विमल लामिछाने
पछिल्लो समय राजनीति अस्थिरमात्रै बन्दै गएको छैन, राजनीति दुर्गन्धित बनेर घिनाउँन पनि थालेको छ । राजनीतिक दलहरुप्रतिपनि वितिष्णा बढ्नुका साथै मान्छेले विश्वास गर्ने अवस्था अन्त्य हुँदै गएको छ । अर्थात मुलुकमा राजनीतिक रङ्गमा गन्ध आउँन थालेको छ ।
ठूला दलहरू सत्ता कसले हत्याउने, शक्तिमा को पुग्ने, कसले कसलाई शक्तिहीन र कसलाई शक्तिशाली बनाउने भन्ने खेलमा लागेका देखिन्छन् । साना दलहरू कतातिर लाग्दा सुरक्षित भइन्छ र सत्तामा पुगिन्छ भनेर दाउपेच हेरेर बसेका छन् । वरीपरीबाट माछालाई थापेको पासोमा परेको माछा जस्तो फुत्किन नसक्ने गरी जनतालाई पासोमा पार्ने दाउपेच र जालझेलका तानाबाबा बुन्ने हरुपनि उत्तीनै सक्रिय छन् । यसले अश्थिरताको राजनीति मौलाउन बल पुगेको देखिन्छ ।
अस्थिर राजनीति र सत्ता परिवर्तनको खेलमा रुमलिनु नै अहिलेको दैनिकी जस्तै भएको छ । अर्को अर्थमा अहिले भइरहेको राजनीतिक खेल हिजो नेतृत्वले गरेको प्रतिबद्धताको ठीक उल्टो हुँदै गएको छ । राजनीतिक सिद्धान्त र दस्तावेज एकातिर, कार्यशैली अर्काेतिर भएर बहकिँदा इमान र सिद्धान्तको राजनीति एकादेशको कथा भएको अनुभूति हुन्छ ।
परिवर्तनको चाह राख्ने अहिलेको पुस्तासामु सिद्धान्तबिनाको राजनीतिक खेल वर्तमान नेतृत्वहरुबाट हुनु भनेको पक्कै राम्रो होइन । यसबाट भावी पुस्ताले के सिक्ने ? कस्तो खालको सिकाइ लिने ? कुन अभ्यासको अनुसरण गर्ने ? जस्ता विषयहरु गम्भीर र पेचिलो बन्दै गएका छन् ।
हामी देख्न, बुझ्न र समीक्षा गर्न सक्छौँ, के अहिले मुलुकमा भइरहेको राजनीतिक अभ्यास सही दिशामा छ त ? राजनीतिक मूल्य–मान्यता र सिद्धान्तअनुसार राज्यको नेतृत्व गर्नेहरूले आफ्नो देशलाई कहाँ पु¥याइसके र हामी कहाँ छौँ ? जहाँ स्थिर खालको सरकार छ र नेतृत्वमा अनुशासन छ, ती देश आज कुन स्थानमा छन् र समाजमा वैज्ञानिक विकासको अभ्यास कस्तो हुन्छ भनेर अनुभूति समेत गर्न नपाएका हामी कुन स्थानमा छौँ । के यही गतिबाट मुलुक अबको आधा दशक बित्ने हो भने नेपालीहरुको भविश्य कतातिर जाला ? यो आम नागरिकले समीक्षा गर्नुपर्ने विषय बन्नुपर्छ ।
हामीकहाँ राजनीति गर्नका लागि वा जनप्रतिनिधि हुनका लागि कुनै योग्यता÷क्षमता चाहिँदैन, जनतामा पुगेको नपुगेको केही हेरिँदैन, सिर्फ पार्टीले टिकट दिए पुग्छ । जनताले पनि कष्ट गर्नु पर्दैन । कुन उम्मेदवारले कुन वर्गको पक्षपोषण गर्दैछ भन्नेपनि नछुट्याई जसलाई मन पर्छ, उसलाई भोट दिने चलन छ । हामीकहाँ त योग्य उम्मेदवारभन्दा पनि आफ्नो दलको हो कि होइन भन्नेमै मतदाता बढी केन्द्रित हुने गरेका छन् । यसैको परिणाम पनि हाम्रो देशको राजनीति अस्थिर बन्दै गएको हो । अस्थिरताको राजनीतिले मुलुकलाई निकास र विकास दुवै दिन सक्दैन ।
नेता र नेतृत्व भनेको त असल अविभावक जस्तै हुन आवश्यक छ । यदि अभिभावक राम्रो भएन भने घर बिग्रन्छ, परिवार र भावी पुस्ता नै अन्योलमा पर्छ । उसको नैतिक चरित्र राम्रो भएन भने देशको हालत के हुन्छ ? यसतर्फ अबको युवा पुस्ताले गम्भिर रुपमा बहस गर्नु आवश्यक छ ।
आम नागरिकले चाहेको सरले जीवन हो, जनताको पहुँचमा स्वास्थ्य, सर्वसुलभ तर गुणस्तरीय शिक्षा, रोजगार गरेर खान पाउने अधिकारको प्रत्याभूति, समय अनुसार आएको प्रविधिको प्रयोगमा समेत सेवा सुविधा उपयोग गर्न पाउने वातावरण । यी बाहेक जनताले केही चाहेको छैन । जनताका यी आधारभूत चाहना र आवश्यकतालाई राज्य सञ्चालनको बागडोर हातमा लिनेहरुले गम्भिरताका साथ मनन गर्न जरुरी छ । राजनीतिलाई दुर्घन्धित हुनबाट जोगाउनु युवा पुस्ताको दायित्व हो ।