विराटनगर । विराटनगरको माछापुछ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ ।
सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागारमा छन् ।
जिल्ला अदालतमा ८८ जना ऋणीसहित १०९ जनाविरुद्ध ‘सहकारी संस्थाको रकम हिनामिना’ अभियोगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु छन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका सञ्चालक, पूर्व सञ्चालक र ऋणीलाई पनि प्रतिवादी बनाएर कात्तिक १ गते मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । कात्तिक २ गते अदालतले अध्यक्ष कर्णलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
अन्य फरार प्रतिवादीका लागि पक्राउ पुर्जी जारी भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । फरार बनाइएका प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको र अहिलेसम्म ५० जनाको पक्राउ पुर्जी जारी गरी प्रहरीलाई पठाएको अदालतले जनाएको छ ।
प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो । प्रहरीको अनुसन्धानका क्रममा ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको छ ।
सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ता माग गरेका छन् । सहकारी संस्थाबाट १ सय ८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लिएको देखिन्छ ।
सहकारीको बचत सञ्चालकले आफूखुसी प्रयोग गर्दा संकटमा परेपछि २ वर्षयता सहकारीको कार्यालय बन्द छ ।