दुध किसानले पाए १७ करोड भुक्तानी

शान्तिडाँडा र बिब्ल्याँटे चिस्यान केन्द्रबाट दुध संकलन बन्द

विराटनगर । भारी वर्षाका कारण मेची राजमार्गस्गिथत इलामको माइखोला नजिक राजदुवाली खण्ड क्षतिग्रस्त भई सवारी आवतजावत बन्द भएपछि विराटनगर दुग्ध विकास आयोजनाका दुई वटा चिस्यान केन्द्रबाट एक सातादेखि दुध ढुवानी हुन सकेको छैन । दुध ढुवानी गर्न सक्ने अवस्था नभएपछि चिस्यान केन्द्र अन्तरगतका दुध संकलन केन्द्र र सहकारी संस्थाहरुले किसानबाट दुध संकलन बन्द गरेका छन् ।

इलामको शान्तिडाँडा र बिब्ल्याँटे चिस्यान केन्द्रबाट हुने दुध ढुवानी पूर्णरुपमा बन्द भएको हो । विराटनगरसम्म दुधको ट्यांकर जानसक्ने अवस्था नहुँदा चिस्यान केन्द्रहरुले दुध संकलन बन्द गरेको आयोजनाले जनाएको छ । विराटनगरस्थित आयोजनाका निमित्त प्रमुख हिरबहादुर थापा मगरले ती दुई चिस्यान केन्द्रहरुबाट दैनिक २ हजार ५०० लिटरभन्दा बढी दुध संकलन हुने गरेको जानकारी दिए । उनले भने ‘शान्तिडाँडाबाट दैनिक करिब १५०० र बिब्ल्याँटेबाट दैनिक सरदर एक हजारदेखि १२ सय लिटरसम्म दुध संकलन हुने गरेको थियो तर अहिले बाटो बिग्रिएका कारण त्यहाँसम्म ट्यांकर पुग्नसक्ने अवस्था छैन, जसले गर्दा किसानबाट दुध संकलन बन्द गरिएको छ ।’

पहिरोले बगाएपछि मर्मत गरिँदै गरेको राजमार्गमा अझै माथिपट्टि धाँजा फाटेर जोखिम बढेपछि शनिबार साँझदेखि सडक मर्मतको कामसमेत रोकिएको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत कार्य अगाडि बढाइने जनाएका छन् । ‘तत्काल मर्मतलाई निरन्तरता दिनेभन्दा पनि अवस्था हेरेरमात्र अघि बढ्नेछौं,’ उनले भने, ‘जति काम गर्दैगयो, उति माथिपट्टि धाँजा फाटेर जोखिम बढेकाले काम गर्नै समस्या भएको छ ।’ यसले गर्दा सडक कहिलेसम्म मर्मत भई सञ्चालनमा आउँछ भन्ने नै अनिश्चित रहेको र अरु बाटोबाट ट्यांकर त्यहाँसम्म जाने र दुध ल्याउन सकिने अवस्था तत्काल नरहेको आयोजनाले जनाएको छ ।

दसैंको मुखमा किसानहरुले दुध बिक्री गर्न नपाउँदा उत्पादन भएको दुध खेर जाने देखिएको छ । गएको मंसिर महिनादेखि दुधको भुक्तानी नपाएका किसानहरुले यसै सातामात्र पाँच महिनाको रकम भुक्तानी पाएका थिए । डिडिसीले चार महिनाको रकम भुक्तानी दिएलगतै फेरि बाढी पहिरोले दुध नै बिक्री नहुने अवस्था आउँदा किसानहरु थप समस्यामा परेका हुन् ।

दुध किसानलाई १७ करोड भुक्तानी

संस्थानको विराटनगर आयोजनाले किसानहरुलाई १७ करोड ८ लाख रुपैयाँ बक्यौता भुक्तानी दिएको छ । गतवर्षको मंसिर महिनादेखि किसानबाट किनेको दुधको भुक्तानी नदिएको डिडिसीले नेपाल सरकारबाट सर्तसहित ६० करोड रुपैयाँ प्राप्त गरेपछि विराटनगर आयोजनाले १६ करोड ८ लाख रुपैयाँ प्राप्त गरेको थियो । उक्त रकममा आयोजनाले आन्तरिक स्रोतबाट प्राप्त गरेको थप एक करोड रुपैयाँसमेत मिलाएर किसानहरुलाई चैत महिनासम्मको १७ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको हो । विराटनगर आयोजनाले अझै असोज बाहेक ५ महिनाको १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख थापा मगरले बताए । बाँकी रकम भुक्तानीका लागि केही समय पर्खनु पर्ने उनको भनाइ छ ।

विराटनगर आयोजनाले अहिले दैनिक सरदर १३ हजार लिटर दुध संकलन गरिरहेको जनाएको छ । इलाम, झापा, धनकुटा, तेह्रथुमबाट आफ्नै संकलन केन्द्रले संकलन गरेको र मोरङ, सुनसरी, उदयपुर र सप्तरीबाट सहकारी संस्थाहरुले संकलन गरेको दुध आयोजनाले खरिद गरिरहेको छ ।

डिडिसीले बजारमा बिक्री नभई बढी भएको दुधलाई पाउडर बनाएर स्टकमा राख्ने गरेका कारण ठूलो परिमाणमा पाउडर दुध र बटर मौज्दात हुनगई चालुपुँजीको अभव झेल्दै आएको छ । जसले गर्दा किसानहरुलाई नियमित भुक्तानी दिन नसक्ने अवस्था उत्पन्न भएको हो । विराटनगर आयोजनामा अहिले ८२ हजार किलो पाउडर दुध र ९६ हजार किलो मख्खन स्टकमा रहेको जनाएको छ ।

डिडिसीले दैनिक रुपमा सरदर २५ सय लिटर दुध बिक्री गर्ने गरेको छ भने करिब ६ सय लिटर दही र ६० किलोजति पनिर बिक्री गरिरहेको छ । चाडबाडको समडमा दुधजन्य उत्पादनको मूल्य घटाएका कारण तुलनात्मकरुपमा बिक्री केही बढेको थापा मगरले जानकारी दिए ।

मङ्गलबार, २२ असोज, २०८१, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर