देहाती नागरिकलाई परम्परागत सुख्खा तरकारीको भर

विराटनगर । वर्षायाममा तराईमा तरकारी उत्पादन घट्ने गरेको छ । तरकारी उत्पादन घटेसँगै तराकारीको मूल्य पनि अकासिँदै छ । तर देहातमा महिलाहरुले मौसम अनुसारको तरकारी र सागबाट परम्परागत रुपमा तयार पारिएका विभिन्न प्रकारको तरकारीको ब्यञ्जन बर्र्खायाममा भान्साको सहयोगी बन्ने गरेको छ । तराई मधेशका महिलाहरुले सुख्खायाममा स्वाद अनुसारको दालको पिठो बनाएर बनाउने सागको बिरिया, सुखौत, मुरौरी, तिसियौरी, अदौरीलगायतका व्यंजन वर्षायाममा भान्सामा तरकारीको विकल्प हुन्छन् ।

बजारमा तरकारीको मूल्य आकासिएको बेलामा खेतीमा व्यस्त भएका तराईबासीहरु अहिले मिथिला संस्कृतिमा आधारित स्वाद अनुसारका दालको पिठोमा मिसाएर बनाइएका यस्ता विभिन्न सागको बिरिया, तरकारीको सुखौत, मुरौरी, तिसियौरी, अदौरी आदि व्यंजनलाई तरकारीको रुपमा प्रयोग गर्ने प्रचलन बढ्दो छ ।

अन्य समयमा विशिष्ट भोजनको रुपमा मिथिलामा प्रयोग हुँदै आएको यस्ता पारंपरिक व्यंजनको उपभोग पनि बढ्दो छ । वातावरण अनुकुलको प्राकृतिक वस्तुहरु मिलाएर महिलाहरुले बनाएको यी उत्पादनहरु विशुद्ध गुणकारी र तरकारीको संकटको समयमा संकटमोचन गर्न सहयोगी हुने गरेको प्रविणनारायाण चौधरीले बताए । विशुद्ध गुणयुक्त विविध वस्तुको संयोजनबाट तयार पारिने यस्ता पारंपरिक व्यंजन स्वादिष्ट, स्वस्थकर, र सन्तुष्टि दिने परिकारको रुपमा परिचित रहेको उनले बताए ।

पानी जम्ने, धेरै गर्मीले बाफिने तथा अधिकांश खेत धानखेतीमा प्रयोग हुने हुँदा वर्षायाममा तराइमा तरकारीको अभाव हुन्छ । यस्तो बेलामा यी वस्तुहरुको महत्व हुने गरेको स्थानीय गृहिणी रीतादेवी ठाकुर बताउँछिन् ।‘हामी बिषादी प्रयोग भएको तरकारीको साटो आफैंले बनाएको तरकारी प्रयोग गर्छौं,’ उनले भनिन् ‘अब त बजारका आफन्तहरुले पनि हामीसँग यस्ता वस्तुहरु माग्न थालेका छन् ।’जुन सिजनमा जे तरकारी फल्यो त्यसबाटै यस्ता परिकार तयार पारेर सुरक्षित राख्ने गरेको उनले बताइन् । उनले भनिन् ‘वर्षायाममा आलुसँग मिसाएर यस्ता वस्तु तयार पार्ने गरेका छौं ।’

अहिले बथुवा र खेसारीको साग बजारमा पाइदैन तर पुस र माघमा बनाएर राखेको बथुवा र खेसारी सागको बेरिया यतिबेला खाइरहेको उनले बताइन् । पुस माघको जस्तै स्वादमा बेरिया खान पाउँदा सन्तुष्टिसमेत मिल्ने उनको अनुभव छ । खेतीपातीको काम नभएको बेला दालको पिठोमा साग मिलाएर बनेको बेरिया सुकाएर तयार पारिन्छ । जुन वर्षायाममा बढी उपयोगी हुन्छ ।अतिउपयोगी र बैकल्पिक तरकारी भएपनि पारंपरिक तरकारीको व्यजंनप्रति युवापुस्ता भने विस्तारै विमुख भइरहेका छन् ।

स्थानीय स्तरमा तयार पारिने यस्ता वस्तुको उत्पादन गर्न सक्दा ग्रामीण स्वरोजगार बढ्ने र तरकारीमा आत्मनिर्भरता अभिवृद्धि गर्न सकिने भएकोले स्थानीय तथा प्रदेश सरकारले यस्ता कामलाई प्रवद्र्धन गर्ने र बजारीकरण गर्न सहयोग गर्नुपर्ने चौधरीको भनाइ छ ।

सोमबार, ३२ असार, २०८१, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर