विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि कोशीमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गर्ने सहमति भएको छ ।
एमालेले कोशीमा अन्य समूहमा उम्मेदवार बनाएका पर्शुराम अधिकारीको साटो राप्रपाका उम्मेदवार उद्धब पौडेलललाई समर्थन गर्ने भएको छ । राप्रपाले महिला कोटामा एमालेकी रूक्मिणी कोइरालालाई सहयोग गर्नेछ ।
राप्रपा कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाका अनुसार राप्रपा र एमालेबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्यको सहमति भएको हो । नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि राष्ट्रियसभा चुनावमा एमाले र राप्रपाबीच तालमेलको सहमति भएको जानकारी दिए ।
केन्द्रीय तहमै छलफल गरी तालमेलको निर्णय गरिएको नेताहरूले बताएका छन् । एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको छलफलपछि यस्तो सहमति भएको हो ।
तालमेलको सहमति भएपनि उम्मेदवारी फिर्ता लिने समय सकिइसकेको छ । त्यसैले एमालेले अधिकारीको उम्मेदवारी निस्कृय रहेको घोषणा गर्नेछ । कोशीमा एमालेले अन्यतर्फ भोजपुरका परशुराम अधिकारीलाई उम्मेदवार बनाएको थियो । पूर्वमाओवादी पृष्ठभूमिका अधिकारीलाई फिर्ता गराएर एमालेले राप्रपालाई सहयोग गर्ने भएको हो । राप्रपाले महिलातर्फ उम्मेदवारी नदिएकाले एमालेका उम्मेदवारलाई सहयोग गर्नेछ ।
कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलामा नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन् । कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी बिना पोखरेलको पदावधि सकिन लागेपछि सो पदका लागि चुनाव हुन लागेको हो ।
कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३ जना छन् भने एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् । स्थानीय तहका २७४ जनप्रतिनिधिको ५ हजार २०६ हुन्छ । जसमा कांग्रेसको २ हजार १४७ मतभार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
यस्तै ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । प्रदेशमा एमालेको मतभार २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मतभार रहेको छ ।
प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजा ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । जसअनुसार गठबन्धनको मतभार ५ हजार ४७४ छ भने एमाले–राप्रपा गठबन्धनको कूल मतभार ४ हजार ६४२ छ ।
(फोटो क्रमशः राप्रपाका उद्धब पौडेल र एमालेका पर्शुराम अधिकारी)