के हो मोरङका एसपी नवराज कार्की जोडिएको काण्ड ?

एक करोडको बार्गेनिङ गरेर ४० लाखमा सम्झौता । एसपी कार्कीसहित पाँच प्रहरीमाथि अनुसन्धान

विराटनगर । गत शुक्रबार प्रहरी प्रधान कार्यालयले मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीलाई आकस्मिक रुपमा प्रहरी प्रधान कार्यालयमा तान्यो । पछिल्लो समयमा कतिपय विवादमा मुछिदै आएका कार्कीलाई किन मोरङबाट तानिएको हो भन्ने औपचारिक रुपमा प्रहरीले बताएको छैन ।

मोरङमा आएको ८ महिनामै कार्कीलाई तानेर राजन लिम्बूलाई पठाउने निर्णय प्रहरी प्रधान कार्यालयले गत शुक्रबार गरेको थियो । तर, काँग्रेस नेताहरुको दबाबमा पुनः नारायण चिमरिया आउने भएका छन् ।

कार्कीलाई आकस्मिक रुपमा तान्नु आर्थिक लेनदेनसँग उनको नाम जोडिनु भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार मोरङको बेलबारीका एक जुवा तथा अनलाइन (क्रिप्टो) कारोबारीसँग एसपी कार्कीले घुमुवा खटाएर पैसा लिएको विषयमा उजुरी परेपछि उनलाई हेडक्वाटर तानिएको हो ।

स्रोतका अनलाइन जुवा तथा क्रिप्टो कारोबारी गिरोह र प्रहरीबीच लेनदेनको मध्यस्ता सुन्दरहरैंचाका कृष्ण घिमिरेले गरेका थिए । पूर्वप्रहरीसमेत रहेका उनले नै कारोबारी र प्रहरीबीच लेनदेनको डिल गराएका हुन् । १ करोडको बार्गेनिङमा ४० लाखमा टुंगिएपछि प्रहरीले घिमिरेलाई १० लाख रुपैयाँ दिने सहमति भएको स्रोतले जनाएको छ ।

प्रहरीले कारोबारीबाट पहिलो पटक २५ लाख मात्र पाएपछि ३ लाख रुपैयाँ मात्र घिमिरेलाई दियो । त्यसपछि बिच्किएका घिमिरेले नै प्रदेश प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरमै प्रहरीले पैसा लिएकोबारे जानकारी दिएको स्रोतले जनाएको छ । ‘सहमतिअनुसार पैसा नपाएपछि घटना प्रहरी नेतृत्वमा पुगेको हो’ स्रोतले भन्यो ।

गत २८ गते असोजमा एसपी कार्कीले घुमुवामार्फत २५ लाख नगद लिएको आरोप छ । ‘सुरुमा १ करोडको बार्गेनिङ भयो । तर, ४० लाखमा टुंगियो । कारोबार चाहिँ २५ लाखको मात्रै भएको रहेछ’ स्रोतले भन्यो, ‘२५ लाख रकम गणना गर्दा कम देखिएपछि फेरि प्रहरीले थप रकमको ताकेता गरिरहेको बेला घटना प्रहरीको उच्च तहमा पुगेको हो ।’

मध्यस्ताकर्ता भनिएका घिमिरेलाई प्रदेश प्रहरीको टोलीले अनुसन्धानका लागि केही समय नियन्त्रणमा समेत लिएको थियो । कारोबारीसँग प्रहरीले पैसा लिएको सूचना लिएर उनलाई भने छाडिएको छ । घटनामा संलग्न रहेको आरोपमा एसपी कार्की हेडक्वाटर तानिएको अघिल्लो दिन बिहबार नै चार प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले तानेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत प्रदेश प्रहरी कार्यालय तानिएका हुन् । उनीहरु प्रदेशमा तानिएको भोलिपल्ट एसपी कार्कीलाई प्रहरी प्रधान कार्यालयले तानेको हो ।

एसपीसहित पाँच जना प्रहरीमाथि गम्भीर अभियोग लागेर अनुसन्धान सुरु भएपछि प्रहरीले त्यसबारे विस्तृत जानकारी अझै दिएको छैन । प्रदेश प्रहरी कार्यालयले पनि घटनाबारे अनुसन्धान भइहरेको भन्दै विषय गोप्य राख्न चाहेको छ । डिआईजी खापुङले प्रदेश प्रहरीमा झिकाइएका चारै जना एसपी कार्कीसँग जोडिएको स्वीकार गर्दै थप अनुसन्धान भइहरेको बताए ।

प्रदेश प्रहरी कार्यालयमा तानिएका प्रहरी अधिकारीहरु एसपी कार्कीको निर्देशनमा सादा पोशाकमा खटिने गरेका थिए । उनीहरुको विषयमा एसएसपी भीमप्रसाद दाहालको नेतृत्वको छानविन टोलीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले बताए । ‘छानविन भइरहेको छ । थप प्रगति अहिले भएको छैन,’ उनले भने ।

केही समय अगाडिदेखि नै मोरङका सुरक्षा निकायबीचको समन्वय अभाव हुने र तस्करीमा मिलेमतो भएको समाचार हाम्रोमतले प्रकाशित गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीकै मिलेमतोमा तस्करी हुने गरेको उजुरी यसअघि पनि माथिल्लो निकायमा परेको थियो ।

सशस्त्र प्रहरीका एसपी विश्व खड्कालाई त तस्करीको सामान बरामद गरेर राजस्व कार्यालयमा बुझाउनुको साटो पैसा खाएर बीचैमा छाडेको भन्दै बेनामे उजुरी परेपछि उनलाई केही समयका लागि हेडक्वाटर तानिएको थियो । तर, उक्त उजुरीमा खड्काले सफाइ पाएर पुनः मोरङमै फर्किएका थिए ।

असारको पहिलो सातामै एसपी कार्कीले परिचालन गरेका घुमुवाविरुद्ध प्रधानमन्त्री कार्यालयमा बेनामे उजुरी परेको थियो । उजुरीबारे छानविन गर्न प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दियो । तर, प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गर्दा एसपी कार्कीले खटाएका घुमुवाहरुको बद्नियत नदेखिएको प्रतिवेदन हेटक्वाटरमा पठाएको थियो ।

एसपी कार्कीको जिल्ला प्रहरी प्रमुखका रुपमा २०८० फागुन २ गते सरुवा भएको थियो । फागुन ७ गते मोरङ हाजिर भएका थिए । उनलाई ८ महिनामै सरुवा गरिएको हो । सामान्यतः प्रहरी प्रमुखको सरुवा एक वर्ष अबधि पुरा भएपछि मात्र हुने गरेको छ ।

यसैबीच नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँबरले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले आर्थिक लेनदेख गरेको निवेदन परेपछि हेडक्वाटर तानिएको गृहमन्त्री समक्ष ब्रिफिङ गरेका छन् । घटनाको विषयमा गृहमन्त्री रमेश लेखकले चासो लिएपछि आइजिपी कुँबरले शनिबार आर्थिक लेनदेनको विषय रहेको ब्रिफिङ गरेका हुन् ।

‘मोरङमा गडबडी भएको देखियो । आइजिपी सावले गृहमन्त्रीज्यूलाई आर्थिक लेनदेनको विषय हो भनेर ब्रिफिङ गर्नुभएको छ,’ गृहमन्त्रालय स्रोतले भन्यो ।

सोमबार, ०५ कार्तिक, २०८१, दिउँसोको ०१:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर