विराटनगर । मोरङ जिल्लाका दुई नगरपालिका कृषकलाई लक्षित गर्दै विभिन्न सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
जिल्लाका दक्षिणी क्षेत्रकारतुवामाई र सुनवर्षीले किसानको आर्थिक भार कम गर्दै कृषि उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले सिँचाइ र विद्युतको बिल तिर्ने व्यवस्था मिलाएका छन् । विगत तीन वर्षदेखि सञ्चालन भइरहेको यो योजनाबाट किसान प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।
रतुवामाई नगरपालिकाले हालसम्म ३,२३६ कृषक परिवारलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई पानी तान्ने मोटर उपलब्ध गराइरहेको छ । सिँचाइ सुविधा सहज रूपमा प्राप्त भएपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।
बिजुलीको बिल तिर्न नगरपालिकाले निश्चित मापदण्ड तोकेको छ । जसअनुसार प्रत्येक कृषकका लागि वार्षिक ६ हजार रूपैयाँसम्मको बिजुली खर्च नगरपालिकाले ब्यहोर्छ । सोभन्दा बढी खर्च भएमा किसान स्वयंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाका प्रवक्ता समेत रहेकि तथा लेखा अधिकृत नीता सिग्देलका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले ५६ लाख रूपैयाँ बिजुली बिल तिरेको थियो भने चालु आर्थिक वर्षमा हालसम्म १५ लाख रूपैयाँ भुक्तानी भइसकेको छ । उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म यो रकम ६० लाख रूपैयाँ हाराहारी पुग्ने अनुमान छ ।
नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई दुई किस्तामा बिजुलीको बिल तिर्ने व्यवस्था गरेको छ । नगरपालिकाका प्राविधिक सहायक सञ्जु आचार्यका अनुसार सिँचाइ सुविधासँगै कृषि उत्पादन वृद्धि भएको छ । यद्यपि, हालसम्म उत्पादन वृद्धिको औपचारिक तथ्यांक संकलन नगरिएको उनले बताइन् ।
‘हामी आर्थिक वर्षको अन्त्यसम्ममा तथ्यांक निकाल्नेछौं । तर, किसानहरूसँगको कुराकानीमा उनीहरूले उत्पादन बढेको बताएका छन’, उनले भनिन् ।
यसैगरी, सुनवर्षी नगरपालिकाले पनि कृषकहरूलाई विभिन्न कृषि सहुलियत प्रदान गर्दै आएको छ । सुनवर्षी नगरपालिका–५ का कृषक उमेश माझीले नगरपालिकाले पानी तान्ने मोटर अनुदानमा उपलब्ध गराएपछि आफ्नो खेतमा सिँचाइ गर्न सहज भएको बताए । उनले एक बिघामा मकै र दुई बिघामा धान खेती गरेको बताए ।
‘पहिले पानीको अभावमा खेती गर्न कठिनाइ थियो । तर, अहिले पर्याप्त पानी पाएपछि उत्पादन राम्रो भएको छ’, उनले भने।
अर्का किसान विषनलाल सिंहका अनुसार यस योजनाले कृषकहरूको जीवनस्तरमा प्रत्यक्ष असर पारेको छ । ‘पहिले बिजुलीको मिटर हेर्दै सिँचाइ गर्नुपथ्र्याे । अहिले पर्याप्त पानी उपलब्ध भएपछि उत्पादन पनि बढेको छ’, उनले भने ।
गत वर्षको तुलनामा उनको ३० मन मकै बढी उत्पादन भएको छ । ‘अब सरकारले समयमै रासायनिक मल उपलब्ध गराए, हाम्रो उत्पादन झन् बढ्नेछ’, उनले थपे ।स्थानीय सरकारले कृषकहरूको आर्थिक भार कम गर्न कृषि क्षेत्रमा प्रयोग हुने बिजुलीको बिल तिर्ने निर्णय गरेपछि किसानहरू ढुक्क भएर खेती गर्न थालेका छन् । किसान विजय नाथ सिंह भन्छन्, ‘पहिले महँगो बिजुली बिल तिर्दा हाम्रो आम्दानीमा असर परेको थियो । अहिले भने हामी सहज रूपमा खेती गर्न सकिरहेका छौं । यो योजनाले हाम्रो लागि ठूलो राहत दिएको छ ।’
नगरपालिकाका प्रमुख श्यामप्रसाद राजशीले यो योजना किसानहरूको आर्थिक अवस्था सुधार्दै कृषि उत्पादनमा वृद्धि गर्न दीर्घकालीन सोचसहित अघि बढाइएको बताए । ‘यो केवल आर्थिक सहायता मात्र होइन । किसानहरूको जीवनस्तर सुधार्ने महत्वपूर्ण योजना हो’, उनले भने । नगरपालिकाले यो योजना लागू गर्न विस्तृत कार्ययोजना बनाएको छ ।
सुनवर्षी नगरपालिकामा ८ हजार ३८० हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमा ८ हजार ८५८ कृषक लाभान्वित भएका छन् । नगरपालिकाले ७ हजार ११०हेक्टर क्षेत्रमा सिँचाइको व्यवस्था मिलाएको छ । स्थानीय सरकारको यो पहलले किसानहरूलाई थप प्रोत्साहित गरेको छ ।कृषि क्षेत्रमा सिँचाइको सुविधा भएपछि यी पालिकाका कृषकहरूले बर्खे र चैते धान, हाइब्रिड मकै, उन्नत गहुँ, तरकारी, फलफूल, तेलहन तथा जुट खेतीमा आकर्षण बढाएका छन् ।
यस योजनाले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्दै किसानहरूको आर्थिक उन्नतीमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नगरपालिकाले किसानलाई प्रत्यक्ष रूपमा सहुलियत उपलब्ध गराएपछि उनीहरूको आत्मनिर्भरता बढेको छ। ‘हामी पहिले पानीको अभावमा खेती गर्न डराउँथ्यौं, अहिले भने ढुक्क भएर खेती गर्न सकिरहेका छौँ’, एक अर्का किसानले भने ।
यस योजनाले सिँचाइको अभावमा बाँझो रहेका जमिनलाई पुनः खेतीयोग्य बनाएको छ । बेमौसमी खेती गर्ने कृषकहरूको संख्या पनि वृद्धि भएको नगरपालिकाले जनाएको छ ।
रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले एम्बुलेन्स, शव बहान र स्काभेटर निःशुल्क गरिदिने गरेको बताए । उनले नगरपालिकामा आफूले समाजवादी कार्यक्रम लागू गरेको बताए