुर्पक्षको लागि मोरङ चलान भएको उहाँले बताउनुभयो ।

दुरूहासन गर्न बाध्य बनाएको आरोपमा सविनलाई मोरङ प्रहरीले गत असार ८ गते पक्राउ गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलबार सविनलाई प्रतिवादी बनाइ पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको मागदाबी राखि ‘आत्महत्या गर्न दुरूसाहन’ मुद्दामा अभियोग दर्ता गरेको सहायक जिल्ला न्यायधिवक्ता मुकुन्द कुमार रेग्मीले जानकारी बताउनुभयो ।

प्रतिवादी सविनको अदालतमा बयान सकिएपछि बुधबार मोरङ अदालतको २ नम्बर इजालशमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कालार्य मोरङका सहायक जिल्ला न्यायधिवक्ता मुकुन्द कुमार रेग्मीले बहर गर्नुभएको थियो । वादी र प्रतिवादीको बहस सकेपछि थुनछेक आदेश आएको हो ।

गत असार ७ गते श्वेताले डेरा गरि बस्ने कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । महेन्द्र मोरङ क्याम्पसमा बि.एस.डबलू. दोस्रो वर्षमा अध्ययरत श्वेताको विगत तीन वर्षदेखि सविनसँग प्रेम सम्बन्ध थियो । विवाह गर्नका लागि श्वेताले सविनसँग बारम्बार आग्रह र अनुरोध गरेकी थिइन् । तर, श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका सबिनले उनीसँग तत्काल विवाहको सहमति दिन सकेनन् ।

त्यसपछि श्वेताले परिवारसँगको सल्लाहकै आधारमा दोस्रो केटासँग मागि विवाह गर्ने निचोड निकालेकि थिइन् । श्वताको विवाह हुने जानकारी पूर्वप्रेमी सविनले थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने निष्कर्षका लागि पुराना आफूसँगै बिताएका तस्वीरहरु बाँड्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म बहिनी नातामा पर्ने युवतीबाट फोटो पुग्यो । निकट भविष्यमै श्रीमान् बन्ने केटासम्म श्वेता र पूर्वप्रेमिको फोटा पुगेको थियो ।

विवाह हुने भएको दोस्रो केटाले समेत श्वेतालाई भेटेर तिम्रो पहिलो प्रेमीसँग यतिधेरै माया साटिईसकेको रहेछ, अब विवाह नगरौं बरु म तिमलाई साथ दिएर अगाडी बढ्ने बचन दिएका थिए ।
विगत ३ वर्ष पहिलेदेखि श्वेतासँगको प्रेम सम्बन्ध र शारीरिक सम्बन्ध समेत कायम भईसकेपछि वैवाहिक जिवन विताउन समेत सविनले आलटाल गरी प्रतिशोध साध्न स्वेता पोखरेलसँग विताएका पुराना तस्विर र कुराकानीका सन्देशहरु मोवायलबाट विवाह हुने केटालाई पठाइ दिएको अभियोग पत्रमा उल्लेखछ ।

सविनले हुन लागेकी बेहुली श्वेतालाई आफ्नो प्रेमिका रहेको भन्ने तथ्य सार्वजनिक गरी दिएको कारण विवाह सम्बन्ध समेत टुट्न गई बेहुली हुनु पूर्व नै स्वेतालाई विक्षिप्त मानसिक यातना दिएको कारण बाध्य भई स्वेताले झुण्डी आत्महत्या गरेको अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

बिहिबार, ०१ साउन, २०७७, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर