बहिष्कारको चेतावनीपछि विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेट

विपक्षी दलहरुलाई प्रधानमन्त्रीको सम्बोधनबारे समयमै जानकारी नदिएकोमा मुख्यमन्त्रीद्वारा आत्माआलोचना

विराटनगर । कोशी प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनलाई सहज बनाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज २ बजेपछि बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले बिपक्षी दलहरुलाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दिएपछि मुख्यमन्त्री कार्कीले माओवाद्यी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका छन् ।

विराटनगरस्थित बिग होटलमा अहिले भर्खरै भएको दुईपक्षीय छलफल सकारात्मक भएको मुख्यमन्त्री कार्कीले बताए । ‘हाम्राबीचमा संसद सञ्चालनको सन्दर्भमा केही घटनाक्रममा भएका मिस इन्फरमेसनलाई क्लियर गर्ने काम भयो’ उनले भने, ‘अब प्रदेशसभामा कसैबाट बाधा अवरोध हुँदैन । उहाँहरु सबै आउनु हुन्छ ।

प्रधानमन्त्री भनेको संस्था भएकोले उहाँ आएको ठाउँमा अवरोध गर्नुहुँदैन भन्ने विषय विपक्षी दलहरुले पनि बुझेको मुख्यमन्त्री कार्कीले बताए । केन्द्रमा हुने राजनीतिक मनमुटावलाई प्रदेशमा देखाउन नहुने भन्दै उनले भने, ‘माथिको कुरा हामी धेरै बुझ्दैनौं । केपी ओली, शेरबहादुर देउवा, प्रचण्डको बीचमा हामी धेरै धुरा पस्नु हुँदैन । प्रदेशका मुख्यमन्त्री र दलका नेताहरुले माथिका नेताहरुमा धुरा पसेर विवाद निकाल्नु हुँदैन ।’

छलफलपछि प्रतिक्रिया दिँदै माओवादी दलका नेता आङ्बोले मुख्यमन्त्रीले प्रधानमन्त्रीले संस्थागत ढंगले बोल्ने, कसैलाई घोचपेच नगर्ने र विपक्षी दलहरुलाई औपचारिक निमन्त्रणा नगरेको विषयमा आलोचित हुने भनेर आश्वास्त पार्न खोजेको बताए । ‘प्रधानमन्त्रीले संस्थागत ढंगले बोल्ने, घोचपेच नगर्ने भन्ने विषयमा आश्वास्त पार्नुभएको छ । यस्तै विपक्षी दलसँग त्यसबारे छलफल नगर्नु गल्ती भयो भनेर स्वीकार गर्नुभएको छ’ उनले भने, ‘अब हामी विपक्षी दलहरु बैठक बसेर थप निर्णय गर्छौं ।’

विपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट छलफल गर्ने जिम्मा लिएर आङ्बोले मुख्यमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटमा मुख्यमन्त्री कार्कीले सकारात्मक ढंगले सहयोग गरेर जाऔं भन्ने प्रस्ताव राखेका थिए ।

मुख्यमन्त्रीसँगको भेट र चालिने कदमको विषयमा विपक्षी दलहरुको बैठक संयुक्त रुपमा बसेर टुंगोमा पुग्ने आङ्बोले बताए ।

मङ्गलबार, २७ फागुन, २०८१, बिहानको ११:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर