विमल लामिछाने
झापालाई मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रान्तिकारीहरुको उर्जास्थल भनेर चिनिन्छ । २०२८ सालको झापा विद्रोहले यसलाई थप मुखरित गरेको छ । नेपालको राजनीतिक इतिहासको सताब्दीलाई हेर्ने हो भने पश्चिमको रुकुम र पूर्वको झापाले सिंगो नेपाली राजनीतिलाई तरङ्गित गर्न इपिसेन्टरको रुपमा भूमिका निर्वाह गरेको पाइन्छ ।
जब राजनीतिमा सत्ता परिवर्तनको दुष्चक्र घुम्न सुरु गर्छ, र जनताका उपलब्धिहरु संकटमा पर्ने खतराको साइरन बज्छ, तब मुलुक परिवर्तनका संवाहक नेतृत्वहरु कि पूर्वका जनताको माझमा कि पश्चिमका जनताको साथमा पुगेर नयाँ आन्दोलनको उद्घोष गर्ने गरेको देखिन्छ ।
यस्तै एउटा उद्घोष सात वर्षपछि झापा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । गत भदौ ३० गते आइतबार झापाका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने– ‘हामी सिंहकै बच्चा हो, तर भेडासँग संगत गरेपछि भ्या.. भ्या… गर्न पो थालेछौं, अब सच्चिने हो, आफ्नै असली रुपमा फर्किने हो, सिंहको गर्जन झापाबाट सुरु भयो । अब भेडा जस्तो नभइ सिंहजस्तो गर्जिन आवश्यक छ ।’ भनेपछि कार्यकर्ताको हुटिङ पाए । त्यसपछि प्रचण्डले लगतै अर्को आसय पनि व्यक्त गरे, त्यो आसय थियो, आगामी ०८४ को निर्वाचनमा आफू झापाबाट उठ्ने । झापाली जनताले उनको आसय आकांक्षामा परिणत भयो भने कसरी लेलान् त्यो ०८४ ले बताउला ।
यतिबेला माओवादी केन्द्र सरकार छाडेर जनताको माझामा पुगिरहेको छ । यतिमात्रै होइन, पछिल्ला घटनाक्रमले एकता संघर्ष, रूपान्तरण, टुटफुट र झै–झगडा आदिको सामना गर्दै आइरहेको माओवादी आन्दोलन र पार्टी कर्तव्यविमुढताको सिकार हुनबाट जोगिन निकै संघर्षरत देखिँदै आएको संकेत गरेको छ ।
सैन्य उर्जाले ओतप्रोत लाल कार्यकर्ता र राजनीतिक चेतनाले निपूर्ण जनताको साथ र समर्थनमा परिवर्तनको संवाहक बनेर निरंकुशताको छात्तीमा समाएर झड्कार्दै सिंहासनबाट गलहत्याउन सफल भएको माओवादी पंक्तिले कार्यकर्ता जोगाउन गम्भीर प्रयत्न नगर्नु नै पछिपर्नुको एउटा महत्वपूर्ण कारण हो भन्न सकिन्छ । नौ लाख कार्यकर्ता संगठित रहेको माओवादी पार्टीले अपेक्षाकृत मत हाँसिल गर्न नसक्नुले पनि यसको थप प्रमाण थियो ।यसको अलावा केन्द्रमा हल्ला–खल्ला र दबदबा सिर्जना गर्न सक्ने हैसियत राख्ने माओवादीको स्थानीयता कमजोर छ भनेर परिणामहरूले देखाएकै छन् । पार्टीले आफ्नो हैसियत, इतिहास र वर्तमानको सामाजिक चेतसमेतलाई स्वीकार गरेर सुदृढीकरण तथा रूपान्तरण अभियानसमेत यसअघि चलाएको होला भनेर बुझ्न गाह्रो छैन ।
तथापि संगठनको केन्द्रीय तह र स्थानीय तहमा तादात्म्यता मिलाउन माओवादीलाई अहिलेपनि निकै सकस परेको छ । सामाजिक न्याय तथा व्यवस्था परिवर्तनका लागि भएको विद्रोह र संघर्षको नेतृत्व गरेर उदाएको पार्टीको आकार खुम्चिनुमा आफ्नै सीमा र कमजोरीले घर गरेको कुरा भर्खरै सम्पन्न केन्द्रीय र प्रदेशस्तरका भेला र बैठकहरुबाट पनि पुष्टी भइसकेकै विषय हो
संघर्ष र परिवर्तनको सफल नेतृत्वपछि २०६४ बाट निरन्तर सरकारमा रहँदै आएको माओवादीमा सबभन्दा खड्किएको विषय आफ्नो गर्विलो इतिहास, विचार, पृष्ठभूमि हुँदा र राज्यलाई उसको आवश्यक हुँदा समेत सशक्त संगठन निर्माण गर्न नसक्नु र कहिले एमालेसँग त कहिले कांग्रेससँग टाँसिएर दुई लाइनमा खुट्टा टेक्न खोज्नु अर्को ठूलो कमजोरी थियो ।
यतिबेला पुनः अभिमत सच्याइमाग्न जनताको माझ पुगेको छ । अध्यक्ष प्रचण्डले पनि पार्टीको मुख्य जड र जग कार्यकर्ता पंक्ति नै भएको स्वीकार्दै वर्गीय धरातल र जातीय, क्षेत्रीय स्वायत्तताको अवधारणमा अघि बढ्ने कुरामा कमी कमजारी भएको स्वीकार गर्दै अब समाजवादमा फड्को मार्न जनताको बल केन्द्रित गर्नुपर्ने दाहो¥याउँदै अब फेरि भेडा नहुने प्रण गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।
अब विगतका कमी कमजोरीहरु सच्याएर साँच्चै भेडाहरुको संगतमा भ्या.. भ्या.. गर्न छोडर आफ्नै असली रुप सिंह नै भएर गर्जिने प्रचण्डको उद्घोषलाई जनताले कति पत्याउलान त्यो दोस्रो र तेस्रो लियरका कार्यकर्ता जो जनतासँग प्रत्यक्ष गाँसिएका छन्, उनीहरुको व्यवहारमा आउने आचरण र शैलीमा पनि भर पर्दछ ।