छुरा प्रहारबाट गम्भीर घाइते

विराटनगर । विराटनगर–५ कोचाखालमा शुक्रबार राति एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छिमेकी दाजुभाईले छुरा प्रहार गर्दा ३३ वर्षीय सन्तोश कामत घाइते भएका छन् ।

पेट र देव्रे हातमा गहिरो चोट लागेका कामतको विराट नर्सिङ होममा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्दृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार घाइतेको अवस्था गम्भीर छ ।

कामतमाथि छिमेकीहरु १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु रायले छुरा प्रहार गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । सुरुमा सुरजले छुरा प्रहार गरेको र दाजुहरुले उनलाई सघाएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका तीनै जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कोचाखाल क्षेत्र डुबानमा पर्ने अवस्था आएपछि विराटनगर महानगरपालिका कार्यालयले पठाएको डोजरले राय परिवारको घर अगाडि नाला खोल्ने क्रममा विवाद सुरु भएको थियो । आफ्नो घर अगाडि खन्न लगाएको भन्दै तीन दाजुभाई मिलेर कामतमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

सुतिरहेका बेला कामतको घरमै पुगेर छुरा प्रहार भएको थियो । छुरा प्रहार हुनुमा पुरानो रिसिईबीसमेत हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, १३ असार, २०७७, रातीको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर