बेलबारी । डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज ललितपुर बेलबारी गोल्डकपको उपाधि यात्राबाट बाहिरिएको छ । मंगलबार भएको खेलमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २–१ गोलले पराजित हुँदै ब्रिगेड उपाधि यात्राबाट बाहिरिएको हो ।
यो जितसँगै बेलबारी गोल्डकपमा पहिलोपटक सहभागी भएको बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी ११ को लक्ष्मी खेलमैदानमा मङ्गलबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबका सुजन ढङ्गोलले २० ओैं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । कप्तान एन्जल महर्जनको पासमा सुजनले गोल गरेका हुन् ।
चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको बुटवल लुम्बिनी फुटबल क्लबले मध्यान्तर अघिसम्म बल होल्ड गरेपनि स्कोर गर्न सकेन । बिग्रेडका रक्षा पङ्क्तिका खेलाडीहरू दिवाकर चौधरी, कोमल खवास र पदम भट्टराईले पटक–पटक टिमलाई गोल खानबाट जोगाए ।
खेलको ५१ ओैं मिनेटमा बुटवल लुम्बिनीका खेलाडी एरिक बिष्टलाई डिबक्स भित्र ट्याकल गरेपछि बुटवल लुम्बिनी फुटबल क्लबले पेनाल्टी प्रहारको अवसर पाएको थियो । एरिक बिष्टले प्रहार गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।
६२ ओैं मिनेटमा बुटवल लुम्बिनीका ग्लोरीले उत्कृष्ट गोल गरे । मैदानको मध्यभागबाट रिचर्डले दिएको पासलाई ग्लोरीले जालि चुमाएका हुन् ।
मङ्गलबारको खेलको म्यान अफ द म्याच भएका ग्लोरीलाई कोशी प्रदेशका सांसद मानबहादुर लिम्बूले नगद ५ हजार र ट्रफि प्रदान गरे । सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत बुधबार अन्तिम क्वाटरफाइनल खेल सलहेस फुटबल क्लब सिराहा र भारतको दलसिंहपारा फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिताका विजेताले ८ लाख रुपैयाँ नगद र गोल्डकप तथा उपविजेताले ५ लाख रुपैयाँ नगद र ट्रफिसहित प्रमाणपत्र र मेडल पाउने आयोजकले जनाएको छ ।