विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मानव तस्करीमा मुछिएका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
सांसद अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा प्रहरीले आइतबार विराटनगर २ बरगाछीस्थित निवासबाटै पक्राउ गरेपछि एमाले संसदीय दलले स्पष्टीकरण सोधेको हो ।
एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सोधेको स्पष्टीकरण पत्रमा संसदीय दललाई कुनै जानकारी नदिई राज्यको कानुनी प्रक्रियासमेत अवलम्बन नगरी विदेश यात्रा गरेर विधान उल्लंघन गरेको देखिएकोले संसदीय दलको विधान बमोजिम किन कारवाही नगर्ने भनी प्रश्न गरिएको छ ।
पत्रमा भनिएको छ ‘पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र नेकपा एमाले संसदीय दलको कार्यालय विराटनगरमा प्राप्त हुने गरी पेश गर्न निर्देशन गरिएको छ, समयत्रि स्पष्टीकरण नदिएमा वा दिइएको प्रष्टीकरण चित्तबुझ्दो नभएमा विधान बमोजिम तपाईँमाथि कारवाही भै जाने ब्यहोरा समेत निर्देशन अनुसार जानकारी गराइन्छ ।’
एमालेको विधानमा स्पष्टीकरण चित्तबुझ्दो नभएमा संसदीय दलको सदस्यबाट निलम्बन गर्ने व्यवस्था रहेकोले सोमबार २ बजेसम्म स्पष्टीकरण प्राप्त नभएमा दलको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी अधिकारीलाई निलम्बन गर्ने तयारी एमालेको छ ।
नेकपा एमालेले संसदीय दलले कारवाही गरे वा नगरेपनि गम्भीर अभियोगमा पक्राउ परेका अधिकारी स्वतः निलम्बनमा भने परेका छन् ।