जोखिम कम गर्न सचेत बनौं

 सम्पादकीय

कोशी प्रदेशका ९ जिल्लामा झै बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बिहानदेखि सुनसरीसहितका जिल्ला वर्षा भइहरेको छ । विभागले तीन दिनसम्म ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ । तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न विभागले भनेको छ । ठूला नदीहरुमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम रहेको बताइएको छ । गएको साता पनि विभागले भारी वर्षा हुने भन्दै सतर्क रहन चेतावनी जारी गरेको थियो । तर, सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएको कारण र नागरिकले पनि बेवास्ता गरेको कारण ठूलो धनजनको क्षति भएको छ । अर्बौंको भौतिक संरचना मात्र नभएर २०० भन्दा धेरै नागरिकले ज्यान गुमाएका छन् । सतर्कता नअपनाएकै कारण धेरैले ज्यान गुमाएको देखिएको छ । सरकारी निकाय सक्रिय नहुँदा उद्धारमा भएको ढिलाई र सावधानी नअपनाउँदा भएको ठूलो क्षतिबाट बच्न आगामी दिनमा सबै सचेत र गम्भीर हुनुपर्छ ।

बिहीबारसम्म झापाको झापाको कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने अनुमान छ । जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरुको बहाव बढ्ने पूर्वानुमान छ । बहाव बढ्ने पूर्वानुमान गरिएका नदी किनारमा सतर्कता अपनाइराख्न विभागले भनेको छ । पछिल्लो केहि घण्टादेखि सुनसरीको तरहरा र आसपासको क्षेत्रमा धेरै वर्षा भएकोले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । निरन्तर ठेलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि कतिपय स्थानमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

गत असोज १० गतेदेखि १३ गतेसम्म लगातार परेको वर्षाले भएको धनजनको क्षतिबाट अब सरकार र आम नागरिकले पनि पाठ सिक्न जरुरी छ । विपद्लाई वेवास्ता गर्ने र लापर्वाही गर्ने गर्दा हुने क्षति अकल्पनीय हुने देखिएको छ । विगत तीन दिन अगाडि जस्तै पानी पर्ने र बाढी आउने पूर्वसूचना नभएपनि अहिले पनि जोखिम रहेकोले सावधानी र सतर्कताको खाँचो छ । विपद्पूर्वको तयारीमा हाम्रो राज्य संयन्त्र कमजोर र बेकामे सावित भएको छ । त्यसलाई पनि आगामी दिनमा सुधार गर्नुपर्ने खाँचो छ । खासरी प्रदेश र स्थानीय सरकारहरु र सुरक्षा निकाय विपद्मा सबैभन्दा छिटो उद्धार र राहतको लागि परिचालिन हुनसक्छन् । त्यो बेलामा कसैको आदेश वा निर्देशन पर्खने भन्दा पनि स्वचालित रुपमा यी निकाय परिचालन गर्ने वातावरण तयार गर्नुपर्छ । जोखिमयुक्त क्षेत्रमा बसोबास भएकाहरुले सुरक्षित स्थानमा बस्ने, खोला नालामा नपस्ने, अत्यावश्वक बाहेक जोखिमयुक्त बाटोबाट यात्रा नगर्ने गरि नागरिकले पनि आफूलाई सुरक्षित राख्ने उपाय खोज्नुपर्छ ।

बिहिबार, १७ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर