विराटनगर । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सहजै हुने बताएका छन् । उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकोले चुनाव हुनेमा कुनै आशंका गरिरहन नपर्ने बताएका हुन् ।
स्ववियु चुनाव रोक्न नहुने पक्षमा सम्पूर्ण विद्यार्थीहरु एकमत रहेको भन्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष यादवले आम विद्यार्थीको हित प्रतिकुल हुने गरी कसैले पनि चुनाव रोक्छु भनेर धम्की दिन नहुने बताए ।
संगठनहरुभित्रको आन्तरिक विवादलाई क्याम्पसमा प्रवेश गराउनु उचित नभएको भन्दै उनले आफ्नो संगठनभित्र नै विवादहरु मिलाएर शन्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।
स्ववियु निर्वाचनका लागि निर्वाचन कार्यालयले सबै तयारी गरेर मतपत्रको छपाइसमेत सकिसकेको अवस्थामा चुनाव हुँदैन कि भनेर कसैले भ्रम वा द्विविधामा बस्न नपर्ने यादवले बताए । उनले भने, ‘चुनावको सबै तयारी निर्वाचन समितिले गरिसकेको जानकारी हामीले पाएका छौं, मौन अवधि सुरु भइसक्यो, सबै विद्यार्थीहरु चुनावको मुडमा अगाडि बढिसकेका छन्, यस्तो बेलामा विद्यार्थीको हितविपरीत हुने गरी कसैले पनि भूमिका खेल्न हुँदैन, नेविसंघभित्रको विवद उहाँहरुले आफ्नो संगठनभित्रै मिलाउनुपर्छ, क्याम्पसमा त्यसलाई ल्याएर अनावश्यक वातावरण विथोल्न हुँदैन, त्यसै म सबै विद्यार्थीहरुलाई ढुक्क भएर मतदानका लागि तयार हुन र मतदानमा सहभागी हुन आग्रह गर्दछु, साथै अखिल क्रान्तिकारी विद्यार्थीहरुलाई सुरक्षा दिन र निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन प्रतिवद्ध र दृढ छ, त्यसैले निश्चिन्त भएर निर्वाचनमा सहभागी हुन आह्वान पनि गर्दछु ।’