एमालेमा चुलिँदो असन्तोष,गृह प्रदेशमै ओलीलाई चुनौती

ओलीले सबैतिर सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि झापामा मात्र सर्वसम्मत

विराटनगर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिएको भएपनि कोशी प्रदेशका १४ वटै जिल्लामध्ये १३ वटाको नेतृत्व निर्वाचनबाट छानिएको छ । ओलीको निर्देशन र चर्को दबाबको कारण अधिवेशन एक साताभन्दा धेरै समय लम्ब्याएर झापामा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

झापा ओलीले चाहेका व्यक्ति प्रेम गिरीलाई अध्यक्ष र उनलाई अध्यक्षमा चुनौति दिने तयारी गरेका शिव ढुंगेललाई उपाध्यक्ष बनाएर सहमति जुटाइएको थियो । पाँचथरमा विष्णुप्रसाद सापकोटा र संखुवासभामा खड्गबहादुर राई अध्यक्षमा सर्वसम्मत भएपनि अन्य पदमा भने निर्वाचनबाट नेतृत्व छानिएको छ ।

निर्वाचनमा ताप्लेजुङमा डम्बरध्वज तुम्बाहाम्फे, इलाममा गणेशप्रसाद बराल, सुनसरीमा निलम खनाल (स्वर्गीय) कार्यबहाक पर्शुराम यादव, भोजपुरमा मकरबहादुर खड्का, खोटाङमा देवविक्रम राई, ओखलढुङ्गामा ज्ञानबहादुर खड्का र सोलुखुम्बुमा दुफकुमार बाँस्तोला ओलीसहित संस्थापन पक्षले अगाडि सारेका व्यक्तिहरु अध्यक्षमा निर्वाचित भए । त्यसबाहेक मोरङमा मोरङ अजम्बर राईसहितको पदाधिकारीको टिम, तेह्रथुममा शिवप्रसाद ढुंगाना, उदयपुरमा भागवत राउत र धनकुटामा शिव आङ्ला संस्थापन पक्षले नरुचाएको टिम निर्वाचन भएको छ ।

धनकुटामा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राईबीचको प्रतिस्पर्धा जस्तो देखिएको थियो । अन्ततः राजेन्द्र राईले रुचाएका आङ्ला निर्वाचित भएका थिए । इलाम र ताप्लेजुङमा थोरै भोटले इतरपक्ष पराजित भएको थियो ।
पार्टी अध्यक्ष ओलीको निर्देशनमा महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष गुरुप्रसाद बराल, कोशी प्रदेशका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडासहितले सबैतिर सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए । तर, सहमति जुट्न नसकेको मात्र हैन, कतिपय जिल्लामा उनीहरुले अगाडि सारको उम्मेदवार नै पराजित भए ।

एमाले प्रदेश अध्यक्ष खतिवडा भने सहमतिमा नेतृत्व चयन हुन नसकेपछि प्रतिस्पर्धा हुनुलाई अन्यथा मान्न नहुने बताउँछन् । ‘सबै जिल्लामा सहमतिको प्रयास भयो’ उनले भने, ‘सहमति नहुँदा सौहार्दपूर्ण ढंगले नै निर्वाचन भयो ।’

एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवराज बाँस्कोटा भने एमालेमा वैचारिक हिसावले फरक मत वा भिन्नमत राख्नेहरु नेतृत्वमा आउनसाथ संस्थापन पक्ष भनिएको र अर्को पक्षलाई इतर भनिएको बताउँछन् । ‘अहिले एमालेमा वैचारिक हिसावले फरकमत वा भिन्नमत राख्नेहरू नेतृत्वमा आउनासाथ संस्थापन पक्ष भन्नुहुन्छ’ उनले भने, ‘बिचारको पक्षमा सर्वस्व खर्चिएको वा गुमाएको व्यक्ति व्यक्तित्वको पंक्ति संस्थापन इतर कहलिन्छ ।’ यो बेमेलको पक्षलाई मोरङ जिल्ला अधिवेशनले गतिलो जवाफ दिएको उनको दावी छ ।

एमाले मोरङको अधिवेशनको मतपरिणामलाई अध्यक्ष केपी शर्मा ओलीको हार र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको जितको रुपम अथ्र्याउन नहुने बाँस्कोटाले बताए । ‘एमालेलाई भजाउन चाहने कतिपयले कित्ता–कित्तामा समूहबन्दी गर्ने गरेको पाइन्छ’ उनले भने, ‘चुनावमा गएपछि यसबाट प्राप्त हुने परिणाम परस्पर कित्ता काटाकाट र समूहबन्दी गरेर बुझ्न हुँदैन ।’

२०८० असोजमा सम्पन्न एमाले कोशी प्रदेशको अधिवेशनमा पनि दुई प्यानलको प्रतिस्पर्धा भएको थियो । प्रदेश अध्यषमा ओलीसहित नेताहरुले अगाडि सारेका घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भए । यो अधिवेशनमा आफ्नो राजनीतिक जीवनभरी ओलीलाई साथ दिएको विनोद ढकाल भने ओलीले अगाडि सारेका खतिवडासँग चुनाब लडेका थिए ।
ओलीसहित एमालेको सिंगो नेतृत्व लागेर खतिवडालाई समर्थन गर्दा ढकाल ८२ मतले पराजित भएका थिए । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरेका थिए । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत भएपनि अन्य पदाधिकारी पनि खतिवडाकै टिमले जितेको थियो ।

प्रदेश अधिवेशनमा पराजित भएका ढकालसहित प्रदेशका असन्तुष्ट पक्षले जिल्लाको अधिवेशनमा आफ्नो सशक्त प्रभाव देखाएको छ । अन्तिम अधिवेशन भएको मोरङमा सो पक्षले संस्थापन पक्षलाई चुनौतीसहित जीत निकालेको छ । ‘पहाडका ६ जिल्ला बराबर त मोरङ एउटै जिल्ला हो । पहाडमा के भयो भन्ने कुरा भन्दा बढी मोरङमा के भयो भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ,’ बाँस्कोटा भन्छन्, ‘नेताको नाम लिएर वरिपरि बसेर फुत्त बाहिर निस्किएकाहरुको हालि मुहालीलाई मोरङमा रोकिएको छ ।’

केपी शर्मा ओलीको नाम लिएर बिचबिचमा भुलुक्क आएका मानिसले आफूलाई संस्थापनको नाममा लामो समयदेखि एमाले राजनीतिमा रहेकाहरुको मान मर्दन गरेको बाँस्कोटाको गुनासो छ । त्यस्तै मानिसलाई अध्यक्ष ओलीले पनि ढाडस दिने काम गरेकोले त्यसको जवाफ मोरङले दिएको उनले दावी गरे ।

सोमबार, ०३ चैत, २०८१, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर