विराटनगर । खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले लकडाउनबाट प्रभावित विद्यार्थी र मजदुरलाई राहत वितरण गरेको छ ।
साढे २ महिनादेखि जारी लकडाउनका कारण खोटाङ घर भई विराटनगरमा अध्ययनका क्रममा बसोबास गर्ने विद्यार्थी र मजदुरलाई मञ्चले आज राहत वितरण गरेको हो ।
प्रतिव्यक्ति १५ किलो चामल, २ किलो आलु, १ लिटर तेल, १ किलो दाल र एउटा साबुन वितरण गरिएको मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले जानकारी दिनुभयो । “लकडाउनका कारण खोटाङ घर जान नपाएका विद्यार्थी र डेरामा बस्ने मजदुरलाई थोरै भए पनि सहयोग पुगोस् भनेर राहत वितरण गरेका हौं,” अध्यक्ष मार्सेलीले भन्नुभयो ।
मञ्चका सल्लाहकार महेश रेग्मी, गोपाल खटवाल, विमला घिमिरे, अध्यक्ष मार्सेली, सचिव घनश्याम पोखरेललगायतले राहत वितरण गर्नुभएको थियो । मञ्चमा आबद्ध सदस्य र सल्लाहकारहरुको सहयोगमा ५० जनालाई राहत वितरण गरिएको मञ्चका सचिवसमेत रहेका राहत वितरण समितिका संयोजक पोखरेलले बताउनुभयो ।