विराटनगर । दसैंको अवधिमा कोशी प्रदेशका विभिन्न २६९ ठाउँमा भएको सवारी दुर्घटना परी १४ जनाको मृत्यु भएको छ । असोज १७ गते घटस्थापनादेखि असोज २९ गतेसम्म २६९ ठाउँमा दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने ३९ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए ।
मृत्यु हुनेमा १३ जना पुरुष र एक जना महिला रहेका छन् । दुर्घटनामा परी मृत्यु हुनेको संख्या सबैभन्दा बढी मोरङमा रहेको छ । मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गम्ीभर घाइते १६ जना भएका छन् ।
त्यसैगरी सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु र सात जना गम्भीर घाइते भएका छन् । त्यस्तै झापामा ७२ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु, धनकुटा र खोटाङमा १–१ जनाको मृत्यु भएको छ । १२ दिनमा ७ हजार ५९१ वटा सवारी साधान कारवाही गरेर ५१ लाख ९५ हजार ५०० रुपैयाँ राजस्व असुली गरेको छ ।
गत वर्ष कोशी प्रदेशमा दसैंको ६ दिनमा १३५ वटा सवारी साधन दुर्घटनामा परेको मध्ये ४१ जना गम्भीर घाइते र २२४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ ।