मोरङ अदालतले आधा दर्जन थप सेवा दिने

विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न लकडाउन गरिएको अवस्थामा पनि जिल्ला अदालत मोरङले मंगलबारदेखि सामाजिक दुरी कायम गरि सावधानी अपनाउँदै ६ वटा थप सेवा प्रदान गर्ने भएको छ ।

उच्च अदालत बार एसोसिएसन, जिल्ला अदालत बार एसोसिएसन र मोरङ अदालतमा मंगलबार भएको छलफल अनुसार आधा दर्जन थप सेवा सञ्चालन गरिने निर्णाय गरिएको हो ।

मंगलबारदेखि सञ्चालन हुने मिलापत्र गर्ने प्रयोजनार्थ प्रतिउत्तर पत्र र मिलापत्रको निवेदन साथ दर्ता हुन आएका मुद्दाको फिरादपत्र दर्ता गरिने भएको छ । यस्तै अंग पुगेका थुनुवा मात्र भएका मुद्दाहरुको सुनुवाई गर्ने, बन्दाबन्दी अघि वादी रूजु हाजिर रहेका एकतर्फी अंग पुगेको मुद्दाहरुको सुनुवाई गर्ने, बन्दाबन्दी अघि दर्ता भएका सम्पति रोक्का र फुकुवा सम्बन्धी निवेदन सुनवाई गर्ने, तहसिल शाखाले गरिने लगत कस्ने, दशी÷जिन्सी सामान फिर्ता र धरौटी फिर्ता दिने लगायतका कार्य र मिसिल संलग्न कागजातहरुको नक्कल उपलब्ध गराउने सेवा सुचारू भएको मोरङ अदालतका श्रेस्तेदार इश्वरमिण ओझाले जानकारी दिनुभयो ।

सार्वजानिक यातायात नखुलेसम्म वा अर्को आदेश नआएसम्मका लागि अदालतबाट प्रदान भईआएका सेवा प्रवाहका अतिरिक्त सेवा थप गरिएको हो । यसअघि बन्दी प्रत्यक्षिकरणको निवेदन दर्ता र सुनवाई, अभियोग पत्र दर्ता र थुनछेक आदेश, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिमको निवेदनउपर सुनवाई, बालबालिका अभिभावक जिम्मा लागउने निवेदन उपर सुनुवाई, म्याद थप सम्बन्धी कार्य, पक्राउ अनुमति सम्बन्धी कार्य, जरुरी पक्राउ पूर्जी सदर सम्बन्धी कार्य, प्रहरीद्वारा पक्राउ परी आएका फरार प्रतिवादीको थुनछेक सम्बन्धी कार्य मात्र हुँदै आएको थियो ।

लकडाउन खुकुलो भएसँगै जेठ २५ गतेदेखि चालु मुद्दाको मिलापत्र सम्बन्धी कार्य, बन्दाबन्दी अघि नै कसुर ठहर भईसकेका मुद्दाहरूको सजाय निर्धारण, विशेष प्रकृतिका निवेदन अन्तर्गतका अधिकृत वारेसनामा प्रमाणित गर्ने कार्य, मृत्युको न्यायिक घोषणा सम्बन्धी कार्य र संरक्षक नियुक्ति गर्ने कार्य मात्र भइरहेको अदालतले जनाएको छ ।

मङ्गलबार, ०२ असार, २०७७, साँझको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर