माछापुच्छ्रे सहकारी घोटला प्रकरण : अध्यक्ष कर्णसहित १०९ विरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. मा निक्षेपकर्ताहरूको ७ करोड बढी रकम हिनामिनना गरी ठगी गरेको आरोपमा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेश कर्णसहित १०९ जना विरुद्ध मुद्दा दायर भएको छ ।

मोरङ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत कर्णसहित १०९ जनाविरुद्ध सहकारी ठगीमा मोरङ अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

गत भदौमा १०३ जना सहकारी पीडितहरुले अध्यक्ष कर्णसहित सञ्चालकहरु विरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएपछि मोरङ प्रहरीले कर्णलाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान पूरा गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले सहकारीका पदाधिकारी, सञ्चालक समितिदेखि ऋण उपसमितिका संयोजक र सदस्यहरु गरि २१ जना तथा ८८ जना ऋणीहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

प्रहरीको अनुसन्धानबाट ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको छ । अदालतमा सोही बिगो दाबीसहित मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय मोरङले जनाएको छ ।

सहकारीले बचत फिर्ता नगरेपछि १०३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७५१ रुपैयाँ बचत फिर्ता माग गरेका छन् ।

सहकारी संस्थाबाट १८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लिएको देखिन्छ । धितो नराखी प्रवाह भएको अधिकांश ऋण जोखिममा परेको छ ।

सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्दा खराब ऋणीलाई प्रतिवादी बनाएको सम्भवत पहिलो घटना हो । सहकारीका ऋणीलाई पनि प्रतिवादी बनाइएको मुद्दा मोरङमा पहिलो हो ।

आर्थिक संकटमा परेपछि २ वर्षयता सहकारीको कार्यालय बन्द छ । सहकारी बन्द भएपछि बचतकर्ता आफ्नो पैसा फिर्ताका लागि भौतारिरहेका छन् । प्रहरी अनुसन्धानबाट सहकारीले मनोमानी रुपमा लगानी गरेको, धितो बिना गरेको लगानी जोखिममा रहेको, सञ्चालक र पदाधिकारीले मनखुसी पैसा चलाएको देखिएको पुष्टि भएको छ ।

सहकारीका अध्यक्ष कर्णले बयानका क्रममा संस्थाका पदाधिकारीलगायत सदस्यहरु प्रभाकर थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिपकुमार साह, राधादेवी लिम्बू, गोकुल थापा (पुरानो समितिका उपाध्यक्ष) र इन्द्रेश कर्णले बिनाधितो ऋण लिएको बताएका छन् । यस्तै व्यवस्थापक समेत रहेका अमित कार्कीले संस्थामा जम्मा गर्नपर्ने रकम आफ्नो खातामा जम्मा गरेर अपचलन गरेका छन् ।

बिनाधितो ऋण लगानी गर्ने उनले ऋण उठाउन कुनै प्रयत्न नगरेका कारण संस्था संकटमा परेको कर्णको दाबी छ । अध्यक्ष भए पनि सधैं पेलेर ऋण लगानी गर्ने गरेको बयान गरेका कर्णले घाटामा रहेको सहकारीलाई लेखा परीक्षण गर्दा समस्यामा पर्ने डरले सधैं नाफामा देखाइएको बयान दिएका छन् ।

यी हुन फरार प्रतिवादी
फरार प्रतिवादीहरुमा सञ्चालक समितिका उपाध्यक्ष वर्ष ४५ का सनातनकुमार मण्डल, लेखा समितिको सदस्य (हाल सञ्चालक समिति सचिव) वर्ष ४५ का उत्तम ढुंगेल, कोषाध्यक्ष अन्दाजी वर्ष ४० की सोमी भगत, सहकारीको सदस्य वर्ष ५० का सञ्जय भन्ने प्रभाकर थापा, सञ्चालक समितिका सदस्य वर्ष ४८ का तिर्थप्रसाद यादव, सञ्चालक समिति सदस्य वर्ष ५० का श्यामराज कोइराला, लेखा समिति संयोजक तथा बजार प्रतिनिधि वर्ष ४५ का गोपालप्रसाद ढकाल, लेखा समिति सदस्य अन्दाजी वर्ष ४५ का सञ्जयकुमार कर्ण, लेखा समिति सदस्य वर्ष ३८ की निर्मला चौधरी, ऋण उप–समिति सदस्य वर्ष ३५ का पंकजकुमार बर्मालाई प्रतिवादी बनाइएको छ ।

यस्तै उपाध्यक्ष रहेका गोकुल थापा, कोषाध्यक्ष तथा २०७३ पुस १६ गतेको कार्यसमिति सचिव वर्ष ४५ का अमित कार्की, सदस्य रहेका वर्ष ४५ का बिजयकुमार कर्ण, सदस्य बर्ष ४० का ईन्द्रेश कुमार कर्ण, कोषाध्यक्ष वर्ष ५५ की राधादेवी लिम्बु, ऋण उप–समिति सदस्य वर्ष ३८ का दिलिपकुमार साह, कार्यसमिति उपाध्यक्ष वर्ष ५१ क विनोद महत, कार्यसमिति सदस्य वर्ष ४५ का सूर्यकुमार साह, लेखा समिति सदस्य रहेका भिमप्रसाद सिंह र कार्यसमितिबाट ऋण उप–समिति सदस्य रहेकावर्ष ४२ का राजु गुप्तालाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरुले सहकारीको ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ ९७ पैसा हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ । सहकारी ठगी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले १२० जनालाई प्रतिवादी बनाएको थियो । प्रतिवादी बनाएककामध्ये ११ जनाको तीन पुस्ते नखुलेपछि प्रराम्भिक चरणमा १०९ जनालाई मात्रै प्रतिवादी बनाएर बिहीबार मोरङ अदालतमा अभियोग दर्ता भएको हो ।

११ जनाको हकमा तीन पुस्ते खुलेपछि कानुन बमोजिक प्रतिवादी बनाएर कारवाहीको प्रक्रिया अगाडि बढने जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता सुवासकुमार भट्टराईले जानकारी दिए । तीन पुस्ते नखुलेका ऋणी रहेको उनले बताए ।

सहकारी ठगी मुद्दामा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेशकुमार कर्णको अदालती बयान सकिएको छ । मोरङ अदालतको ११ नम्बर इजालशको न्यायाधीश अरुणकुमार झाको इजालशमा शुक्रबार बयान भएको थियो ।

बयान सकिएपछि शुक्रबार नै थुनछेक बहस सुरु हुने मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । ‘प्रतिवादीको बयान सकिएको छ,’ उनले भने, ‘अब थुनछेक सुरु हुनेछ ।’

अभियोगपत्रको पूर्णपाठ

maxapuchhre sahakari
शुक्रबार, ०२ कार्तिक, २०८१, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर