ताप्लेजुङ । कात्तिक महिनामा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको छ । समितिका अनुसार कात्तिक महिनामा भक्तजनहरूले मन्दिरमा ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका हुन् । अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि यो महिना वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्मको सङ्लकन गरी फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैंकमा जम्मा गर्ने प्रचलन रहेको छ ।

