लगानी सम्मेलनबाट दिन खोजेको सन्देश

  विक्रम लुइँटेल

कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी सुरु भएको छ । कोशी प्रदेश औद्योगिक हिसाबले नेपालको महत्वपूर्ण प्रदेश हो । २००७ सालको क्रान्ति अघि नै उद्योग स्थापना भएर विराटनगरले औद्योगिक नगरको सन्देश दिइसकेको थियो । कुनै बेला विराटनगर औद्योगिक सहरको रुपमा परिचित थियो । हुन त अहिले पनि विराटनगर औद्योगिक सहरकै रुपमा परिचित छ । २००७ सालको क्रान्तिसँग विराटनगरको मजदुर आन्दोलनको महत्वपूर्ण भूमिका छ ।

विराटनगरले बनाएको औद्योगिक छविले नै नेपालको औद्योगिक इतिहासलाई बोकेको छ । पछिल्लो समय विभिन्न कारणले विराटनगरबाट उद्योगहरु बाहिर जान थाले । औद्योगिक क्षेत्रपनि खुम्चिन थाल्यो । विराटनगरले सेजको अवधारणालाई पनि बेला बेलामा उठाइरह्यो । तर कार्यान्वयन भने भएन । विराटनगरबाट महेश आचार्य, भरतमोहन अधिकारीजस्ता दिग्गज व्यत्तित्वहरु अर्थमन्त्री भए । तर पनि विराटनगरका उद्योगी व्यवसायीले उद्योग फस्टाउने राम्रो मौका पाएनन् । अहिले विराटनगर कोशी प्रदेशको राजधानी भएको छ । विराटनगर सँगसँगै यस प्रदेशका सबै ठाउँमा औद्योगिक वातावरण बनाउनु पर्ने अवस्था छ । आमनागरिक र उद्योगीहरुमा छाएको निरासालाई चिर्नुपर्ने अहिले बाध्यता छ । र, प्रदेश सरकारले केही काम गर्न सक्दैन र यसको औचित्यसमेत छैन भन्नेहरुको संख्या उल्लेख्य छ । यो परिवेशमा कोशी प्रदेशको पुरानो साखलाई फर्काउँदै औद्योगिक वातावरण बनाउनु पर्ने दायित्व प्रदेश सरकारको छ । सातवटा प्रदेशमा लगानी सम्मेलन नभइरहेको अवस्थामा नेपालको औद्योगिक जननीको भूमि बोकेको कोशी प्रदेशले लगानी सम्मेलन गर्ने जुन योजना बनाएको छ त्यो आफैंमा महत्वपूर्ण छ । लगानी सम्मेलनपछि कति लगानी भित्रिन्छ त्यसको लेखाजोखा हुँदै जाला तर, लगानी सम्मेलन आयोजना गरेर प्रदेश सरकारले प्रदेश सरकारले दिन खोजेको औद्योगिक वातावरणको विषयलाई भने नजरअन्दाज गर्न मिल्दैन । यस्तो सम्मेलनलाई प्रदेशका निजी क्षेत्रले र आम नागरिकले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार गर्ने र अपनत्व लिने प्रयत्न गर्नु पर्दछ ।

कोशी प्रदेश आफैंमा प्राकृतिक, धार्मिक, सांस्कृतिक आदि पर्यटनको सम्भावनाले मजबुत प्रदेश हो । यसलाई टेकेर पनि लगानी सम्मेलन सार्थक बनाउन सकिन्छ । देश र विदेशका लगानीकर्तालाई प्रदेशमा आकर्षित गरेर सम्मुनत प्रदेश बनाउने लक्ष्यलाई पूरा गर्न सकिने अवस्था बन्दछ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशबाट लगानी सम्मेलन गर्नका लागि जुन पहलकदमी र निर्णय लिएका छन् यसले प्रदेश सरकार औद्योगिक वातावरण सिर्जना गर्न र प्रदेशलाई समृद्धितर्फ लैजान चाहेको देखिन्छ । संवैधानिक अधिकारहरु सहजरुपमा प्राप्त नभइरहेको परिस्थितिमा भएकै मौजुदा कानुन र स्रोत साधनलाई उपयोग गर्दै प्रदेशबाट लगानी सम्मेलनको तयारी गर्नुले प्रदेशले आँट गरेको मान्न सकिन्छ । प्रदेश सरकारलाई चौतर्फिरुपमा आलोचना र घेराबन्दी गर्दै संविधानमाथि नै धावा बोल्ने प्रयत्न भइरहेको बेला यस्ता ठूला कार्यक्रमहरुले प्रदेशप्रतिको बितृष्णालाई कम गर्दै आमनागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नेछ । यस अर्थमा पनि यो कार्यक्रम फलदायी बनाउनु र यसलाई सफल बनाउन सबै लाग्न जरुरी छ । खासगरेर विराटनगरका उद्योगी व्यवसायीहरुले यसलाई होस्टेमा हैंसे गरेर सफल बनाउन लाग्नु पर्दछ ।

शुक्रबार, ०७ मंसिर, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर