पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई यति एयरको उडानबाट काठमाडौं लगिदै

विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो र मोरङ प्रहरीको टोलीले पूर्वमन्त्री अधिकारीलाई दिउँसो घरबाटै पक्राउ गरेको हो । सिआइबीको टोलीले गएरातिदेखि नै सांसद अधिकारीको निवासलाई निगरानीमा राखेको स्थानीयले बताएका छन् । अधिकारी निवासमा आज बिहानदेखि प्रहरीको उपस्थिति बाक्लो बनाइएको थियो ।

मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारीले अनुसन्धानमा सहयोग गर्न काठमाडौं जान लागेको प्रतिक्रिया दिएका छन् । उनले भने ‘म अनुसन्धानमा सहयोग गर्न काठमाडौं जानलागेको हुँ, अनुसन्धानमा सहयोग गर्नु मेरो दायित्व हो, बाँकी कुरा अनुसन्धानबाट जे हुन्छ त्यसै अनुसार अघि बढ्छ ।’ मन्त्री अधिकारीलाई पक्राउ गर्न प्रहरी पुग्दा विराटनगर २ बरगाछीस्थित अधिकारी भाडामा बस्दै आएको घर वरिपरि प्रहरी, स्थानीय, पत्रकारहरुको भीड लागेको थियो । सांसद अधिकारीलाई दिउँसो १ः५० बजेको यती एयरको उडानबाट काठमाडौं लगिने मोरङका प्रहरी उपरीक्षक नारायण चिमोरियाले जानकारी दिएका छन् ।

मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेपछि प्रहरीले अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । सरकारी कागजपत्र किर्ते गरेको आरोपमा मन्त्री अधिकारीसँगै जापान पुगेर फर्किएका तीन जना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहको भएपनि अधिकारीमाथि अनुसन्धान नगरेपछि सरकारको आलोचना भएको थियो ।

पूर्वमन्त्री अधिकारीसहित पाँच जनालाई जापानबाट नेपाल फर्काएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक १७ गते अधिकारी र नवलपरासीकी अनिता तिम्सिनाबाहेक तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । अधिकारी र तिम्सिनालाई भने कागज गराएर छोडेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । त्यस दिन अधिकारीको साथमा रहेका रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा नक्कली कागजपत्र तयार पार्ने कार्यमा संलग्न नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यस घटनामा संलग्न मानिएका मोरङ रतुवामाईका गोपाल गौतम भने अहिलेसम्म फरार छन् ।

तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन मन्त्री परिषदको स्वीकृति नलिई जापान तर्फ गएका थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नजान गरेको आग्रहलाई समेत अस्वीकार गरी भ्रमणमा गएको भन्दै आलोचना भएपछि अधिकारीले केही दिनअघि मात्र मन्त्री पदबाट राजीनामा दिएका थिए । लगतै नेकपा एमाले कोशी प्रदेशले शनिबार अधिकारीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेकपा एमाले सचिवालय बैठकले शनिबार नै अनुमोदन गरेको थियो ।

आइतबार, २५ कार्तिक, २०८१, दिउँसोको ०२:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर