विराटनगर । झापा भद्रपुर नगरपालिका– ७ का ५८ वर्षे साहेबा उराउ पत्नी हत्याको आरोपमा पक्राउ परेका छन् । सोमबार उराउ र उनकी श्रीमती ६० वर्षे फिल्सिता उराउबीच झगडा हँुदा साहेबाले फिल्सितालाई टाउकोमा ढुङ्गाले हिर्काएर घाइते बनाएका थिए । मंगलबार राति २ बजे फिल्सिताको मृत्यु भयो । रक्सीको नशामा लठ्ठिएका साहेबाले सामान्य झगडा हुँदा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
१९ माघमा मोरङको जहदा गाउँपालिका १ धुनीटोलमा ससुराली आएका ज्वाँइले दाउ प्रहार गरेर सासुको हत्या गरेका थिए । श्रीमतीसँग झगडा हुँदा छुट्याउन आएकी ५५ वर्षे जोसनीदेवी सरबरीयाको हत्या झापाको गौरीगन्ज नगरपालिका १३ का कनु भन्ने प्रेमलाल सरबरीयाले गरेका थिए । सासुको हत्या आरोपमा पक्राउ परेका सरबरीयालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अहिले अनुसन्धान गर्दै आएको छ ।
८ मंसिरमा झापाको कमल गाउँपालिका ६ का ४७ वर्षे चुडामणि भण्डारी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परे । चुडामणिका ३९ वर्षे श्रीमती टीकादेवी पौडेल र दमक नगरपलिका २ का २५ वर्षे प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका बेलामा विवाद हुँदा आवेशमा आएका भण्डारीले दुवै जनालाई खुकुरी प्रहार गरेका थिए । घटनामा टीकादेवीको घटनास्थलमा नै मृत्यु भयो ।
यस्तै विराटनगर–१० मधुमारामा श्रीमतीको योजनामा औषधि व्यवसायी ३३ वर्षे देवीप्रसाद दुलालको जेठ ३ गते राति हत्या भयो । प्रहरी अनुसन्धानपछि ३३ वर्षे श्रीमती मीना श्रेष्ठ दुलालले आफ्ना प्रेमी सिराहा लहानका २१ वर्षे ब्रह्मदेव र इटहरीका २० वर्षे सोनु साहको साथ लिँदै दुलालको हत्या गरेको खुल्यो । ब्रह्मदेवसँगको प्रेम सम्बन्ध श्रीमानले थाहा पाएपछि मीनाकै योजनामा दुलालको हत्या भएको प्रहरी अनुसन्धानले देखायो । हत्यामा संलग्न तीनै जनालाई घटना भएको २४ घण्टा बित्न नपाउँदै प्रहरीले पक्राउ ग¥यो । अहिले तीनै जना पूर्पक्षको लागि विराटनगर कारागारमा छन् ।
विराटनगर–१४ झटियाइका २९ वर्षे रोहित र २६ वर्षे नागेन्द्र चौहान मिलेर जेठ ३ गते राति आफ्नै बुवा सीताराम चौहानको हत्या गरे । फरुवाले हानेर हत्या गरेपछि शव घरभित्रै खाल्डो खनेर पुरिदिए । गाडेको ठाउँबाट प्रहरीले शव उत्खनन् गर्दै हत्यामा संलग्न दुवै छोरालाई पक्राउ ग¥यो । बाबुले ज्याला मजदुरी गर्ने जेठो छोरासँग पैसा मागेपछि सुरु भएको पारिवारिक विवाद हत्याको घटनामा पुगेर टुँगिएको प्रहरीको अनुसन्धानबाट पत्ता लाग्यो । उनीहरू अहिले दुवै जना पुर्पक्षको लागि थुनामा छन् ।
यस्तै तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका २० वर्षे कञ्चन लिम्बूले बञ्चरो प्रहार गरेर आफ्नै बाबु र आमाको हत्या गरे । कञ्चनले बैशाख २५ गते ४२ वर्षे बाबु रूपबहादुर र ३५ वर्षे आमा रूपेनी लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ । बाबु खेतमा काम गर्न गएका बेला आमालाई बञ्चरोले हानेर हत्या गरेका कञ्चनले घरमा आइपुग्ने बितिकै बाबुको पनि हत्या गरेका थिए । बाबु–आमाकै हत्या गर्ने कञ्चनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यी यस्ता प्रतिनिधि घटना हुन्, जसले पछिल्लो समय मौलाएको अपराधको चित्र वर्णन गर्छ । पछिल्लो समय आफ्नो निहित स्वार्थपूर्तिका लागि जीवनभरि साथ दिने परिवार भित्रका सदस्य काल बनेर आउने गरेको घटना सार्वजानिक हँुदै आएका छन् । जीवनभरि साथ दिन्छु भनेर विवाह बन्धनमा बााधिएकाहरू नै जघन्य अपराध गर्न उद्यत भएको घटना प्रदेश १ मा बढेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश १ मा ९७ वटा कर्तब्य ज्यानको मुद्दा दर्ता भएको छ । उक्त घटनामा १५१ जना पुरुष र १३ महिला पक्राउ परेका छन् भने १५ जना फरार छन् । फरार हुनेमा १४ पुरुष र १ महिला छन् । चालु आर्थिक वर्षको कात्तिकसम्ममा ४६ वटा कर्तब्य ज्यान मुद्दा दर्ता भएका छन् । जसमा ६९ पुरुष र ९ महिला पक्राउ परेका छन् भने ३६ जना फरार छन् । फरार हुनेमा ३५ पुरुष र एक महिला छन् ।
४६ वटा कर्तब्य ज्यानको मुद्दा दर्ता भएकामध्ये अधिकांश परिवारभित्रका सदस्य र नजिकका आफन्त नै सहभागी देखिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षका पछिल्लो घटनाहरूमा पारिवारिक अपराधका घटना बढी भएका छन्,’ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी विपिन रेग्मीले भने । पछिल्लो समय बढ्दै गएका यस्ता जघन्य प्रकृतिका अपराधले परिवारभित्रै असुरक्षित महसुस गराउने स्थिति उत्पन्न गराएको सुरक्षा निकायका अधिकारीकोहरूको भनाइ छ ।
लामो समयदेखि यस्ता अपराधको अध्ययन एवं अनुसन्धान गर्दै आएका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्दा, एकअर्कामा अविश्वास र वेमेल भई यस्ता अपराधका घटना हुने गरेको बताए ।
‘मानिस निराश भएपछि अमुक व्यक्तिलाई बाधा देख्ने, आफन्तलाई नै वाधकको रुपमा हेर्ने गर्दछन्,’ एसपी खड्काले भने, ‘त्यस्तो बेलामा आवेगमा आएर यस्ता जघन्य घटना गर्ने गरेको हामीले पाएका छौं ।’ मानिसले प्राथमिकता दिनुपर्ने कुरामा भन्दा अन्यत्र ध्यान दिँदा र आपसी विश्वास कायम गर्न नसक्दा यस्तो समस्या आउने गरेको उनको बुझाई छ ।
‘मानिस सबैभन्दा बढी परिवारभित्र सुरक्षित हुन्छ र सुरक्षित महसुश पनि गर्छ । परिवार भनेको समाजको महत्वपूर्ण अंग हो,’ उनी भन्छन् ‘तर अहिले परिवारमै बढी असुरक्षित छौं कि भन्ने आशंका उब्जन थालेका छन् ।’ यस्ता अपराधले परिवारिक प्रणालीलाई ध्वस्त बनाई समाज विखण्डनतिर लगिरहेको एसपी खडको बुझाइ छ । ‘परिवारभित्रै एकले अर्कालाई साथ दिएन, विश्वास गरेन र बुझेन भने यस्ता अपराध हुने गर्दछन्,’ उनले भने ।
सामाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाईंले पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवारभित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ । ‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच हावी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’ पैसा र सम्पतिका लागि जे पनि गर्ने र गलत बाटो अंगिकार गर्ने चलन बढ्दा पुरानो संस्कारको परिपाटीमा ‘ब्रेकडाउन’ भएर परिवार र समाज विघटनतर्फ उन्मुख भइरहनु दुःखद् भएको प्रसाईंले बताए । ‘एकअर्कामा हुनुपर्ने मेलमिलाप र अन्तर्घुलनका कडीहरूलाई व्यक्तिवादी सोचले टुटाएर क्षतविक्षत बनाउँदा परिवारभित्र बिचलन आउन थालेको छ,’ उनले भने, ‘विशेषगरि युवा पुस्तामा यो समस्या देखिँदा र यसले उनीहरूलाई सामाजिकताबाट बाहिर धकेल्दा थप जटिलता निम्तिँदै गएको छ ।’
हिंसात्मक, मनोवैज्ञानिक र साँस्कृतिक पाटो कमजोर हँुदापनि यस्ता घटना हुने गरेको उनले बताए । पछिल्लो समय समाज व्यवहारमुखीभन्दा पनि पैसामुखी हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । नियममा नबस्ने, बढी स्वतन्त्रता र सन्तुष्टिको चाहना गर्ने जस्ता कुराले मान्छेमा हार्दिकता हराउँदै गएको उनी बताउँछन् । मानवीय सन्तुष्टिसँग जोडिएको स्वतन्त्रताले सीमा नाघ्दा र सबैले आफ्नो कर्तव्य बिर्संदा समस्या सिर्जना हुने गरेको प्रसाईंको भनाइ छ ।