काले दमाई नाटकको अध्ययन अवलोकन

 रामसागर अधिकारी

आमा स्व. लीलादेवी दुलालका ७ भाइ छोरामध्ये अन्तरे (पाँचौं) र बाबु स्व. सनमान दुलालका १३ भाइ छोरामध्ये काल्तारे (एघारौं) पुत्ररत्नको रुपमा वि. स. २०२६ सालमा पाँचथर जिल्लाको लुङरुपा–२ नागीनमा जन्मिएका डा. देवी दुलाल क्षेत्रीले टि. यू. बाट राजनीतिशास्त्रमा विद्या–वारिधि गरी केहि समय प्राध्यापन पेशा गरे–पश्चात् साहित्य साधनामा समय खर्चिरहनु भएको छ। रम्भादेवीसँग दाम्पत्य जीवनमा बाँधिएर एक छोरा र एक

छोरी समेत २ सन्तानको बाबु बनेका साहित्यकार दुलाल इलाम बजारको बाह्रबस्ती भन्ने ठाउँमा सपरिवार स्थाइ बसोबास गर्छन् भन्ने सुनेको छुु ।
२६ वर्षकै उमेरमा साहस (नाटक –२०५१) प्रकाशित गरेर प्रकाशनको ढोका खोलेका दुलाल ज्यू का सेता परेवा (एकाङ्की नाटक संग्रह –२०५५), रङ्गधोजी (उपन्यास– २०६०), नाटक अनाटक (२०६६),विकासको जरा इलाम (२०६६), नेपाली छापामा राजनीतिक प्रभाव (२०६७) रत्न बान्तवाका दुर्लभ सिर्जना र समालोचना (२०६७) , राजनेता डा. बाबुराम भट्टराई (२०६८), पाँचथरको इतिहास भाग १ (२०६८), आफ्नै क्यानभासमा मेरो वाल्यकाल (२०७०), म मरेको रात र बाँचेका दिनहरू (कविता संग्रह–२०६९), इलामको चिया पर्यटन (२०७१), पाथीभरा (कथोपन्यास –२०७२), घर फर्क (उपन्यास –२०७३), काजीमान कन्दङ्वा र विष्णु नविनको कथाकारिता –(समालोचना २०७४), सुदुर–पूर्वका नाटककार र नाटक (समालोचना –२०७५), र काले दमाई (नाटक २०७६) समेत करिब डेढ दर्जन मौलिक कृति प्रकाशित गरिसकेका देवी दुलाल ज्यु का अन्य गहन कृतिहरू प्रकाशोन्मुख रहेका छन् ।

मेरो प्रकाशोन्मुख समालोचना संग्रहमा सबै विधालाई समेटूँ भन्ने इच्छाले नाटक विधाका पाँचथरकै स्रष्टाका कृति खोजीगर्ने क्रममा अग्रज साहित्यकार प्रेम ओझा सरसँग कुरा राख्दा “बडो राम्रो कुरा आयो, म पाँचथरे स्रष्टाकै चारवटा नाटकका किताब पठाइदिने कोसिस गर्छु” भन्नुभएको थियो । नभन्दै वि. स. २०७८–६–२ मा स्रष्टा मधु केरूङ मार्फत विराटनगरको विष्णुमाया पुस्तकालयको कार्यक्रममा प्राप्त भएका नाटकका चारवटा किताबमध्ये काले दमाईलाई पहिलो प्रााथमिकतामा राखेर संरचनागत समालोचना लेख्ने जमर्को गरेको छु ।

पोथीको नाम भएका यी भाले स्रष्टा सम्पादकसमेत हुनुहुन्छ । उहाँले चारखोल साप्ताहिक (इलाम– २०५३), अप्रेशन साप्ताहिक (पाँचथर–२०५६), आँखा साप्ताहिक (इलाम) र आँखा त्रैमासिक (इलाम) जस्ता पत्रपत्रिकाको सम्पादनसमेत गरिसक्नु भएको छ भने डा. दुलाल समालोचना–लेखनमा पनि खप्पिस हुनुहुन्छ । यस्ता बहुमुखी प्रतिभाका–धनी दुलालको कृतिको समालोचना लेख्न जाँगर चलाएको छु, मेरो ब्रह्म र बौद्धिकताले भ्याएसम्म पूरै मेहनत गरेको छु ।

नाटक साहित्य कहिले कहाँबाट सुरु भयो ? भन्ने प्रश्नको उत्तर खोज अनुसन्धान मै रहेको छ । यहाँ डाक्टरहरूलाई यस विषयमा थाहा छैन, म विद्यार्थीलाई कसरी थाहा होस् ? म यति चैं किटानसाथ भन्न सक्छु कि– साहित्यका पाठ्य, श्रव्य र दृश्य रुपमध्ये नाटक साहित्यको पहिलो दृश्य स्वरुप हो । कम्प्युटर अथवा विद्युतीय माध्यमको प्रयोग बिना पनि मानिसले सोझै अभिनय गरेर मञ्चन गरिइने विधा हो नाटक ।
सन् १५४६ को अप्रिल २३ मा जन्मिएर, सन १६१६ को अप्रिल २३ कै दिन देह त्याग गरेका बेलायती नागरिक विलियम शेक्सपियरलाई विश्वकै महान् नाटककार मानिन्छ भने वालकृष्ण शमलाई नेपालको नाट्य–सम्राट–को–उपाधि दिइएको छ । यो पंतिकार पनि नाटकमा रुचि भएकै व्यक्ति हो तर प्रतिकुल परिस्थिति (सुकुमार÷एक्लो) को कारण नाटक र उपन्यास लेखनमा हात हालेको छैन ।

नाटक विधामा प्रायः असल र खराब पात्रलाई दाँज्दै लगेर असलको (सत्यको) जीत पारेर टुङ्ग्याउने गरिन्छ । सिनेमामा मानिसको तस्वीर हेरेको भन्दा नाटकमा मानिसको भौतिक अभिनय हेर्नुमा अर्कै मज्जा रहन्छ । नाटक हेरेर शिक्षित,साक्षर र निरक्षर सबैखाले दर्शकले रसास्वादन गर्न सक्छन्÷पाउँछन् । ऐतिहासिक, धार्मिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, साम्प्रदायिकलगायत विविध विषयवस्तुमा नाटक लेख्न सकिन्छ तर मञ्चमा अभिनय गर्न–योग्य हुनूपर्ने भएको कारण नाटक लेख्न त्यति सजिलो हुँदैन । कविता विधा जस्तै नाटक विधा पनि पुरानो , प्रभावकारी र सदावहार विधा भएता पनि नाटक र हास्यब्यङ्ग्य निबन्ध विधा लेखन–लोप–उन्मुख हुँदैछ ।

आवरण पृष्ठ बाहेक जम्मा ६४ पृष्ठ रहेको यो पुस्तकसँग सम्बन्धित विविध विषयवस्तुले १६ पृष्ठ ओगटेको छ र नाटकीय विषयवस्तुलाई ४८ पृष्ठमा समेटिएको छ ।आफ्नै पूर्णाङ्गीनी रम्भालाई समर्पण गरिएको यस पुस्तकको सम्बन्धमा तीलविक्रम नेम्वाङ (वैरागी काइँला) र डा. गोविन्दराज भट्टराईले मन्तब्य राख्नुभएको छ । नाटककारले यस कृतिको रचनागर्भको बारेमा आफ्ना कुराहरू पनि राख्नुभएको छ ।
जम्मा ६ अंक र २१ दृश्य रहेको यो ऐतिहासिक नाटकको मुख्य पात्र (नायक) भनेको काले दमाई हो ।

काले दमाईका तीनवटी श्रीमती, छोरा, गाउँको मुखिया, कालेको समाजसेवी एवं परोपकारी काम गर्न सहयोग गर्ने कर्मी, इलाम गौंडाका बडाहाकिम, नाङरुङको कार्की साहु, तत्कालीन प्रधानमन्त्री जुद्धशम्सेर र केहि बेनामी पात्रहरू रहेका भएपनि सबै पात्रहरू कालेकै पक्षमा देखिन्छन् भने कार्की साहु चैं प्रतिद्वन्द्वीको रुपमा देखापर्छ तर उ खराब पात्र हो, सेलाउँछ, हार खान्छ र अस्ताउँछ ।

हुन त नाटक विधामा पहिलोचोटि यो समालोचना लेख्दैछु र पनि सकेसम्म अब्बल बनाउने धेय रहेको छ । अरुको कृति पढेर त्यसको विधागत मापदण्ड जाँच्नु , गुण÷दोष देखाउनु र राय सुझाव दिनु आफैंमा अप्ठेरो र अपजसे काम हो । तर कुनै दान–दक्षिणा, पारपाचुके, छलछाम र मपाईंत्वको हैंजाले ग्रसित नबनिकन निःसर्त, निःस्वार्थ एवं कर्तब्यनिष्ठ भएर भाषा साहित्यमार्फत गाउँसमाज र देशको सेवा गर्ने प्रण गरेपछि कुनै अप्ठेरो महसुस हुँदैन । अब यो नाटकको प्रत्येक दृश्यको सारसंक्षेप खिच्ने प्रयास गर्दैछु ।

अंक १ को दृश्य १ मा काले दमाईले आफ्नो घरमा आएका मुखिया बा को टोपी मर्मत गरिदिन्छ भने दृष्य २ मा–काले दमाई एकान्तमा बसेर समाजसेवाको कार्यमा लाग्ने दृढ अठोट गर्दै भावी योजनाहरूको बारेमा सोचमग्न बन्छ ।अंक २ को दृश्य १ मा–माईखोलाको त्रिवेणी मेलाभर्न हिंडेको काले दमाई इलाम साङरुम्बाको ओरालोमा रहेको चौतारोको छहारीमा बसेको हुन्छ, त्यै बेला दुईवटा तुना छिनेको चोली लगाएकी युवती आइपुग्छे, उसको चोलीको तुना लगाइदिइसक्दा एकजना घुँडा फाटेको सुरुवाल लगाएको बटुवा आइपुग्छ र उसको पनि सुरुवालको घुँडा टालिदिन्छ तर केहि लिंदैन । दृश्य २ मा–इलाम जीतपुरको नवमीस्थित आफ्नै घरको सिकुवामा बसेर कपडा सिलाउँदै हुन्छ–त्यै बिहान उसका बालीघरेहरूले आ–आफ्नो बाली (वर्षभरि कपडा सिलाए वापत दिइने वस्तु) बापतको खाद्यान्न ल्याएर काले दमाईको ढुकुटीमा खन्याउँदै हुन्छन्, त्यतिखेर मुखिया बा आउँछ र कालेको पौरख र भावी कार्य–योजनाको बारेमा सामान्य कुराकानी चल्छ, मुखियाले कालेको जोशमा जोश नै थपिदिन्छ ।

दृश्य ३ मा– इलाम गौंडाको बडाहाकिम हर्कजंग थापाको निवासमा विशेषतः त्यहिं आसपासका धनीमनीहरूको भेला गरिएको हुन्छ । ठूलो अनिकाल परेको हुँदा सरकारका कर्मचारी पाल्न जनसहयोग माग्ने उदेश्यले डाकिएको उक्त भेलामा विभिन्न व्यक्तिले सरकारलाई गर्ने स्वैच्छिक–सहयोगको घोषणा गर्छन् । अन्तिममा उहि काले दमाईले उक्त हाकिम मातहतका कर्मचारीलाई १ वर्षको लागि खाद्यान्न सहयोग गर्ने घोषणा गर्छ –जो त्यहाँ घोषणा गरिएका सहयोगमध्ये सबैभन्दा बेसी हो ।

दृश्य ४ मा–काले दमाईलाई इलामको नाङरुङ स्थित कार्की साहुको घरमा ल्याउन लगाइएको हुन्छ । सरकारलाई सबैभन्दा बेसी सहयोग गरेर कार्की साहुको मानमर्दन भयो भन्ने रिसले भौतिक कारवाही गर्ने षडयन्त्रसमेत हुन्छ तर काले दमाई चलाख र सत्यमा अडिग रहनाले कसैको आँट पुग्दैन, त्यसैले गालीगलौज र हप्कीदप्की गरेर पठाउँछन् ।

अंक ३ को दृश्य १ मा– वि. स. १९८५ सालको सुरुमै इलाम लक्ष्मीपुरको थाक्ले डाँडामा काले दमाईले पाटी (धर्मशाला) बनाउन सुरु गरेको दृश्य देखाइन्छ भने दृश्य २ मा– वि.स. १९८५ सालको अन्त्यतिर काले दमाईले उक्त धर्मशाला निर्माण गराइसकेर विधि–विधानले पाठपूजा गरी भव्य कार्यक्रको साथ लोकार्पण गरेको दृश्य देखाइन्छ । त्यस्तै दृश्य ३ मा– वि.स.१९८७ सालमा इलाम गौंडाको तल्तिर तिल्केनी गाउँमा विशाल पाटी (धर्मशाला) बनाएर सभ्य एवं भब्य कार्य्रक्रमको साथ लोकार्पण गरिएको

दृश्य देखाइन्छ र आउँदो साल इलाम गौंडा र साङरुम्बा जोड्न पुवामाई (पुवाखोला) मा साँघु (झोलुङ्गे पुल) हाल्ने योजना रहेको कुरा बताइन्छ ।अंक ४ को दृश्य १ मा– तिनै नाङरुङका कार्की लगायतका फटाहाहरूलाई काले दमाईले गरेका राम्रा काम देखी इष्र्या लागेर फसाउनका लागि तत्कालीन प्रधानमन्त्री जुद्धशम्सेर समक्ष काले दमाईको विरुद्ध झूठा झोसपोल गरेर “काले दमाईले राणा शासनको विरुद्ध गतिविधि गर्दैछ” भनेको हुँदा त्यो विषयमा सफाई लिन १ महिनाभित्रैमा जुद्धशम्सेरलाई भेट्न जानैपर्ने उर्दी दिन दुईटा पुलिस आएर खबर दिएर जान्छन् । तब काले दमाईले जुद्धशम्सेरलाई भेट्न जाने र पशुपतिनाथको दर्शन पनि गर्ने अठोट गर्छ ।

दृश्य २ मा–काले दमाई श्रीमतीहरूलाई अह्राईखटाई गरेर ३ जना भरिया साथी समेत लिएर काठमाण्डौंको यात्रामा निस्कन्छ । पाँचौं दिनमा खोटाङ्गको हलेसी महादेवको दर्शन गर्छ र सिद्धिशक्ति माग्छ । दसौं दिनमा काभ्रे जिल्लाको साँगा भञ्ज्याङ्ग पुग्छ र सोधखोज गर्दै काठमाण्डौं छिरेर पशुपति परिसरकै सत्तल पाटीमा बास बस्छ ।

एघारौं दिनको बिहानै बागमतीमा नुहाएर पशुपतिनाथको दर्शन गर्छन् र मनोरथ पूर्ण गरिदेऊ भन्ने शक्ति मागेर जुद्धशम्सेरलाई भेट्नेतर्फ लाग्छन् । दृश्य ३ मा–जुद्धशम्सेरलाई भेटेर–आफूले गरेको काम र गर्न चाहेको बाँकी कामको सम्बन्धमा सहिसत्य कुरा बहादुरीको साथ सुनाउँछ, जुद्धशम्सेरले विस्वास गरेपछि जुद्धशम्सेरलाई कोसेलीको रुपमा हाते–खाँडीको एउटा टोपी टक्र्याउँछ र जुद्धशम्सेरले पनि सिधा–दानसमेत दिएर, पुवामाईमा पुल हाल्ने अनुमतिपत्र लेखाएर निशाना छापसमेत ठोकेर कालेलाई दिएपछि खुशीले गद–गद हुँदै बाटो लाग्छन् । दृश्य ४ मा– काले दमाई घर–छोडेको २९ औं दिनको साँझमा घर–आइपुग्छ । उसका तीनवटी श्रीमती, छोराछोरी खुबै खुशी हुन्छन् । सबैले कुरा बुझेपछि एकक्षण श्री ३ सरकार को जय– जयकार गर्छन् ।

अंक ५ को दृश्य १ मा–काले दमाईले पुवाखोलामा झोलुङ्गे पुल बनाउने सम्बन्धमा आन्तरिक छलफल गर्न खातिर ठेकेदार, जानकार, कामदारलगायत शुभचिन्तकलाई आफ्नो आँगनमा भेला पारेर ३ सरकारले आफूलाई पुल बनाउन दिएको अनुमति–पत्रसमेत सार्वजनिक गर्छ र भोलिपल्टै २२ जना युवा जमात लिएर लठ्ठा लिन उ आफैं मुग्लान (भारत) जाने र यता ठेकेदारले पुल हाल्नको लागि वारिपारि ढीप बनाउने सहमति भएर भेला बिसर्जन हुन्छ ।

दृश्य २ मा–पुलको ढीप बनाइसकेर साँझपख मुख्य कर्मीले ढुङ्गामाथि बसेर “काले दमाई लठ्ठा लिन गएको आज २० दिन भैसक्यो, भोलिको घामभरिमै आइपुग्छ” भन्ने प्रतिक्षाको कुरा गरेर भान्साको काममा लाग्छ । दृश्य ३ मा काले दमाईले घर छोडेको २१ औं दिनको बिहानै लठ्ठा लिएर पुल हाल्ने ठाउँमा सकुसल आइपुग्छन–त्यो बेला सबै हर्षित हुन्छन् । दृश्य ४ मा– वि. स. १९९० सालको चैत अन्त्यतिर पुवा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम सिध्याउँछन् र त्यसको ७ दिन भित्रमा इलाम गौंडाको बडाहाकिमलाई पुलमा वारपार गराएर पुलको उदघाटन गर्ने निश्चय भएको कुरा बताउँछन् । दृश्य ५ मा–वि. स. १९९१ सालको वैशाख १ गते इलाम गौंडाका बडाहाकिम नेत्रजंग थापालाई पुलमा वारपार गराएर पुलको उदघाटन गर्ने तयारी हुन्छ तर बडाहाकिमले पनि हर्षको साथ काले दमाईलाई पनि सँगै लिएर पुलमा वारपार गर्छन् । उक्त कार्यक्रम वैद्धिक विधि–विधान अनुसार सभ्य र भव्य रुपमा, खानपिन, गाना–बजानासहित सफल भएको प्रसङ्ग रोचक एवं मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

अंक ६ को दृश्य १ मा–काले दमाई अस्वस्थ भएर थला परेको हुन्छ, आफू अब नबाँच्ने ठहर गरेर श्रीमती र छोराछोरीहरूलाई अर्तीउपदेश दिने, सम्झाउने÷सम्झिने काम गर्छ भने दृश्य २ मा–थला परेको २९ औं दिनको साँझ टरेपछि झारफुक गर्नलाई धेरै मानिसको माझमा टोटला– झाँक्री तमासले चिन्ता बस्छ र जोखना हेर्छ, तर काले दमाई नबाँच्ने देखेपछि त्यै कुरा फलाक्दै बाहिरिन्छ, रमिते पनि जान्छन्, तब काले दमाईको होसचेत हराउँछ । दृश्य ३ मा–काले दमाईको होसचेत हराएको पर्सिपल्ट बिहानपख प्राण–पखेरु उड्छ र आफ्नो परम्परा अनुसार दाहसंस्कार गरिदिन्छन् । वि.स. १९९७ साल मंसिरमा भएको यो घटनाको कारुणिक दृश्यसँगै यो नाटक समाप्त हुन्छ ।

अब धर्म–संकटतिर लाग्दा  :

(क) इतिहासको–चिहानमा विलय भैसकेको यथार्थ घटनालाई उत्खनन गरेर अस्थीपञ्जरमा रगतमासु भरेर प्राण चढाएर जीवित पारिएको यो “काले दमाई” भन्ने ऐतिहासिक नाटकलाई–नाटककार दुलालको मात्र नभएर नेपाली नाट्य –जगतकै अब्बल, उपयुक्त एवं स्तुत्य कृति–मान्नूपर्छ ।

(ख) सामाजिक यथार्थवादको आवरणमा प्रगतिशीलताको ढुकढुकी र प्रगतिवादको सञ्चार भएको यो नाटकभित्र वीर रस र करुण रसको समिश्रणले सुनमा सुगन्ध भरेको छ ।

(ग) यो पुस्तकको भौतिक एवं बौद्धिक पाटोमा खुनखोट लगाउने ठाउँ छैन भने कलापक्षको मिलानभन्दा भावपक्षको उडानमा तीब्रता रहेको पाइन्छ ।

(घ) करिब १२५ वर्षअघिको नेपालको पूर्वी पहाडको सामाजिक सोच संस्कारको चित्र बोकेको यो नाटकमा विगतलाई पढेर, वर्तमानलाई बुझेर, भविष्यको बारेमा सोचेर समाज रुपान्तरणमा लाग्न आम–पाठकलाई जागरुक पार्ने उदेश्य निहित रहेको छ भन्दा फरक पर्दैन ।
(ङ) यस नाटकको नायक काले दमाईले–“जहाँ इच्छा त्यहाँ उपाय”, “नडराई चुनौतीको सामना गर्नुपर्छ”, “ढिलो–छिटो मात्रै हो, सत्यकै विजय हुन्छ” भन्ने उखानलाई सत्य सावित गरिदिएको छ भने मानव भएर जन्मिएपछि केवल आफ्नो स्वार्थपूर्तीको खातिर अन्धा नबनिकन गाउँसमाज र देश दुनियाँको भलाइको लागि केहि राम्रा काम पनि गर्नुपर्छ भन्ने गहन एवं देशभक्ति–भावपूर्ण सन्देश दिएको छ ।
(च) सरलताभित्र जटिलता राखेर लेखिएको यो ऐतिहासिक,

सामाजिक यथार्थवादी एवं प्रगतिवादी नाटक भाव सन्देश एवं परिवेश–पूर्ण छ, पठनीय र संग्रहणीय छ ।

(छ) राजनीति–शास्त्रको विद्यार्थी भएर साहित्यिक यात्रामा लागेको भएपनि सरल शब्द, कोमल वाक्य एवं लालित्यमय भाषाको प्रयोगले अध्ययनमा व्यापकता, लेखनमा मौलिकता, कलामा संयमता, भावमा गम्भीरता र सन्देशमा उच्चता रहेको पाइन्छ–जो बन्दनीय रहेको छ ।

(ज) यसभित्र बौद्धिक–अहम्ताको–दुर्गन्ध पाईंदैन, बरु मौलिक–प्रचुरताको सुगन्ध पाइन्छ भने पाश्चात्य यौनजन्य विकृतिलाई कहिं कतै प्रश्रय दिइएको छैन–यसलाई अपनत्व एवं उज्यालो–पक्ष मान्नूपर्छ ।

(झ) यो कृति र कृतिकारसमेत भौतिक रुपमा सानो कदका भएपनि बौद्धिक रुपमा विराट–स्वरुपका देखिएका छन् । स्वार्थ र संकीर्णता भन्दा माथि उठेर आमूल परिवर्तन र अग्रगमनको पक्षमा निडर एवं प्रखर रुपमा कलम चलाउने दुलाल सक्षम सर्जक हुन्–भन्ने कुरा आफैं प्रष्टिएको छ ।
(ञ) साहित्यकार प्रेम ओझाको ‘आत्मसमर्पण’ कथा संग्रहमा जस्तै यस नाटकभित्र आएको लिम्बुवानको थेगोले मौलिकतामा मलजल थपेको छ ।
(ट) यो नाटकलाई एउटा मञ्चमा अभिनय गरेर देखाउन निकै अप्ठेरो छ । बरु घटना–विवरणसहित उपन्यासको रुपमा लेखिएको भए अझै प्रभावकारी बन्थ्यो ।

(ठ) सुद्धासुद्धिमा कसरत पुगेको छैन भने किताबको रुपरेखा अनुसार रु. २५० मूल्य बहुत चर्को भयो, रु. १०० मात्र राखिएको भए मनासिव हुन्थ्यो ।

(ड) यो नाटकमा महिला (नायिका) को खासै उपस्थिति र द्वन्द्व रहेको छैन–जो नाटकमा आवश्यकसमेत परेन तर पनि यो नाटकलाई ‘पुरुष–प्रधान’ भन्न मिल्छ ।

(ढ) यो नाटकको लेखकीयमा काले दमाईको जन्म वि. स. १९२८ सालमा भएको भनिएको छ तर अन्त्यमा (अंक ६ को दृश्य ३ मा) उ जीवनको ६० औं वसन्त जीएर वि.स. १९९७ साल मंसिरमा मर्यो भनेर पनि प्रष्ट लेखिएको छ । यसबाट आयुमै ९ वर्षको गडबड भएको देखिन्छ भने लेखकीयमा–वि. स. १९९३ सालमा पुवाखोलामा पुल बनाए भनिएको छ तर अंक ५ को दृश्य ४ मा– वि.स. १९९० साल चैतको मध्यतिर पुल बनाउन सुरु गरे । दृश्य ५ मा– वि. स. १९९१ सालको वैशाख १ गते पुलको उदघाटन गरेको भनेर लेखिएको छ–यहाँ पनि घटना क्रममा ३ वर्ष फरक परेको देखिन्छ –यसबाट यो कृति र कृतिकारमाथि नै अनेकौं प्रश्न , शंका र संकोच पैदा भएको छ भने कृतिको विस्वासनीयतामाथिसमेत गम्भीर आघात पुगेको छ । यस विषयमा नाटककारको ध्यान जान जरुरी छ ।

(ण) अन्त्यमा, मानवताको धरातलमा रहेर समाज सेवा लगायत विकास निर्माणमा लाग्न प्रेरणादायी ‘काले दमाई’ (पूर्णाङ्की नाटक) को रचनाकार डा. देवी दुलाल क्षेत्री ज्यु को सुस्वास्थ्य , दीर्घायु, उत्तरोत्तर प्रगति एवं निरन्तर साहित्यिक लेखनको शुभकामना व्यक्त गर्दै यो समालोचनालाई टुङ्ग्याएँ । धन्यवाद ! जय नाटक

शुक्रबार, २३ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर