विराटनगर । नेकपा एमाले नेतृत्वको सरकारले उदयपुर सिमेन्ट कारखानासहितका उद्योगहरु निजीकरणको तयारी गरेको बेला नेकपा एमाले उदयपुर भने त्यसको विपक्षमा उभिएको छ ।
सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्श निकालेको छ ।
उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद अम्बरबहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्वबीचको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजीकरण गर्न नहुने निष्कर्ष निकालिएको हो । छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजीकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा कुराकानी भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए ।
सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नुपर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेशप्रसाद साहले उद्योग निजीकरण हुनबाट जोगाउन सरकारकै भूमिका हुने बताए । अहिले उद्योग सामान्य खर्च पनि गर्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कर्मचारीहरुको तलव र नागरिक लगानी कोषको १२ करोड ७१ लाख भुक्तानी दिन बाँकी रहेको बताए । यस्तै अवकास प्राप्त कर्मचारीहरुको ३२ करोड ४७ लाख, कर दायित्व १६ लाख, बैंक ऋण २ करोड, विद्युत प्राधिकरण डेडिकेटेड लाइन ३३ करोड ६४ लाख र कोइला तथा अन्य सामान सप्लायर्स दायित्व ६१ करोड ३१ लाख रहेको उनले जानकारी दिए ।
उद्योगका केमिष्ट तथा वरिष्ठ अधिकृत (सहायक नायव महाप्रबन्धक) कोविद काफ्लेका अनुसार अन्य दायित्वका कुरा छाडेर तत्काल उद्योग सञ्चालनका लागि ५५ करोड रुपैयाँ आवश्यक छ । सरकारले यो उद्योग सञ्चालन गर्न निजीकरणको बाटोमा नगई लिजमा दिएर सञ्चालनको बाटो रोज्नु उपयुक्त हुने उनले सुझाब दिए ।
छलफलमा बसेको एमालेको तर्फबाट एमालेकी पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य मञ्जुकुमारी चौधरीले उद्योग उदयपुरको गौरव र गहनाको रुपमा रहेकोले यसलाई निजीकरण हुनबाट बचाएर सञ्चालन गर्न पहल गर्ने बताइन् । एमाले केन्द्रीय सदस्य अम्बिका थापाले उद्योगको समग्र वर्तमान अवस्था अध्ययन गरेर सुधारका लागि आवश्यक पहल र छलफल गर्दा राम्रो हुने र उद्योग स्थानीय जनताको हितमा सञ्चालन हुनुपर्ने बताइन् ।
प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले उद्योगलाई निजीकरणबाट जोगाएर सञ्चालन गर्न सकिने उपायका बारेमा उद्योगमन्त्री, प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल गरेर अघि बढ्नुपर्ने धारणा बताए । सोमबारको छलफलमा यसअघि पनि उद्योगमन्त्रीसँग छलफल भएको जानकारी दिँदै उनले उद्योगमन्त्री सकारात्मक नभएको बताए ।