विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा भएको आगजनीको घटनाप्रति कडा विरोध जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका प्रतिनिधिहरूले यस घटनालाई गैरकानुनी र निन्दनीय बताएका छन्।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि स्थापना गरिएको निर्वाचन कार्यालयमा बुधबार नेविसंघका विद्यार्थी नेताहरूले आगजनी गरेको आरोप लगाइएको छ। आगजनीका साथै नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत डा. शुशिल कुमार अधिकारीलाई कोठामा थुनेको समेत बताइएको छ। घटनापछि प्रहरीले आगजनीमा संलग्न विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ।
स्ववियु सभापतिका उम्मेदवार तथा अखिल क्रान्तिकारी महेन्द्र मोरङ इकाई क्याम्पस विराटनगरका अध्यक्ष रोहित यादवले भने, ‘क्याम्पसभित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु यो गैरकानुनी हर्कत हो। हामी आजको यस प्रकारको घटनाको घोर निन्दा र भर्त्सना गर्दछौं।’