मधेशी समुदायको दशैँ पर्व

 प्रभाषचन्द्र झा

हिन्दुधर्मालम्बीको महान पर्व दशैँ नेपालमा धार्मिक विधिपूर्वक उल्लासमय वातावरणमा मनाइन्छ । यस पर्वलाई वडादशैं, नवरात्रि, दशमी वा विजयादशमी नामले पनि सम्बोधन गरिन्छ । नेपाली भाषाभाषि, नेवारी समुदाय, आदिवासी जनजाति, मधेशी समुदायभित्र पर्ने मैथिल, भोजपुरी, अवधिका साथै थारु जातिले मनाउने गरेको दशैंको पूजापद्धतिमा नामजस्तै केही न केही भिन्नता छ । नाम र पूजा पद्दति फरक भएपनि भगवती दूर्गाको विभिन्न रुपको पूजामा एक किसिमले समानता नै देखिन्छ । सांस्कृतिक एवम् व्यवहारिक पक्ष मिश्रण हुँदा पर्वको महत्व झल्कनु, धर्मप्रति आकर्षित हुनु, आर्थिक गतिविधिमा तीव्रता ल्याउन र समाजलाई सामुहिक कार्यतर्फ डो¥याउनमा समेत महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । सामूहिक रुपमा पर्व मनाउँदा समाजमा सकारात्मक सन्देश पनि प्रवाह हुने गर्छन् ।

अधिकांश पहाडी समुदायमा के भ्रम छ भने मधेशी समुदायमा दशैं पर्वको खासै त्यति महत्व हुँदैन । मधेशीहरु छठपर्व उत्साहका साथ मनाउने गर्छन् । तर, वास्तविकता के छ भने मधेशी समुदायमा अहिले पनि बढीमा ५० प्रतिशत परिवारले मात्रै छठ पर्व मनाउने गरेको अनुमान गरिएको छ । परम्परागत रुपमा मनाउँदै आइरहेका र भाकल पुरा हुने परिवारले छठपर्व वर्षेनी गर्छन् । तर, दशैं प्रत्येक हिन्दुको घरमा कुनै न कुनै रुपमा अवश्य मनाइन्छ । कसैले पर्व मनाउने छोटो विधि अपनाउँछन् भने कतिपयले कलश स्थापना गरी विधिपूर्वक चण्डीपाठ र महादेव पूजनसहित विभिन्न देवीदेउताको पुजापाठ गर्छन् ।

मधेशको गाउँघरमा दशैं पर्व विधिवत रुपमा मनाउनका लागि जीतियापछि तयारी शुरु हुन्छ । ग्रामीण क्षेत्रका अधिकांश महिलाले दशैँलाई ‘नवमी दशमी’ भन्ने गर्छिन् । उनीहरुले नवमी दशमी आउन लागेको भनेर घरको वरपर सरसफाई गरी घरआँगनलाई लिपपोत गरी चिटिक्क पार्छन् । घरआँगन सफासुग्घर रहेमा दूर्गामाता खुशी भएर वरदान दिने विश्वास छ । दसैं अवधिभर माछामासु, लसुन र प्याँज खान वर्जित गरिन्छ । भगवतीलाई बली दिएको खसीको मासु प्रसादको रुपमा मांसाहारी व्यक्ति खान पाउँछन् । वलि दिने परिवारले छरछिमेकमा सो खसीको मासु प्रसादको रुपमा वितरण गर्छन् । आफन्तलाई निम्ता दिएर भोजन गराउने चलन पनि छ । मधेशी समुदायमा खासगरी, दशैँमा पुजापाठकै प्रमुखता रहन्छ । दशैं आयो भनेर ‘मासुभात खाऊ दशैं मनाउ’ सोचाई हुँदैन ।

दशैँ पूजा

घटस्थापना दिनदेखि वडादशैंसम्म विहानै गाईको गोबरले आँगनको लिपपोत गर्छन् । आँगनलाई स्वच्छ र पवित्र राखेर बडो आस्थाका साथ प्रतिपदाका दिन घटस्थापना र जमरा राख्नेलगायतका कार्य गर्छन् । कतिपयले जमरामात्र राख्छन् । आपूm पूजागर्न नसक्ने परिवारले घर वा देवीमन्दिरमा चण्डीपाठका लागि सङ्कल्प गरी पण्डितलाई जिम्मेवारी दिन्छन् । जसले पण्डितको सहयोग लिन सकेन र पुजापाठको विधिबारे जानकार नरहेका व्यक्तिहरु आफ्नो कुल देवीदेउताको सामान्य पूजा गरी दूर्गा चालीसा, हनुमान चालीसा पाठ गरेर तुलसी र सूर्यदेवलाई जल अर्पन गर्छन् । त्यसपछि, नजिकको देवी मन्दिरमा पुगेर दर्शन गर्छन् ।

विधिवत रुपमा पूजागर्ने परिवारले सखारै पार्थिव महादेवको निर्माण गर्छन् । पुजास्थलमा धार्मिक विधिपूर्वक कलश स्थापनापछि र जमरा खसाइन्छ । त्यसपछि, गणेश, विष्णु, महादेव, कुलदेवीदेउता, नौं ग्रह, देवी पूजालगायत अनेको देवीदेउताको पूजा गरी चण्डीपाठको सङ्कल्प गरिन्छ । यदि, कसैले अखण्ड ज्योति बाल्ने सङ्कल्प लिएका छन् भने पूजास्थलमा २४ घण्टा दियो बल्दै राख्छन् । मधेशी समुदायमा दशैंभर कतिपय आस्थावानहरु लगातार नौं दिनसम्म उपवास बसेर बेलुकी अन्न ग्रहण गर्छन । कोही कोही लगातार दश दिनसम्म अन्न नखाई चौबीस घण्टामा मात्र एक पटक फलफुल प्रसादको रुपमा ग्रहण गर्छन् । यसरी उपवास बस्नेहरुको सङ्ख्या बर्षेनी थपिँदै गइरहेको देखिन्छ । उनीहरुले आफ्नो उपवास देवीप्रति समर्पित गरी परिवारको सुख शान्ति र आफ्नो उन्नतिको लागि कामना गर्छन् । अष्टमी तिथिका दिन दूर्गा मातालाई श्रृङ्गारका सामान चढाइन्छ । जसलाई मैथिलीमा (खुइँच) भनिन्छ ।

पार्थिव महादेव के हो ?

दशैंको अवधिभर विशुद्ध माटोको पार्थिव महादेव निर्माण गरिन्छ । अहिलेपनि गाउँघरमा विहानकै समयमा प्रतिदिन हजारौंको सङ्ख्यामा पार्थिव महादेव बनाउने परिवार पनि छन् । एउटा बुढो महादेव, एउटा पञ्चमुख महादेव, एउटा कृतमुख महादेव अनिवार्य रुपमा बनाउनु पर्छ । त्यसपछि, आफ्नो क्षमताअनुसार सयदेखि हजारौंको सङ्ख्यामा पार्थिव महादेव निर्माण गर्छन् । बालवालिकाहरु पनि आफ्ना अभिभावकसँग मिलेर बडो उत्साहका साथ पार्थिव महादेव बनाउन सक्रिय रहन्छन् । प्रतिपदा दिन निर्माण गरिएका पार्थिव महादेवको सङ्ख्यामा बृद्धि गर्दै नवमी तिथिसम्म बढोत्तरी गर्दै लैजानुपर्छ । दशैं आगमनको एक महिनाअगावै माटोलाई धूलो बनाउने र त्यसभित्र रहेका कसिङ्गर निकालेर राख्छन् । प्रत्येक दिन वेलपत्र र पूजाको लागि फुलको व्यवस्था गर्नुपर्ने हुन्छ । शिव महापुराणअनुसार, पार्थिव महादेवको पूजा गर्दा धन, धान्य, आरोग्य र पुत्र प्राप्त हुन्छ । मानसिक र शारीरिक कष्टबाट मुक्ति पाउनु र अकाल मृत्युको भय पनि हट्ने विश्वास गरिन्छ ।

दशैँमा टुनामुनाको भय

दशैंंको आगमन हुनासाथ उहिले, ग्रामीण क्षेत्रमा बोक्सीहरुको विगविगी शुरु हुने डर अधिकांश आमामा देखिन्थ्यो । आफ्ना सन्तानलाई बोक्सीको टुनामुनाबाट जोगाउनका लागि आमा वा हजुरआमाले एउटा सानो कालो कपडाको टुक्रामाथि हिङ्ग, सातवटा लुगा सिउने सुई, लसुन र अढुलको फुल राखेर बेरिन्थ्यो । त्यसपछि, सियोले सिलाइ गरी बालबालिकाको गलामा मालाजस्तै पहिराउँथे । बोक्सीको डरले सप्तमीदेखि नवमी तिथिसम्म बालवालिकामाथि कडा निगरानी राखिन्थ्यो । अहिले समाज शिक्षित हुँदै गएको कारणले बोक्सीको भय हट्न थालेको छ । तापनि, पूर्ण रुपमा हट्न अझैं समय लाग्नेछ । बोक्सीसँग जोडिएको झिझिया नाच दशैँको अवसरमा बढी प्रदर्शन हुने गरिन्छ ।

मूर्ति स्थापना

दशैंको अवसरमा धार्मिक स्थलहरुको सरसफाई गरिन्छ । गाउँघरमा सामूहिक रुपमा विधिवत रुपमा मूर्ति स्थापना गरी पुजापाठ गर्ने परम्परा छ । शहरी क्षेत्रमा पनि मूर्ति स्थापना तीव्रता लिएको छ । कतिपय ठाउँमा गीत सङ्गीतको समेत व्यवस्था हुन्छ । रामायणमा आधारित रामलीलाको कतिपय ठाउँमा कलाकारहरुले प्रदर्शन गर्छन् । मेला भर्नका लागि वरपरका चारपाँच गाउँका मानिसहरु पुग्ने गर्छन् । केही बर्षदेखि देवी मन्दिर र मूर्ति स्थापना गरिएका परिसरमा आकर्षक ढङ्गले प्रवेशद्वार र पन्डालको निर्माण गर्न थालिएका छन् ।

कन्या पुजन र भोजन

मैथिल समुदायमा कुमारी कन्याको पूजन र भोजन गराउने परम्परा छ । बढीमा नौं वर्षकी कन्यालाई खीर वा च्यूरादही, मीठाई र केरा मिश्रित भोजन गराइन्छ । कन्यालाई भोजनका लागि निम्तो दिनुपर्छ । भोजन गर्नुअगावै परिवारका मुख्य महिलाले कन्याको आफ्नो हातले दुवै खुट्टा धोएर बडो सम्मानका साथ आसनमा विराजमान गराउँछन् । कन्यालाई नाकदेखि टाउकोसम्म सिन्दुरको टिका र टाउकोमा तेल राखिन्छ । सम्भव भए, नवबस्त्र पहिराउँछन् । साक्षत देवीको प्रतिमूर्ति सम्झेर एउटा नयाँ रुमाल वा रातो, पहेलो कपडामा द्रव्य, सुपाडी र चामल राखेर उनको कम्मरमा बाधिन्छ । जसलाई खुँइच भनिन्छ । यो खुईच नदिए भने कन्या भोजनको प्रतिफल प्राप्त नहुने भनाइ छ । भोजन गरी पानसुपारी दिएर खुट्टा ढोगेर आशीर्वाद लिने परम्परा छ । त्यसपछि, परिवारका मुख्य सदस्यहरु भोजन गर्छन् । लगातार दश दिन खुवाउन असमर्थ परिवारले सप्तमीदेखि नवमी तिथिभर कुनै एकदिन कुमारी कन्याको विधिवत रुपमा भोजन गराउँछन् ।

सप्तमीदेखि नवमीसम्म कुमारी कन्याको माग अत्यधिक हुन्छ । बाध्यतावश, एउटी कन्यालाई दुई तीन जनाको घरमा भोजन गर्नुपर्ने अवस्था सृजना हुने गरेको देखिएको छ । जसले कुमारी कन्या कुनै कारणवश खुवाउन नसकेको खण्डमा केराको पातमा भोजनका सामाग्री उत्सर्ग गरेर नदीमा प्रवाह गर्ने गरेको वा गाईलाई खुवाउने गर्छन् । खासगरी, मैथिल ब्राह्मण परिवारमा सप्तमी वा अष्टमी तिथिमा आफ्नो कुलदेवी देउतासमक्ष कन्यासँगै ब्राह्मण भोजन गराउँछन् । अष्टमी तिथिमा चण्डी पाठपछि महादेवको पूजा गरी होम गर्छन् ।

टिका जमरा

पहाडी समुदायमा वडादशैंदेखि कोजाग्रतसम्म आफ्ना अग्रज आफन्तसँग टिका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ । मधेशी समुदायमा यसरी टिका थापेर आशीर्वाद लिने चलन बढ्न थालेको देखिन्छ । समग्रमा भन्नुपर्दा, पहाडी समुदायको टिकाको सकारात्मक प्रभाव मधेशी समुदायमा परेको देखिन्छ । हुन त, पहाडी समुदायजस्तै मधेशीका सचेतवर्गको अग्रजहरुले सिन्दुर, अक्षता र दही मिश्रित टिका निधारमा र टाउकोमा जमरा राखेर आशीर्वाद दिने परम्परा उहिलेदेखि नै हो । कतिपय परिवारले जमरा खसाएको हुँदैन । त्यस्ता परिवारका लागि उनीहरुका पुरेतले जमरा बोकेर आ–आफ्ना ईष्टमित्र र यजमानको घरमा पुगी, टाउकोमा जमरा राखेर ‘ॐ जयन्ति मङगलाकारी भद्रकाली कपालिनी दूर्गा क्षमा शिवाधात्रि स्वहा स्वधा सुधा नमोऽस्तुते ।’ उनको कल्याणको लागि देवीको स्तुति उच्चारण गरी आशीर्वाद दिने गर्छन् । सम्भव भए यजमानले पुरेतलाई दक्षिणा दिने, नभए बक्यौंता राखिन्थ्यो । यसरी, बक्यौंता राख्ने चलन जनै पूर्णिमा पनि हुन्थ्यो । कतिपयले धानवाली भित्रिएपछि पुरेतलाई मन खोलेर दक्षिणावापत धान वा नगद दिने गरिन्थ्यो ।

नयाँ लुगाको चलन

मधेशी समुदायमा पनि छोराछोरीलाई दशैंमा नयाँ लुगा दिनु नै पर्ने अनिवार्यता थिएन् । कर्मचारी र ठूलावडा मधेशीबाट शुरु भएपछि अव, यसले व्यापक्ता पाएको देखिन्छ । त्यसको मुख्य कारणमा अधिकांश परिवारमा आर्थिक अभाव थियो । अर्को, मधेशमा सय वर्षभन्दा बढी समयदेखि बढीमा २० किलोमिटरमा कुनै न कुनै बजार थियो । जतिखेर, लुगाको आवश्यकता पर्यो उतिखेर, बजारबाट किनेर ल्याउने गरिन्थ्यो । सो कारणले दशैंमा नयाँ लुगा दिनुपर्छ भनेर बाध्यता थिएन । पहाडमा बस्नेहरुले दशैं अगावै मधेश झरेर ठूलो परिमाणमा आवश्यक खाद्यान र लुगा खरिद गर्दथे । पहाडी समुदायका व्यक्ति मधेश र भारतबाट कमाइ गरी दशैंमा घर फर्किने क्रममा परिवारका सम्पूर्ण सदस्यका लागि लुगालगायतका वस्तुहरु उपहारस्वरुप लग्ने गर्दथे । विस्तारै–विस्तारै दशैंमा नयाँ लुगा हुनुपर्ने आवश्यकता संस्कृतिको रुपमा स्थापित हुन गएको देखिन्छ ।
दशैंमा मातृरुपिणी देवी नवधान्यसहित पृथ्वीमा अवतरित हुन्छ भने धार्मिक मान्यता छ । दशैंको पहिलो दिन शैलपुत्रीपछि क्रमशः ब्रह्चारिणी, चन्द्रघण्टा, कुश्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौंरी र सिद्धिदात्रीको रुपमा माता दूर्गाको लगातार नौ दिनसम्म पूजा हुन्छ । धार्मिक विश्वास के छ भने नवरात्रिको अन्तिम दिन भगवान रामले चण्डी पूजाको रुपमा दूर्गाको उपासना गरेर रावणसँगको युद्धमा विजयको लागि आशीर्वाद मागेको थियो । भोलिपल्ट, दशौं दिन भगवान रामले रावणको अन्त्य गरी विजय प्राप्त गरेको थियो । अर्को आसुरी शक्तिमाथि देवीको जितपछि शक्तिको रुपमा देवीको दस दिन पूजा परापूर्वकालदेखि शुरु भएको विश्वास गरिन्छ ।

‘इतिश्री’

शुक्रबार, २५ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर