मनमोहन स्मृति पोलिटेक्निक अहिले कसरी सञ्चालन भइरहेको छ ?
भारतको स्वतन्त्रता संग्रामकोसमेत योद्धाको रुपमा रहनुभएका मनमोहन अधिकारीको स्मृतिमा मनमोहन स्मृति प्रतिष्ठान, नेपाल सरकार र भारत सरकारबीच २०६० सालतिर त्रीपक्षीय समझदारीबाट यो पोलिटेक्निक स्थापना भएको हो । यसले २०६५ सालबाट सिटिइभिटी सम्बन्धनबाट शैक्षिक कार्यक्रम सुरु गरेको हो । एकेडेमिक कार्यक्रमबाट मात्र पुग्दैन भनेर पोलिटेक्निकले सुरुबाटै तालिमका कार्यक्रमहरु पनि अगाडि बढाएको थियो । भारत सरकारले टेक्नोलोजी ट्रान्सफर गर्न भनी ९ जना विज्ञहरु पठाएको थियो । उहाँहरु ५ वर्ष बसेर फर्किनुभयो । २०६८ सालबाट तीन वर्षे सिभिल इन्जिनियरिङको कार्यक्रम सिटिइभिटीको पहलमा थप भयो । २०७२ र २०७३ सालमा यो शिक्षालय पूर्वाञ्चलमै उत्कृष्ट बन्यो । २०७५ साल र २०८० सालमा नेपालभरकै उत्कृष्ट शिक्षालयको रुपमा पुरस्कृत भएको छ । २०७६ सालमा सिटिइभिटीको सहयोगमा इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स र आर्किटेक्चर इन्जिनियरिङ विषय थप गर्यो । सोही वर्ष कोशी प्रदेश सरकारले यसको पूर्वाधारको अवस्था अध्ययन गरी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्यो । मनमोहन स्मृति पोलिटेक्निक विश्वविद्यालयकयो आंगिक कलेजको रुपमा रहेको छ । यहाँ विभिन्न सात विधाका डिप्लोमा कोर्षहरु अध्यापन हुने गरेको छ ।
यहाँ के के विषयमा अध्ययन गर्न पाइन्छ ?
यस पोलिटेक्निकमा डिप्लोमा इन इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स, सिभिल, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स, आर्किटेक्चर र इन्फर्मेसन टेक्नोलोजी (आइटि)का तीन वर्षे कोर्षहरु सञ्चालन भइरहेका छन् । त्यसबाहेक प्रि डिप्लोमा तर्फ २४ महिने कोर्षहरु हामीले सञ्चालन गरेका छौं । त्यसबाहेक प्रोफेसनल तालिमहरु पनि हामीले दिँदै आएका छौं । बिल्डिङ इलेक्ट्रिसियन, कम्प्युटर हार्डवेयर, टेक्निसियन, लाइट भेइकल मेकानिक, प्लम्बरलगायतका विषयहरुमा १६९६ घण्टा तालिम पनि हामीले सञ्चालन गरिरहेका छौं ।
स्थानीय तहहरुसँग साझेदारी गरेर पनि स्थानीय स्तरमा चाहिने जनशक्ति उत्पादन गर्न सकिन्छ होइन ?
अवश्य पनि सकिन्छ । त्यसैले हामीले स्थानीय तहहरुसँग साझेदारी गरेर उहाँहरुको माग बमोजिमका तालिमहरु सञ्चालन गर्ने गरेका छौं । पोलिटेक्निकले अहिले पनि दुहवी नगरपालिका, बुढीगंगा गाउँपालिका, बर्जु गाउँपालिकासँग साझेदारी गरेर धेरै तालिमका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । दुहवी नगरपालिकाले यहाँ भएको स्रोत साधन र क्षमताको सबैभन्दा बढी उपयोग गरेको छ जस्तो लागेको छ । दुहबीले विभिन्न प्रकारका तालिमहरु सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने तर्फ राम्रो काम गरेको छ । बुढीगंगा गाउँपालिकाले पनि प्राविधिक जनशक्ति उत्पादन गर्न सहयोग गरिरहेको छ ।
कस्ता विद्यार्थीहरुले पोलिटेक्निकमा अध्ययन गर्न सक्छन् ?
अहिले भर्खरै डिप्लोमा तर्फ नयाँ भर्ना खुलेको छ । साउन १३ गतेसम्म फर्म भर्ने र साउन १९ गते हामीले प्रवेश परीक्षा लिँदैछौं । हामीले सञ्चालन गरेका कार्यक्रमहरुमा डिप्लोमा गर्न चाहने एसईई परीक्षा उत्तीर्ण भएका र मौका परीक्षा दिने तयारी गरिरहेका दुवै विद्यार्थीहरुले फारम भर्नसक्नेछन् । तर मौका परीक्षामा भाग लिएकाहरु उत्तीर्ण हुन नसकेमा भर्ना स्वतः रद्द हुन्छ र तिरेको रकम फिर्ता पाउँछन् ।
बजारमा अरु धेरै शिक्षालय प्रतिस्पर्धामा छन् । प्राविधिक शिक्षाका लागि विद्यार्थीहरुले किन मनमोहनमा आउन आवश्यक छ र ?
हो बुझ्नु पर्ने कुरा नै यहिँनेर छ । यो २०६५ सालदेखि आजसम्मको १५ वर्षमा चार वर्ष उत्कृष्ट शिक्षालयको रुपमा पुरस्कृत भइसकेको छ । हामी अत्याधुनिक मेसिन, भौतिक उपकरण आदिबाट सुसज्जित छौं । हामीसँग अध्यापनका लागि फुलटाइम शिक्षक, दक्ष र अनुभवी प्राविधिकहरु छन् । धेरै शिक्षालयसँग पूर्णकालीन शिक्षकको अभाव छ । हामीसँग भएजति कसैसँग यन्त्र उपकरण छैनन् । हामीले शिक्षालाई रोजगारीसँग जोडेका छौं । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रतिस्पर्धा गरेर हाम्रा विद्यार्थीहरु सक्षम ठहरिएका छन् । विद्युत प्राधिकरण, सिभिल एभिएसनमा त हाम्रा विद्यार्थी अधिकतम उत्तीर्ण भएका छन् । त्यसबाहेक हामीले रोजगार इकाइ स्थापना गरेर विद्यार्थीलाई रोजगार उपलब्ध गराउन सहजीकरण गरिरहेका छौं । यहाँ अध्ययन गरेर उत्तीर्ण भएका र अनुत्तीर्ण भएका दुवै जनशक्ति रोजगार बजारमा बिक्री भइरहेको हामीले पाएका छौं । यि विशेषताहरु गर्दा पनि मनमोहन स्मृति पोलिटेक्निकमा अध्ययन गर्नुको फाइदाका बारेमा सहजै बुझ्न सकिन्छ ।
त्यसबाहेक इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति कोटाहरु सञ्चालन गरिएको छ । त्यसबाट विद्यार्थीले लाभ लिइरहेका छन् । यसैगरी हामीले कमाउँदै पढ्दै गर्ने प्रणालीलाई पनि अगाडि बढाउने जमर्को गरेका छौं । जसबाट विद्यार्थीहरुले सिक्दै कमाउँदै गर्ने अवसर सदुपयोग गर्न पाउँछन् ।
सिटिइभिटीले प्राविधिक शिक्षाका लाति छुट्याएको कोटा अनुसार विद्यार्थी नपाउने अवस्था देखिन्छ । तपार्इँहरुको अनुभवले प्राविधिक शिक्षाप्रतिको आकर्षण कस्तो पाउनुभएको छ ?
बजारमा प्राविधिक शिक्षालयहरु धेरै छन् । तर ती शिक्षालयहरुसँग आवश्यकता अनुसार यन्त्र, उपकरण, दक्ष शिक्षक, प्रशिक्षक आदिको अभाव छ । फेरि सरकारले प्राविधिक शिक्षालयहरु गाउँका दूरदराजमा जहाँ पर्याप्त सुविधा, शिक्षक र यन्त्र उपकरण नभएको ठाउँमा खोल्ने नीति लिएका कारणले त्यति आकर्षण देखिएको थिएन । हुन त अहिले पनि विद्यार्थीको कमी छैन शिक्षालयहरु धेरै भएका कारण सबैमा बाँडिदा थोरथोर देखिएको हो । यस्तो अवस्थामा पनि हाम्रोमा कहिल्यै पनि कोटाको ९० प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएका छैनन् । कतिपय शिक्षालहरुले निर्धारित कोटाभन्दा आधा कम विद्यार्थीमै चित्त बुझाउनु पर्ने अवस्था देखिन्छ ।
विद्यार्थीहरु उत्तीर्ण हुने दर र रोजगारीको अवस्था कस्तो छ ?
यहाँ अध्ययन गर्ने विद्यार्थीहरु सुरुका सेमेस्टरमा कम पास हुने गरेको देखिन्छ । अन्तिमसम्म पुग्दा रेगुलर नतिजामा करिव ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेको देखिन्छ । त्यसपछि ब्याक दिँदै करिव सबै विद्यार्थीहरुले अध्ययन पूरा गरेको देखिन्छ । यहाँबाट उत्तीर्ण भएका र नभएका दुवैले बजारमा, यहाँका उद्योग प्रतिष्ठानमा राम्रो काम पाइरहेको तथ्यांकले देखाउँछ ।
यहाँका स्थानीय उद्योग प्रतिष्ठानले स्वदेशमा उत्पादित प्राविधिक जनशक्तिप्रति त्यति भरोसा गरेको देखिदैन ? अध्ययन र क्षमतामाथि नै प्रश्न हो वा अरु कारण छन् ?
क्षमतामाथि प्रश्न होइन । हामीले उत्पादन गरेका विद्यार्थीहरुले स्वदेश र विदेशका धेरै ठाउँमा आफूलाई दक्ष प्रमाणित गरिसकेका छन् । विद्यार्थीहरु बजारमा राम्रोसँग बिक्री भइरहेका पनि छन् । यहाँका उद्योग प्रतिष्ठानहरुले आवश्यकता भएर पनि सबै ठाउँमा नेपाली प्राविधिकहरुलाई काम नदिएको हो कि भन्ने चाहिँ छ । त्यसका अरु कारण छन् । स्थानीयहरुलाई काममा लगाउँदा बिदा धेरै लिने, नेपालीहरुको चाडपर्व बढी हुँदा काम गर्ने दिन तुलनात्मक कम हुने, चित्त नबुझ्दा बाधा अवरोध बढी आउनसक्ने, पारिश्रमिक भुक्तानीको दरमा पनि फरक पर्ने आदि कारणले गर्दा पनि विदेशी विशेष गरी भारतीयहरुप्रति रुचि भएको हो कि भन्ने हामीलाई लाग्छ । विदेशबाट आएका केही जनशक्ति अनुभवका आधारमो विशिष्ट क्षमताका पनि हुनसक्छन् ।